सरकारको उपेक्षामा हुम्लाको यारी भन्सार



सरकारले दिएको लक्ष्यभन्दा तेब्बर बढी राजस्व संकलन गर्ने यारी भन्सार नाका मंसिर २५ गतेयता बन्द छ । चिसो बढेसँगै भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमिकोट झरेका छन् । प्रदेश र संघीय कुनै सरकारको ध्यान नजाँदा सो नाका उपेक्षित बनेको छ । कार्यालय प्रमुख एक जना मात्रै स्थायी कर्मचारीको भरमा सञ्चालित भन्सारको हालसम्म आफ्नै कार्यालय भवनसमेत निर्माण हुन सकेको छैन । अनलाइन सिस्टममा काम गर्नुपर्ने भन्सार कार्यालयमा इन्टरनेटसमेत छैन ।
नन्दराम जैशी । सुर्खेत ।

नेपाल र चीनको सिमाना हुम्लाको हिल्सामा स्थापना भएको यारी नाका भन्सार सरकारको उपेक्षामा छ । प्रदेश र संघीय दुवै तहका सरकारको ध्यान नजाँदा उपेक्षामा रहेको यारी नाका भन्सार हाल बन्द भएको हो ।

चिसो बढेसँगै मंसिर २५ गतेयता भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमिकोट झरेका हुन् । भन्सार कार्यालय प्रमुख रामराज जैशीका अनुसार हिमपात र चिसो मौसमका कारण यारी भन्सार वर्षमा ६ महिना मात्रै खुल्छ । कतिपय समय चीनले आफूखुसी नाका खोल्ने र बन्द गर्ने गरेको उनले बताए । चिसोले बन्द भएको भन्सार अब आगामी वैशाख महिनाअघि खुल्ने सम्भावना छैन ।

कार्यालयमा मौसम अनुसार बन्दोबस्तको व्यवस्था नहुँदा हिमपातसँगै अत्यधिक चिसो बढेपछि भन्सार बन्द गरेर सदरमुकाम झर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनका अनुसार भन्सार सञ्चालन भएको समयमा बिहान ९ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म नाका खुल्छ ।
बाक्लो हिउँका कारण हुम्लाको नारा लेक बन्द हँुदा भन्सार ठप्प भएको हो । अन्य समयमा नारा लेकसम्म यातायातका साधनमार्फत र त्यसबाट उता हिल्सासम्म पैदल हिँडेरै भए पनि व्यापारीहरू नाकासम्म पुग्ने गर्दछन् । उनीहरू चीनको ताक्लाकोटबाट सामान ल्याउँछन् ।

कार्यालय प्रमुख एक जना मात्रै स्थायी कर्मचारीको भरमा सञ्चालित भन्सारका सबै शाखा हाल ठप्प छन् भने अन्य सबै दरबन्दी रिक्त छन् । ‘कर्मचारी म मात्रै हुँ, त्यसैमा पनि बेलाबेला काम विशेषले जिल्ला छोड्नुपर्ने हुन्छ,’ उनले भने, ‘अन्य कर्मचारीको दरबन्दी कायम गर्न सरकारकै चासो छैन ।’

अनलाइन सिस्टममा काम गर्नुपर्ने भन्सार कार्यालयमा इन्टरनेटसमेत छैन । यसबारे पटकपटक विभागमा भन्दा सुनुवाइ नभएको भन्दै हाल फेरि विभाग धाउन काठमाडौँ पुगेको उनले जानकारी दिए । कार्यालय प्रमुख जैशीका अनुसार गत वर्ष १४ लाख बढी राजस्व संकलन गरेको भन्सारले यस वर्ष मंसिरसम्म ७ लाख बढी राजस्व संकलन गरिसकेको छ ।

गत वर्ष विभागले ५ लाख मात्रै राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा तेब्बर राजस्व संकलन भएको थियो । यस वर्ष पनि राजस्व राम्रो संकलन हुने देखिन्छ । ‘भन्सारमा कर तिर्नुपर्छ भन्ने नागरिकमा चेतना छैन । त्यसैमा सरकारले पनि कर लिने आधार बनाएको छैन,’ उनले भने, ‘तर निर्माण सामग्री ल्याउने व्यवसायीहरूबाट राजस्व संकलन गर्ने गरेका छौँ । यदि भन्सार नियमित सञ्चालन हुने हो भने बर्सेनि करोडौँ राजस्व संकलन हुने देखिन्छ ।’

यारी नाका हुम्लाका लागि एकल विकल्प 

हिल्सामा २०७५ मा अध्यागमन कार्यालय स्थापना गरी भन्सार सञ्चालन गरिएको थियो । तर प्रदेश र संघीय दुवै तहका सरकारको ध्यान नजाँदा हाल यारी नाका भन्सार ओझेलमा छ । दुवै तहका सरकारले आवश्यक बजेट व्यवस्थापन गरी भन्सार सञ्चालनमा जोड दिन नसक्दा स्थापना भएको भन्सार कार्यालयसमेत बन्द हुने अवस्थामा पुगेको हो ।

यारी भन्सार नियमित सञ्चालन हुनसके हुम्लाबासीलाई सामान ढुवानीमा निकै सहज हुनेछ । हाल हुम्लामा सामान आयातका लागि यारी नाका एक मात्रै विकल्प पनि हो । तर हुम्ला सदरमुकाम सिमिकोटबाट भन्सार कार्यालयसम्म पुग्न न त सहज सडक छ । न त यातायात सेवा नै ।

साँघुरो कच्ची सडकमा गुड्ने बोलेरो जीपमार्फत यो भन्सारबाट हुम्लामा लत्ता कपडासहित व्यावसायिक सामग्री, खाद्यान्न तथा निर्माण सामग्री आयात हुने गर्दछन् । यारी भन्सार नेपालमा सामान आयात–निर्यातका लागि ठूलो सम्भावना बोकेको नाका पनि हो । तर भन्सारसम्म पुग्न तथा भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा सरकारले जोड दिन सकेको छैन ।

हालसम्म यारी भन्सार कार्यालयको आफ्नै भवनसमेत निर्माण हुन सकेको छैन । भन्सार कार्यालयसँगै सीमा प्रहरी बलको कार्यालयलगायतका अन्य मातहतका कार्यालय स्थापना गर्न पूर्वाधार विकासमा सरकारको ध्यान गएको छैन । यारी भन्सार सञ्चालनमा सडक, यातायात सेवा, पुल निर्माण, अन्य कार्यालय स्थापनालगायतका धेरै समस्या छन् । त्यहाँ मौसमअनुकुल पूर्वाधार निर्माण गर्न सरकार चुकेको छ ।

तर यता भन्सार विभागका अनुसार यारी भन्सारमा पूर्वाधार विकासका लागि चीनसँग कूटनीतिक पहल भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार यारी नाका खोल्नका लागि चीनले अग्रसरता लिए पनि नेपालको तर्फबाट सरकारले चासो दिएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार