साथीहरू यहीँका बासिन्दा हुनुभयो । त्यति थाहा पाउनुभएन । भन्ने गरिन्छ– कस्तूरी एउटा बिनाका लागि भौँतारिँदै हिँड्छ । तर, आफैँसँग बिना छ भन्ने थाहा पाउँदैन । रारा ताल हेर्न संसारबाट मानिस जान्छन् । तर रारा तालमा बस्ने मानिसका लागि राराको त्यति महत्व छैन । त्यो राराको महत्व बाहिरका मानिसले बुझेका हुन्छन् ।
नजिर मियाँ ।
दशकौँदेखि अधिकारका पक्षमा हामी लड्यौँ । केन्द्रको अधिकारलाई विकेन्द्रीकरण गर्दै काठमाडौँको सिंहदरबारलाई जनताको घरदैलोमा पु¥याउने अभियानका साथ तपाईं–हामी लाग्यौँ । यही वाचा गर्दै यहाँ स्थापना दिवस हामीले मनाएका छौँ । यो स्थापना दिवस अत्यन्तै महत्वपूर्ण छ । नेपालका लागि एउटा नयाँ कोसेढुंगा पनि हो ।
विगतमा भएका राम्रा कामहरूको समीक्षा र काम गर्न चाहँदा चाहँदै पनि नसकेका कुराहरू कसरी अघि बढाउने भन्ने विषयमा यो छलफल गर्ने थलोका रूपमा मैले बुझेको छु । आफ्ना पार्टीका र आफना मनका कुरा यहाँ पोख्नुभयो ।
त्यसलाई मैले सकारात्मक रूपमा नै लिएको छु । किनभने केही कमीकमजोरी रहेको छ भने सच्चिने एउटा अवसर दिन्छ । यहाँ जसले जुन कोणबाट बोल्नुभयो म धन्यवाद दिन चाहन्छु । बोल्ने साथीहरूले अन्तिममा गएर हामी सबै मिलेर राम्रा काम गरौँ र सुदूरपश्चिमको विकासमा प्रतिबद्ध हौँ भन्नुभएको छ ।
आज हामी कुन अवस्थासम्म आएका छौँ भन्ने हामीले समीक्षा गर्न जरुरी छ । योभन्दाअघिको अवस्था के थियो र अहिले कुन अवस्थामा रहेका छौँ । हामी कहाँ आइपुगेका छौँ । हामी सबैले चाहे अनुसारका काम पूरा हुन सकेका छैनन् । ती आफना ठाउँमा छन् । तर, केही काम हुँदै नभएको अवस्था पनि होइन । हामी धेरै कुरामा अघि बढिसकेका छौँ । बाँकी कामहरू गर्ने क्रममा जहाँ कमी छन् तिनलाई सुधार गर्दै अगाडि बढ्ने वाचा गरौँ र अघि बढ्ने वाचा गरौँं ।
म यो प्रदेशको प्रमुख भएर म आएको छु । मेरो घर अर्घाखाँची हो । म अर्घाखाँचीबाट आउने क्रममा साथीहरूले भन्नुभएको थियो । तपाईं सुदूरपश्चिम जाँदै हुनुहुन्छ । त्यहाँ अलि अप्ठ्यारो छ । तपाईं सोझो मान्छे अलि ख्याल गर्नुहोला । मैले पनि साँच्चै हो कि भनेर केही दिन हेरेँ । यहाँका साथीहरूसँग भेटघाट गरे । तर, मैले त्योभन्दा धेरै भिन्न पाएँ ।
म आत्मैदेखि भन्छु– यहाँका साथीहरूको माया, यहाँका साथीहरूको सम्मान, यहाँका साथीहरूले गरेका सहयोगहरू र मप्रति देखाएको माया र विश्वासले म खुसी छु । यहाँका नदीनाला, यहाँको पर्यटक क्षेत्र, यहाँको तराई, यहाँको पहाड विभिन्न संस्कृति बोकेको यो सुदूरपश्चिम साँच्चै नै रमाइलो लाग्यो । मैले धेरै ठाउँमा भनिसकेको छु– यो सुदूरपश्चिम नभएर सुन्दर पश्चिम हो ।
साथीहरू यहीँका बासिन्दा हुनुभयो । त्यति थाहा पाउनुभएन । भन्ने गरिन्छ– कस्तूरी एउटा बिनाका लागि भौँतारिँदै हिँड्छ । तर, आफैँसँग बिना छ भन्ने थाहा पाउँदैन । रारा ताल हेर्न संसारबाट मानिस जान्छन् । त्यो रारा तालमा बस्ने मानिसलाई सोध्नुभयो भने उही पहिलाको जस्तै कसरी साँझ–बिहानको छाक जुटाउने भन्नेमात्र हुन्छ । त्यो राराको महत्व छैन । त्यो राराको महत्व बाहिरका मानिसले बुझेका हुन्छन् त्यहाँका मानिसले बुझ्दैनन् ।
वास्तवमा सुदूरपश्चिमका संस्कृतिहरू, यहाँका धार्मिक स्थलहरू, यहाँका भाषाहरू साँच्चै नै नेपालमा उदाहरणीय छन् । यसलाई बचाएर अगाडि बढ्ने क्रममा लागौँ । यसलाई अगाडि बढाउने कुरामा तपाईं–हामी एकजुट भएर अगाडि लाग्यौँ भने वास्तवमा यो सुदूरपश्चिमलाई अझ सुन्दर पश्चिम बनाउन सकिन्छ भन्नेमा म विश्वस्त छु ।
मसँग विभिन्न आयोगका साथीहरूले आफ्नो कार्यालयको प्रगति प्रतिवेदन बुझाउनुहुन्छ । उहाँहरूको गुनासो के छ भने यहाँको सरकारले हामीले पेस गरेको प्रतिवेदन अध्ययन गरिदिनुहुँदैन । हामीले समस्याहरू पुस्तकभित्र राखेका छौँ । नपढी र छलफल नगरी किनारामा राखिन्छ, यो गुनासो छ । यो कुरा सम्बन्धित ठाउँमा जाओस् भन्नुहुन्छ । यहाँ मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू छन् । त्यसैले यहाँ मैले अनुरोध गर्न चाहेको छु । यो विषयमा मनन गर्नुहुन्छ भन्ने अनुरोध छ ।
धेरै कुरा यहाँ आयो । तर, मैले नबुझेको कुरा हो कि साथीहरू त्यस्तै हो । हरेक ठाउँमा राजधानी बन्यो । यहाँ राजधानीका कुरा कसैले उठाएनन् । यो एउटा विडम्बना जस्तो लाग्यो । कहाँ हो राजधानी र कुन ठाउँमा हो राजधानी बन्ने ? अहिले दुई तिहाइको सरकार छ । दुई तिहाइ मात्र होइन शतप्रतिशतको चासो हुनुपर्ने हो । अहिलेसम्म यहाँको सरकारले राजधानीका लागि न्याय गरेको जस्तो मलाई लागेन ।
मैले सुरुमै यहाँका मुख्यमन्त्रीलाई सपथ खाएका दिन भनेको हो– अब तपाईं राजधानी कहाँ बनाउने भन्ने विषयमा तपाई जानुहोस् । सल्लाह गर्नुहोस् । साथीहरूसँग पुरानै ठाउँमा ठीक हो कि ? अन्त कतै वरपर राख्ने हो कि ? धनगढीमै राख्ने हो कि ? एउटा निर्णय गर्नुहोस् । राजधानीका लागि सुदूरपश्चिम पछाडि परेको भन्ने सन्देश नदिनुहोस् ।
हरेक कुरामा हामी पछाडि नपरौँ । यो मेरो सल्लाह मात्र हो । म कुनै आधिकारिक मान्छे त होइन । तर पनि यहाँको समस्याको विषयमा मलाई पनि चासो के हुन्छ भने म यहाँ आइसकेपछि यो सुदूरपश्चिमको विकास देख्न पाए आनन्द आउँथ्यो । यसका लागि छिटोभन्दा छिटो निर्णय गरेर राजधानी बनाउन लाग्नुहोस् । यो पनि एउटा विकासमा फड्को मार्ने विषय हो ।
तसर्थ साथीहरू तपाईहरूले राम्रोसँग काम गर्ने वातावरण मिलाउनुहोस् । सबै मिल्नुहोस् । सुदूरपश्चिमलाई अगाडि बढाउने काममा र सुन्दर पश्चिम बनाउन लाग्नुहोस् । धेरै सम्भावना छन् । ती सम्भावनाहरूबाटै सुदूरपश्चिमको विकासमा अघि बढ्नुहोस् ।
(सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश सभा स्थापना दिवसका अवसरमा दिएको मन्तव्यको सम्पादित अंश ।)
प्रतिक्रिया दिनुहोस्