पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै डुडुवा



बाँके ।

जिल्लाको डुडुवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि रणनीतिक योजना तयार गरेको छ । गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न योजना बनाइएको छ ।

पालिकामा रहेका विभिन्न मठमन्दिर, मस्जिद, चर्चलगायत, वन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पर्यटकीय दृष्टिकोणले डुडुवालाई पहिचान गराउन पर्यटनसँग जोडेर विभिन्न परियोजना सञ्चालन गरिएको छ ।

यसै अन्तर्गत डुडुवामा सबैभन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन सुरु गरिएको छ । डुडुवा गाउँपालिका–२ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरणअन्तर्गत बाउन्ड्री (वाल) निर्माण गर्न शिलान्यास गरिएको छ ।

अध्यक्ष चौधरीले डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौँदेखिको योजना बल्ल कार्यान्वयनमा आएको बताए । उनले जग्गाको अभावमा राप्ती नदी पुलनजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको ऐलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताए ।

करिब २७ बिघा जग्गामा बृहत्तर रूपमा पर्यटन क्षेत्रको दीर्घकालीन ‘प्रोजेक्ट’ सञ्चालन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताए । वडा नं २ मा पर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडाध्यक्ष दुर्गाप्रसाद बर्माले जानकारी दिए । अध्यक्ष बर्माले भने, ‘यस वडामा धार्मिक हिसाबले मठमन्दिर, मस्जिद, झुलुङ्गे पुल, डुडुवा नाला, बगर क्षेत्र, सीमा नाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिनेछ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ ।’

गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत १ करोड ४ लाख ६१ हजार ६ सय २१ (भ्याटबाहेक) रूपैयाँको लागतमा कोहलपुर–११ स्थित दीपक बिल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्रकुमार बर्माले बताए । उनका अनुसार चालू आर्थिक वर्षको असार मसान्तसम्म ‘बाउन्ड्री वाल’ निमार्णको काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार