नेपालगन्जस्थित यातायात उपयुक्त स्थानमा सार्ने तयारी



यातायात कार्यालय अहिले पनि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । हाल रहेको कार्यालय भवन र त्यहाँको सेवाप्रवाहको विषयमा प्रदेश सरकारले पटकपटक असन्तुष्टि जनाउँदै आएको छ । मंगलबार कोहलपुरमा आयोजित एक कार्यक्रममा कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जमा रहेको कार्यालयको विषयमा सार्वजनिक रूपमै असन्तुष्टि जनाए ।

कोहलपुर (बाँके) ।

लुम्बिनी प्रदेश सरकारले नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय सार्ने तयारी गरेको छ । प्रदेश सरकारले नेपालगन्जस्थित भाडाको घरमा सञ्चालन गरिरहेको कार्यालय उपयुक्त स्थानमा सार्ने तयारी गरेको हो । यातायात कार्यालय अहिले पनि भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

हाल रहेको कार्यालय भवन र त्यहाँको सेवाप्रवाहको विषयमा प्रदेश सरकारले पटकपटक असन्तुष्टि जनाउँदै आएको छ । मंगलबार कोहलपुरमा आयोजित एक कार्यक्रममा कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जमा रहेको कार्यालयको विषयमा सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् ।

उनले हाल यातायात कार्यालय सञ्चालन गरेको स्थान आफूलाई चित्त नबुझेको बताए । मन्त्री न्यौपानेले अनुसार त्यहाँ सेवाग्राहीले सहज रूपमा सेवा लिन नपाएको बताए । सो स्थानमा दुर्घटनाको समेत जोखिम रहेको उनको भनाइ छ ।

‘नेपालगन्जमा यातायात कार्यालय रहेको स्थान मलाई पटक्कै चित्त बुझेको छैन । साँघुरो स्थानमा छ । दुर्घटनाको जोखिम छ । त्यसलाई उपयुक्त स्थानमा सार्न मैले यातायात कार्यालयका हाकिमलाई भनिसकेको छु,’ उनले भने, ‘भाडाको घरमा सञ्चालन भइरहेको कार्यालय उपयुक्त ठाउँमा सार्ने प्रक्रिया सुरु भइसकेको छ ।’

कोहलपुरमा यातायात कार्यालय स्थापना गर्ने विषयमा नेपालगन्जले असन्तुष्टि जनाएको सन्दर्भमा समेत धारणा राख्दै मन्त्री न्यौपानेले संघीयताको मर्मअनुसार सेवा विकेन्द्रीकृत हुनुपर्ने बताए । प्रदेश सरकारले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गर्ने निर्णय गरेर संघीयता संस्थागत गर्न खोजेको उनको भनाइ थियो ।

‘कोहलपुरबासीले यातायात शाखा सञ्चालनको माग गरे । विभिन्न तहमा भेटघाट भयो । यहाँ संघीयताको मर्मअनुसार खोल्नु आवश्यक थियो । सोही अनुसार प्रदेश सरकारले कोहलपुरमा शाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो,’ मन्त्री न्यौपानेले भने ।

प्रदेश सरकारले कोहलपुरमा यातायात सेवा कार्यालयको सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको भन्दै सञ्चालनको प्रक्रिया सुरु भइसकेको न्यौपानेले बताए । प्रक्रियागत रूपमा काम भइरहेको र छिट्टै कोहलपुरमा कार्यालय स्थापना हुने उनको भनाइ छ । कार्यालयले सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता किताब नवीकरण र पटके सेवा कोहलपुरबाट प्रवाह हुने उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार