नाकाबाट सहजै हतियारसहित नेपाल पस्छन् भारतीय



पछिल्लोपटक कन्चनपुरमा भारतीय नागरिकहरूले डान्सबारभित्र एकाएक नेपालीमाथि पेस्तोल ताकेको घटना सार्वजनिक भएको छ । बारभित्र मनोरञ्जन गर्न छिरेको ती भारतीय नागरिक कसरी हतियारसहित प्रवेश गरे भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

शेरबहादुर ऐर । कैलाली ।

कन्चनपुरमा चार जना भारतीय नागरिकलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूले चलाएको यूके ०६एआर०८४६ नम्बर प्लेटको गाडीसहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो । पक्राउ पर्नेमा भारतको खटिमा प्रेमनगर बस्दै आएका ३१ बर्षका सञ्जय जेठी, ३४ वर्षका जीवन सिंह, वर्ष ३१ का कोमल विष्ट र वर्ष ३४ का उमेद सिंहं अधिकारी रहेका छन् ।

नेपाल भारत सीमा गड्डा चौकी नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरूले स्थानीय डान्सबारमा नेपालीमाथि बन्दुक देखाएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

‘भारतीय नागरिकहरूले डान्सबारभित्र एकाएक नेपालीमाथि पेस्तोल ताकेपछि घटना सार्वजनिक भएको हो,’ जिल्ला प्रहरी कार्यालय कन्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले भने, ‘बारभित्र मनोरञ्जन गर्न छिरेको देखिन्छ । ती नागरिक कसरी हतियारसहित प्रवेश गरे भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।’

चार जना भारतीय मनोरञ्जन गर्न पसेको डान्सबार नाकादेखि झन्डै चार किलोमिटरको दूरीमा रहेको छ । यस विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक (डीआइजी) गणेश चन्दसँग बुझन खोज्दा उनले जिल्ला प्रहरी कार्यालय कन्चनपुरले आवश्यक अनुसन्धान गरिरहेको प्रतिक्रिया दिए । हतियारसहित भारतीय कसरी नेपाल प्रवेश गरे भन्ने जिज्ञासामा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

भारतीय नागरिक हतियारसहित नेपालमा पक्राउ परेको यो पहिलो घटना भने होइन । यसअघि २०७९ साल पुस १६ गते कन्चनपुरको बेलौरी नगरपालिकामा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका थिए ।

बेलौरी नगरपालिका–१ बाट पक्राउ परेका उनीहरूबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको थियो । ती भारतीय नागरिक लुटपाटको उद्देश्यले नेपाल प्रवेश गरेका थिए । पाँच जनाको समूहमा नेपाल आएका भारतीय लुटेरामध्ये दुई जना सो समयमा फरार भए ।

२०७३ साल वैशाख १२ गते कैलालीको त्रिनगर नाका हुँदै हतियारसहित पाँच जना डोटीको सानागाउँमा प्रहरीले पक्राउ गरेको थियो । सादा पोसाकमा उनीहरू हतियारसहित अछामबाट एक हत्या आरोपितलाई पक्राउ गर्न आएका थिए ।

सुरक्षा निकाय खटिएकै ठाउँबाट यसरी भारतीय नागरिकहरू हतियारसहित नेपाल प्रवेश गर्न लागेपछि स्थानीयहरूले सुरक्षा निकायमाथि नै प्रश्न उठाउन थालेका छन् । स्थानीयहरू भन्छन्, ‘नाकाबाट नेपालीहरूले खाद्यान्न, लत्ताकपडा ल्याउँदा सास्ती खेप्नुपर्छ । तर, भारतीयहरू हतियारसहित कसरी नेपाल प्रवेश पाउँछन् ? सुरक्षा निकायको कमजोरीले हामी सीमा क्षेत्रका बासिन्दाहरू त्रसित बन्ने गरेका छौँ ।’

नेपाल भारत सीमानाका भएर भारतीयहरू छोटो अवधिका लागि नेपाली बजार आउने गरेका छन् । उनीहरू प्रायः डान्सबार, मसाज सेन्टर, क्यासिनोलगायतमा मनोरञ्जन गर्न आउने गरेको व्यापारीहरू बताउँछन् ।

खुला सीमानामा थप सुरक्षा चुनौती

कन्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा पटक–पटक हतियारसहित भारतीय सुरक्षा बल (एसएसबी) प्रवेश गर्ने गरेका छन् । डोरी, क्यामेरा र हतियारसहित उनीहरू नेपाल–भारत सीमा विवादलाई लिएर हतियारसहित प्रवेश गर्ने गर्दा खुला सीमानाका स्थानीयहरू त्रसित बन्ने गरेका छन् । पटक–पटक नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले ज्यादति गर्ने गरेको बेलौरी नगरपालिका–१० का वडा सदस्य रामनाथ चौधरीले बताए ।

‘हामीलाई हाम्रै भूमिमा आएर धम्की दिन्छन् । नेपाल सरकारले चासो दिँदैन,’ उनले भने ‘पटक–पटक एकलौटी रूपमा नेपाल छिरेर सीमा नाप्न थाल्छन् । हामी जाइलाग्न खोजेपछि उनीहरू भाग्छन् ।’

नेपाल भारत सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने हुन्छ, तर भारतीय पक्षले समन्वय नगरी हतियारसहित प्रवेश गरेर धम्क्याउँदै आउने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार