क्यालिफोर्नियाको आगलागी : जलवायु परिवर्तनको दीर्घकालीन असर



क्यालिफोर्नियाको आगलागी अमेरिकाको जलवायु परिवर्तनसँग सीधा सम्बन्धित छ, किनकि जलवायु परिवर्तनले अत्यधिक तापमान, लामो समयसम्मको सुक्खा र आगलागीको अवस्थालाई अझै खराब बनाइदिएको छ ।

सागर गैरे

संयुक्त राज्य अमेरिकाको पश्चिमी तटमा अवस्थित तेस्रो ठूलो राज्य हो, क्यालिफोर्निया । एक अत्यन्त विविध र प्राकृतिक रूपमा समृद्ध राज्य, जहाँ ठूलो संख्यामा आकर्षक पर्यटकीय स्थलहरू छन् ।

जनसंख्याको दृष्टिले यो अमेरिकाकै सबैभन्दा बढी आवादी भएको राज्य हो । अमेरिकाकै सुन्दर सहरहरू, समुद्र, ताल र तलैया छन् क्यालिफोर्नियामा । सान फ्रान्सिस्को, स्यान डियागो, साक्रामेन्टोजस्ता चर्चित सहर क्यालिफोर्नियामै रहेका छन् । यहाँ अनेकन समुद्री बिच छन्, पार्कहरू छन्, तालहरू छन् ।

लस एन्जलस क्यालिफोर्नियामा रहेको सबैभन्दा प्रमुख सहर हो । यही सहरमा छ हलिउडको घर । हलिउड, लस एन्जलसको एक प्रसिद्ध इलाका हो, जुन विश्वभर मनोरञ्जन उद्योगको केन्द्रका रूपमा चिनिन्छ । जहाँ बन्छन् विश्वप्रसिद्व फिल्महरू ।

लस एन्जलस क्यालिफोर्नियाको मात्रै नभएर विश्वकै प्रमुख सांस्कृतिक, आर्थिक केन्द्र पनि हो । यहाँ प्रमुख फिल्म स्टुडियो, सिनेमा थियटरहरू, संगीत र टेलिभिजन उद्योगका कार्यालयहरू छन् । हलिउडका प्रमुख आकर्षणहरूमा हलिउड साइन, ग्रिफिथ पार्क, हलिवुड बुलेवार्ड र सितारा पैदल मार्ग  समावेश छन् । यहाँको सांस्कृतिक र ऐतिहासिक महत्वले यसलाई पर्यटक र फिल्मप्रेमीहरूका लागि आकर्षक गन्तल्य बनाएको छ । यहाँको फिल्म उद्योग, संगीत र कला संसारभर प्रसिद्ध छन् ।

लस एन्जलस अमेरिकाको सबैभन्दा विलासी सहर पनि हो । यो अमेरिकाकै धनाढ्यहरू बसोबास गर्ने ठाउँसमेत हो । यहाँ थुप्रै मनोरञ्जन उद्योगहरू छन् । विश्वकै सबैभन्दा धेरै जुवाघर छन् । लस एन्जलस संस्कृति र फेसनको केन्द्र पनि हो । यहाँका प्रमुख आकर्षणहरूमा ग्रिफिथ पार्क, हलिवुड साइन, लस एञ्जलस काउन्टी म्युजियम, र डिज्निल्यान्ड समावेश छन् ।

यही क्यालिफोर्निया यतिबेला दनदनी जलिरहेको छ । लस एन्जलसका विभिन्न कुनामा आगो दन्किएको छ । अमेरिकाकै सबैभन्दा महँगो ठाउँ हलिउड जलेर खरानी बनेको छ । विश्वकै सबैभन्दा वैभवशाली, सबैभन्दा शक्तिशाली, सबैभन्दा विकसित देश अमेरिका क्यालिफोर्नियामा लागेको आगो निभाउन नसकेर यतिबेला लाचार छ । आगो निभाउन लागेपुगेसम्मको प्रयास गरेको छ ।

तर आगो नियन्त्रणमा आएको छैन । आगलागीबाट हजारौँ घर जलेका छन् । कैयौँ भौतिक संरचना ध्वस्त भएका छन् । हजारौँ मानिस आफ्नो थातथलो छोड्न विवश छन् ।

चाहे झुपडी हुन् या गगनचुम्बी घर नै किन नहुन् । केही पनि बाँकी छैन । मानिसहरू पत्याउनै सकिरहेका छैनन् । उनीहरूको सुन्दर आवास थियो कुनैबेला त्यहाँ ? अहिले जता हे¥यो त्यतै मात्र खरानीको थुप्रो छ । एउटा नमिठो सपना जस्तै भएको छ उनीहरूका लागि ।

विश्वभरका सञ्चारमाध्यमहरूमा अमेरिकाको आगलागी प्रमुख समाचारका रूपमा छाएका छन् । मोबाइल, पत्रपत्रिका, टेलिभिजन या इन्टरनेटको संसार नै किन नहोस्, सबैतिर देखाइने आगलागीका दृश्यहरू फिल्मका दृश्य जस्तै लाग्छन् ।

दमकलबाट पानीका पाइपहरू तानेर आगो निभाइरहेका दृश्यहरू, हेलिकोप्टर तथा हवाईजहाजबाट आगो निभाउन छिटिएका रसायनका पाउडरहरूले आगोको लप्कालाई कुनै प्रभाव परेको छैन । आगो रोकिने छाँट कतै देखिएको छैन । आगोले के घर, के बस्ती, के जंगल केही नभनी लगातार सल्किरहेको छ । दमकलका साइरनले पुरै बस्ती थर्किएका छन् । फायर ब्रिगेडरहरू भोक न निद केही नभनेर मैदानमा अहोरात्र खटिएका छन् । उनीहरूको त्यत्रो प्रयास निरर्थक भएको छ ।

जंगल सखाप भएका छन् । बस्तीका बस्ती सखाप भएका छन् । आगो लाग्नु अघिसम्म लाखौँ डलरका प्रपर्टी भएकाहरू हेर्दाहेर्दै कंगाल भएका छन् । उनीहरू सडकमा बसेर जलिरहेका आफ्ना घरहरु पुर्पुरोमा हात राखेर हेर्न अभिशप्त छन् ।

अमेरिकामा भूकम्पहरू गइरहन्थे । सुनामी आइरहन्थ्यो । आँधी आउँथे । आगलागीका घटनाहरू भइरहेका हुन्थे । हिमपात भइरहन्थ्यो । फेरि पनि जनजीवन सामान्य हुन्थ्यो । तर यसपटकको आगलागीको कुरा अर्कै छ । यति विभत्स आगलागी यसअघि अमेरिकामा कहिल्यै भएको थिएन ।

क्यालिफोर्नियाको आगलागीपछिको कारण के हुन सक्छ ? आगलागी रोक्न अमेरिका किन असफल भइरहेको छ ? यो आगलागिले के संकेत गर्दैछ ? अनेकन प्रश्नहरू खडा भएका छन् अमेरिकाको अगाडि र सिंगो विश्वको अगाडि पनि ।

क्यालिफोर्नियाको सुक्खा मौसमसँगको लामो संघर्ष

क्यालिफोर्नियाका लागि आगलागीका घटना नौला होइनन् । यहाँ भूमध्यसागरीय मौसम प्रणाली छ । यहाँ अक्सर गर्मीमा लामो समय पानी पर्दैन जसले यहाँको तापक्रम उच्च रहन्छ । लामो खडेरीले वन क्षेत्र सुक्खा रहन्छ । चट्याङ पर्दा, विद्युत् सर्ट हुँदा, चुरोट खाएर फाल्दा आगो सल्किएर वनमा आगलागी फैलिने खतरा क्यालिफोर्नियामा हरदम रहन्छ ।

गर्मी महिना त्यसै त सुक्खा मौसम हो । यस्तो बेला कम वर्षा र उच्च तापक्रमका कारण सजिलै आगो फैलने खतरा रहन्छ । आगो लागिहाल्यो भने निभाउन गाह्रो हुन्छ । क्यालिफोर्नियामा विशाल वन क्षेत्र छ । क्यालिफोर्नियाको पहाडी भेगमा वायुको चाप उच्च रहन्छ । जब आगलागीका घटना सुरु हुन्छन् त्यही वायु प्रणाली छिटोछिटो आगो फैलाउन सहायक बन्दछ । क्याम्प फायर, विद्युतीय सर्ट हुनु, अत्यधिक पटाका पट्काउनु पनि आगलागीका थप कारण हुन् भनिन्छ ।

क्यालिफोर्नियामा व्यापक सहरीकरण भइरहेको छ । मानिसहरूको बसोबास वनक्षेत्रको नजिक धेरै छ । भनिन्छ सन् २०२३ विश्वमै सबैभन्दा गर्मी वर्षको रूपमा रेकर्ड गरिएको थियो । त्यसै त सुक्खा ठाउँ क्यालिफोर्निया, लामो समय पानी नपर्दा खडेरीले स साना बिरुवाहरू पनि सुक्न थालेका थिए । जंगली घाँस, पातपतिंगर, बुट्यानमा आगो सल्किन मात्र बाँकी थियो । जुन कुराको भय थियो, भयो त्यही ।

२०२५ को जनवरी महिनाको सुरुवातमा क्यालिफोर्नियामा पहिलोपटक आगलागीको घटना भयो । यहाँ हरवर्ष आगलागीका घटना हुन्थे । ती केही समयपछि नियन्त्रणमा आउँथे । आगलागी हुने महिना पनि अप्रिल मे महिना हुन् । अहिले त जनवरी चिसो महिनामै आगलागी भयो । हेर्दाहेर्दै आगो यसरी फैलिन थाल्यो कि त्यो नियन्त्रणभन्दा बाहिर पुग्न थाल्यो । तीव्र बेगको आँधीले आगो फैलाउन घ्यूको काम ग¥यो । एक ठाउँमा लागेको आगो अर्काे ठाउँमा फैलिन थाल्यो । के रूख के घर भयानक तरिकाले जल्न थाले । आगोले जुन घर छोयो त्यो खरानीको थुप्रोमा परिणत हुन थाल्यो ।

क्यालिफोर्निया त्यसै त सुक्खा ठाउँ । जहाँ आगलागीका घटनाहरू भए त्यहाँ आगो निभाउन पानी थिएन । आगो निभाउन पानी भण्डारण गर्ने उद्देश्यले बनाइएका ट्यांकीमा पानी रित्तिएको थियो । जहाँ पिउने पानीको अभाव थियो, त्यहाँ आगो निभाउनका लागि पानी हुने कुरै भएन ।
चारैतिर आगलागी भएको छ । भएका कर्मचारीले नथेगेपछि जेलका कैदीलाई आगो निभाउन सहयोग गरेमा उनीहरूको बाँकी कैदमा केही मिनाहा गरिने आश्वासन बाँडेर कैदी परिचालन गरिएको छ ।

क्यालिफोर्निया यतिबेला विश्वको नजरमा परेको छ । क्यालिफोर्नियाको आगोले विश्वलाई झस्काएको छ । मानिसहरू अनेक अनिष्टताको कल्पनाले आतंकित बनेका छन् । क्यालिफोर्नियामा पहाड, पर्वत, उपत्यका, नदी, नाला, मरुभूमि, फाँट, सब छन् । क्यालिफोर्नियाको सबैभन्दा बढी भूभाग वनक्षेत्रको रूपमा रहेको छ । आर्थिक रूपमा समृद्ध राज्य क्यालिफोर्नियामा जब–जब गर्मी र सुक्खा मौसम सुरु हुन्छ एउटा भय सुरु हुन्छ आगलागीको । हरेक वर्ष आगलागी हुन्छ । हरेक वर्ष आगलागीबाट अर्बौँ डलरको क्षति भोग्न अभिशप्त छ क्यालिफोर्निया ।

क्यालिफोर्नियामा किन गर्मी बढी रहेको छ ? किन आगलागीका घटना बर्सेनि वृद्धि भइरहेका छन् । यो सोचनीय विषय छ । पृथ्वी तातिँदै गएको छ र पृथ्वी तताउन मानवीय गतिविधि नै कारक तत्व रहेको छ । क्यालिफोर्नियाका आगलागी पनि प्रकृतिप्रतिको छेडखानीकै उपज हो ।
यो कुरा नीति निर्माण तहमा बस्ने अमेरिकी शासकलाई राम्रैसँग थाहा छ ।

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनले प्रकृतिको लगभग हरेक क्षेत्रलाई प्रभावित गरेको छ । जलवायु परिवर्तनको पहिलो असर पृथ्वीको तापक्रममा वृद्धि हो । जलवायु परिवर्तनले पु¥याउने अर्काे असर भनेको वर्षाको ढाँचामा गराउने परिवर्तन हो । हिमनदी पग्लनु र समुद्रको सतह बढ्दा तटीय क्षेत्रमा डुबानको खतरा बढ्नु जलवायु परिवर्तनको अर्काे कारण हो । त्यस्तै, जैविक विविधतामा ह्रास, चक्रवात, खडेरी अतिवृष्टि, अनावृष्टि, आँधीबेहरी जस्ता अनेकन समस्याहरू जलवायु परिवर्तनकै कारणले देखिएका हुन् ।

विश्वव्यापी जलवायु परिवर्तनका असर हर क्षेत्रमा देखिन थालेको छ । क्यालिफोर्नियाको बढ्दो आगलागीका घटनाहरूलाई जलवायु परिवर्तनका घटनाहरूसँग प्रत्यक्ष जोडेर हेर्न थालिएको छ । जलवायु परिवर्तन एक जटिल समस्या हो र यसका लागि कुनै एक देशलाई मात्र दोष दिन मिल्दैन । अमेरिका जस्ता बलिया राष्ट्रहरू प्रकृतिका दीर्घकालीन परिवर्तन र समस्याहरूलाई बुझ्न र त्यसअनुसार कार्य गर्न चुक्नुको परिणाम आज जलवायु परिवर्तन समग्र मानव जाति र स्वयम् पृथ्वीकै अस्तित्वका लागि समेत चुनौती बनेको छ ।

जलवायु परिवर्तनले नै क्यालिफोर्नियामा सुक्खा मौसमलाई लम्ब्याएको हो र त्यहाँको तापक्रमलाई बढाएको हो । तापक्रम बढ्दै जाँदा खडेरी लम्बिएको र वायुमा आद्र्रताको कमी भएको हो । जसले गर्दा वनस्पतिहरू सुक्खा भएका थिए र आगोको सानो झिल्कोले पनि समाउने खतरा बढेको थियो । आगो लागिहालेपछि निभाउन गाह्रो भएको हो ।

जलवायु परिवर्तनसँग क्यालिफोर्नियाका आगलागीका घटना जोडेर हेर्दा धेरै कुरा बुझ्न सकिनेछ । अमेरिकाले विश्वको कुल कार्बन उत्सर्जनमा सबैभन्दा ठूलो योगदान गर्छ । अमेरिकामा कोइला, तेल र प्राकृतिक ग्यासजस्ता जिवाश्म इन्धनको अत्यधिक प्रयोग हुन्छ । यिनीहरूको प्रयोगबाट पृथ्वीमा सबैभन्दा बढी कार्बन उत्सर्जन हुन्छ ।

विश्वमा अमेरिकीहरू सबैभन्दा बढी सुविधाभोग गर्छन् । टिभी, फ्रिज, एसी, कार, आधुनिक फर्निचरजस्ता अनेकन विलासी भौतिक साधनले धेरै नै कार्बन उत्सर्जन गर्छ जुन पृथ्वीलाई तातो बनाउन सबैभन्दा बढी कारक रहेका छन् । त्यतिमात्रै होइन अमेरिकाको आणविक र औद्योगिक नीति जलवायु परिवर्तनका लागि सबैभन्दा ठूलो खतरा रहेको छ ।

लामो समयसम्म, विशेषगरी २०औँ शताब्दीको मध्यसम्म, अमेरिका र विश्वका ठूला कथित विकसित र औद्योगिक देशहरूले जलवायु परिवर्तनको दृष्टिकोणलाई प्राकृतिक घटनाको रूपमा अवमूल्यन गरेका थिए । जलवायु परिवर्तनको दीर्घकालीन असर र त्यसका सम्भावित परिणामहरूका बारेमा उनीहरू कहिल्यै गम्भीर थिएनन् ।

जलवायु परिवर्तनको मुद्दामा बलियो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति विकास गर्नुपर्नेमा उनीहरू छोटो अवधिको आर्थिक फाइदामा मात्र केन्द्रित थिए । उनीहरूको एकमात्र उद्देश्य जसरी हुन्छ आफू बलियो हुने आफ्ना विरोधी देशलाई कुल्चिएर जाने मनोवृत्तिमा रमाउँथे । फलत उनीहरू आणविक हतियारको प्रतिस्पर्धामा, युद्धलिप्सामा, प्रकृतिको अत्यधिक दोहोनमा केन्द्रित हुँदै गए ।

पर्यावरणीय संकटको समाधान गर्नुपर्छ भन्ने मुद्दा उनीहरूको प्राथमिकतामा कहिल्यै परेन । प्राकृतिक सन्तुलनमा मानव क्रियाकलाप नै बाधक बनिरहेको मुद्दा उठ्न थालेपछि धेरै देशहरू जुर्मुराएर उठेपछि पेरिस जलवायु सम्झौता हुन सकेको थियो । सुरुमा सम्झौतामा हस्ताक्षर गरेको अमेरिका एकाएक सम्झौताको विपक्षमा देखिन थाल्यो ।

पृथ्वीको जलवायु परिवर्तनमा अमेरिकाले लिएको नीति पनि एउटा कारक मान्न सकिन्छ । सन २०१५ मा जलवायु परिवर्तनसँग जुध्न र ग्लोबल वार्मिङलाई २ डिग्री सेल्सियसभन्दा कम राख्ने उद्देश्य राखेर विश्वका १ सय ५ राष्ट्रहरूले जलवायु सन्धिमा हस्ताक्षर गरेका थिए । यस सम्झौताले प्रत्येक राष्ट्रलाई आफ्नो कार्बन उत्सर्जन घटाउने लक्ष्य तय गर्न र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न प्रतिबद्ध गराएको थियो ।

तर २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देश पेरिस सम्झौताबाट अलग भएको घोषणा गरे । ट्रम्प प्रशासनको भनाइ अनुसार, यो सम्झौता अमेरिकाको अर्थतन्त्र र उद्योगलाई नोक्सान पु¥याउने र रोजगारीमा कमी ल्याउने भएकाले उनीहरू यो सन्धि मान्न बाध्य नहुने जिकिर थियो ।

अमेरिकाले आफ्नो राष्ट्रिय स्वार्थ र अर्थतन्त्रको रक्षा गर्ने दृष्टिकोणबाट आफ्नो निर्णय सही ठह¥याएको थियो । विश्वलाई गाइड गरिरहेको प्रमुख देशले नै जलवायु सम्झौता उल्लंघन गर्दा जलवायु सम्मेलनले तोकेको लक्ष्य प्राप्ति हुने सम्भावना न्यून हुने नै भयो । जलवायु परिवर्तनको असर वैश्विक समस्या हो र यसका दीर्घकालिक असरहरूलाई नकार्न सकिन्न भन्ने कुरा थाहा पाउँदा पाउँदै अमेरिका पृथ्वी बचाउन एकजुट हुनुपर्नेमा आफ्नो स्वार्थका लागि थप विनाशतिर अग्रसर देखियो ।

जगजाहेर छ, जलवायु सम्झौता भएको एक दशक नहुँदै हर क्षेत्रमा जलवायु परिवर्तनका बाछिटाहरू देखिन थालेका छन् । थाहा छैन, आउँदो दशकमा पृथ्वीमा अझ कति विनाशहरू देखिने हुन् ?

जलवायु परिवर्तनका प्रभावहरू बिस्तारै महसुस हुनेगरी देखिन थालेका छन् । क्यालिफोर्नियाको आगलागी केवल एक प्राकृतिक प्रकोपमात्र नभएर यसले जलवायु परिवर्तन र मानवीय गतिविधिहरूको गहिरो सम्बन्धलाई पनि उजागर गर्दछ ।

क्यालिफोर्नियाको आगलागी अमेरिकाको जलवायु परिवर्तनसँग सीधा सम्बन्धित छ, किनकि जलवायु परिवर्तनले अत्यधिक तापमान, लामो समयसम्मको सुक्खा, र आगलागीको अवस्थालाई अझै खराब बनाइदिएको छ ।

जलवायु परिवर्तनले गर्मीको लहर बढाएको छ । वर्षातलाई अनियमित गराएको छ । क्यालिफोर्नियामा जाडोको समयमा यो आगलागीको जोखिम देखिनु भनेको सामान्य हुँदै होइन । जनवरी चिसो महिना हुनुका बाबजुद पनि आगलागिका घटना तीव्र बढ्नु जलवायु परिवर्तनका बाछिटाहरू हुन् ।

अन्त्यमा

अमेरिकाको क्यालिफोर्नियामा २०२५ सालको जनवरी महिनादेखि आगलागी फैलिएको छ र लाख प्रयासका बाबजुद आगलागी रोकिने संकेत अझै देखिएको छैन । यो क्रम मे अप्रिलतिर अझ भयानक हुन सक्छ । प्रकृति कुन हदसम्म असन्तुलित छ, त्यो थाहा पाउन हामीले क्यालिफोर्नियाको आगलागीलाई सूक्ष्म रूपमा मनन गर्न जरुरी भएको छ ।

क्यालिफोर्नियाको आगलागी अमेरिका एक्लैको समस्या होइन यो विश्वको समस्या हो । अब पनि हामी जलवायु सम्झौता मान्दैनाँै भन्नु अमेरिकाको निर्लज्जता र आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै आत्मघाती सोच हो ।

क्यालिफोर्निया जहाँ कुनै समय गुल्जार बस्ती थिए । ती ठाउँ उचाइबाट हेर्दा आकाशबाट भीषण बम खसालिएका गाजाका बस्ती जस्तै खण्डहर देखिएका छन् । कतिले त अमेरिकाले गाजामा बम बारुद खसालेर ध्वस्त बनायो । प्रकृतिले उसलाई जवाफ दिएको हो भन्नेहरू पनि धेरै छन् । विश्वलाई ध्वस्त पारेर आफू मात्रै बन्छु, आफू मात्रै सुरक्षित बस्छु र मोजमस्ती गर्छु भन्ने अमेरिकी सोच सम्पूर्ण मानव जाति र पृथ्वीकै लागि खतरा छ ।

प्रकृतिको वितण्डाको अगाडि कसैको जोर नचल्दो रहेछ । चाहे जतिसुकै विकसित किन नहोस् । जतिसुकै आर्थिक सामथ्र्य किन नहोस् । क्यालिफोर्नियाको आगोले धेरै कुराको संकेत गरेको छ ।

इतिहास साक्षी छ मानिस आँधी तुफानसँग लडेर यहाँसम्म आएको हो । हिमपातको सामना गरेर यहाँसम्म आएको हो । बाढी, भुइँचालो, सुनामी, महामारी पार गरेर यहाँसम्म आएको हो । अप्ठ्यारा आउँछन्, जान्छन् । अप्ठ्याराहरूबाट नै शिक्षा लिएर अघि बढ्ने हो । मान्छेको बुद्धि विवेकले नै संसार यति सुन्दर बनेको हो ।

इतिहासले सिकाएका पाठहरूबाट सिकिएन भने इतिहास साक्षी छ प्रकृतिले कसैलाई पनि माफी दिँदैन । मानव अस्तित्व सहकार्य र सहस्तित्वमा गुल्जार हुन्छ न कि नफरतमा ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमबार