भारतबाट कर्तनियाघाट हुँदै खाता करिडोर भएर मंसिर ५ गते राति बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको जीपीएस र ड्रोनबाट निगरानी भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पाटेबाघ नेपाल प्रवेश गरेदेखि बर्दियाका विभिन्न क्षेत्र डुलिरहेको छ । भारतबाट नेपाल प्रवेश गरेको पाटेबाघले दैनिक करिब ५ देखि ६ किलोमिटरसम्म यात्रा गरिरहेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
केही समययता बर्दियाका विभिन्न क्षेत्रमा देखिएको पाटेबाघको जीपीएस र ड्रोनबाट निगरानी थालिएको छ । भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको जीपीएस र ड्रोनबाट निगरानी भइरहेको हो । सो बाघ मंसिर ५ गते राति बर्दिया क्षेत्रमा प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
जनावरको आनीबानी पहिचान गर्न र सम्भावित जोखिमबाट बच्नका लागि रेडियो कलर जडान गरिन्छ । भारतबाट नेपाल प्रवेश गरेको पाटेबाघमा घाँटीमा रेडियो कलर जडान गरिएको छ । जीपीएस लोकेसनको आधारमा पाटेबाघको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पाटेबाघ नेपाल प्रवेश गरेदेखि बर्दियाका विभिन्न क्षेत्र डुलिरहेको छ ।
अन्दाजी ७–८ वर्षको भाले पाटेबाघलाई उच्च निगरानीमा राखिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका रेन्जर सन्तबहादुर मगरका अनुसार उक्त बाघ मधुवन–२ स्थित कर्तनियाघाट हुँदै खाता करिडोर भएर नेपाल प्रवेश गरेको थियो । त्यसपछि बाघ गोविन्दपुर बग्नाहा वन क्षेत्रमा पुग्यो । त्यसपछि ज्योतिपुरको वन क्षेत्रमा प्रवेश गरेको मगरले बताए ।
त्यहाँबाट हर्नवा गएको र अहिले कुसुम्बा र कृष्णसार संरक्षण क्षेत्रमा रहेको उनको भनाइ छ । दुई दिनदेखि उक्त क्षेत्रमा रहेको झोलुंगे पुलदेखि १ किलोमीटर दूरी रहेको जंगल क्षेत्रमा रहेको रेन्जर मगर बताउँछन् । पाटेबाघले दैनिक करिब ५ देखि ६ किलोमिटरसम्म यात्रा गरिरहेको छ ।
पाटेबाघलाई निकुञ्जले भारतीय पक्षसँग समन्वय गरेर निगरानी गरिरहेको उनले बताए ।
भारतीय पक्षसँग बुझ्दा पाटेबाघ उखुबारीमा बस्न रुचाउँछ । अहिलेसम्म भारतमा पनि कुनै मानवीय क्षति गरेको थिएन । नेपाल प्रवेश गरिसकेपछि पनि मानवबस्ती भएका क्षेत्रमा प्रवेश गरिसकेको छैन । ‘हालसम्म मानव क्षेत्रमा पुगिसकेको छैन । हालसम्म कुनै क्षति पनि पुगेको छैन । तर, जनावर भएकाले सजकता चाहिँ अपनाउनुपर्ने हुन्छ,’ मगरले मिसन टुडेसँग भने ।
सो बाघका कारण मधुवन र ठाकुरबाबा नगरपालिका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । निकुञ्जले पनि कार्यालयबाट जीपीएसका माध्यमबाट निगरानी गर्नुका साथै ड्रोनसहित ६ जना प्राविधिकको टोली खटाएको छ । ‘बाघ धेरै हिँडेको छ । थाकेको पनि होला । धेरै हिँडेकाले भोकाएको पनि छ,’ उनी भन्छन्, ‘जंगल क्षेत्रमा एक्लै नहिँड्न, गाईवस्तु चराउन जाँदा सतर्कता अपनाउन र साँझ–बिहान एक्लै नहिँड्न सर्वसाधारणलाई अनुरोध गरेका छौंँ ।’
पछिल्लो दुई दिनयता एउटै स्थानमा रहेकाले आहारा भेटाएको वा धेरै थाकेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ । यस्तै, भारतबाट आएकाले निकुञ्ज क्षेत्रमा रहेका अन्य बाघहरूसँग एक्कासि जम्काभेट हुँदा भिडन्त पनि हुनसक्ने सम्भावना देखिन्छ । आफूहरूले निगरानी गर्दा जंगलैजंगल हिँडिरहेको, निकुञ्ज क्षेत्रमा पुगे पनि दक्षिणतिर लागिरहेको देखिएको उनले बताए ।
रेडियो कलर जडित पाटेबाघ कसैले देखेमा सरोकारवाला निकायसँग सम्पर्क गरिदिन पनि रेन्जर मगरले आग्रह गरे । डिभिजन वन कार्यालय, कृष्णसार संरक्षण क्षेत्र, बर्दिया प्रहरी, निकुञ्ज र जिल्ला प्रशासन कार्यालयमा खबर गर्नका लागि आह्वान गरिएको र सचेत रहनको सर्वसाधारणलाई आग्रह गरिएको उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार राम उक्त पाटेबाघको विभिन्न माध्यमबाट निगरानी भइरहेको र आवश्यक परे नियन्त्रणमा लिनका लागि सरोकारवालासँग समन्वय गरिने बताए । हालसम्म गरिएको निगरानीमा खासै खतराका संकेत देखिएको छैन । पाटेबाघ नै भएकाले मानवीय र पशुधनको क्षति गर्न सक्ने सम्भावनालाई मध्यनजर गरिएको छ ।
पाटेबाघ पुग्न सक्ने सम्भावित क्षेत्रका प्रहरी पोस्ट, स्थानीय सरकार र अन्य पक्षलाई सतर्क रहन आग्रह गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ छ । तीमध्ये ५० वटा मात्रै वयस्क बाघ रहेका छन् ।
‘डराइहाल्नुपर्ने स्थिति छैन, सजक चाहिँ रहनुपर्छ’
डा.अशोक कुमार राम
वरिष्ठ संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज
पाटेबाघ भारतबाट नेपाल प्रवेश गरेको छ । हाल बाघ बर्दियाका विभिन्न क्षेत्रमा हिँडिरहेको छ ।
रेडियो कलरजडित बाघ भाले हो । अन्दाजी ७–८ वर्षजतिको होला ।
हामीले बाघलाई हाम्रो जनशक्ति प्रयोग गरेर निगरानी गरिरहेका छौंँ । अहिलेसम्म बाघ मानव बस्ती भएका क्षेत्रनजिक प्रवेश गरिसकेको छैन । जंगलैजंगल हुँदै हिँडिरहेको छ ।
कहाँसम्म जान्छ भन्ने यकिन गर्न सक्ने अवस्था छैन । तर, हामी सचेत चाहिँ रहनुपर्छ । किन भने त्यो जनावर हो । मान्छे, पशुलाई आक्रमण गर्न सक्छ । त्यसैले सबैलाई सचेत रहन म आग्रह गर्न चाहन्छु ।
‘पाटेबाघ नियन्त्रणमा लिन आग्रह गरेका छौँ’
तेजबहादुर भाट
नगर प्रमुख, मधुवन नगरपालिका, बर्दिया
भारतबाट पाटेबाघ नेपाल प्रवेशको विषय हामीले नोटिस गरिरहेका छौँ ।
निकुञ्जले हामीलाई पत्राचार पनि गरेको छ ।
सोही अनुसार मधुवनबासीलाई सचेत रहनका लागि सार्वजनिक सूचना नै जारी गरिएको छ । नगरपालिकाले चौकीदारसमेत खटाएको छ ।
सुरक्षा निकायसँग समन्वय गरेर गस्ती गर्न लगाइएको छ । यस्तै मैले सिडियो साबसँग पनि कुरा गरेको छु । कतिसम्म आतंकित भइरहने, डरैडरमा नागरिक बस्न विवश हुनुपरेको छ । त्यसैले पाटेबाघ नियन्त्रणमा लिन सिडियो साबलाई आग्रह गरिएको छ ।
उहाँले हामी सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिन्छौँ भन्नुभएको छ । सम्पूर्ण नगरबासीलाई सचेत रहन आग्रह गर्न चाहन्छु ।
‘नागरिकमा डरको वातावरण सिर्जना भएको छ’
तिलक राम लम्साल
नगर प्रमुख, ठाकुरबाबा नगरपालिका, बर्दिया
यो विषयमा म जानकार छु । निकुञ्जले पनि जानकारी गराएको थियो । जिल्लास्थित सुरक्षा निकायसँग पनि कुरा भएको थियो । पाटेबाघका कारण नागरिक स्तरमा डरको वातावरण सिर्जना भएको छ ।
हाम्रो नगर क्षेत्रमा समेत प्रवेश गरेको भन्ने सूचना पाएपछि हामीले नगरबासीलाई सचेत रहन आग्रह गरेका छौँ ।
गोविन्दपुर वन उपभोक्ता समिति रहेको क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । सम्पूर्णलाई सचेत गराउन समितिका पदाधिकारीलाई निर्देशन दिएको छु ।
सतर्क रहन प्रशासनको आग्रह
बर्दियाका विभिन्न स्थानमा केही दिनयता बाघ र चितुवाहरू गाउँघर नजिक देखिन थालेकोले सतर्क रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले सबैलाई अनुरोध गरेको छ ।
मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले केही दिनयता बाघ र चितुवाहरू गाउँबस्ती नजिक देखिने क्रम बढेकोले सतर्क रहन अनुरोध गरेको हो । जारी सूचनामा बाघले आक्रमण गर्न सक्ने अवस्था र आक्रमणबाट बच्ने उपायसमेत सुझाएको छ ।
मान्छे बाघको आहार नभएको र कहिलेकाहीँ जम्काभेट हुँदा, शिकार गर्न लागेको बेला, बच्चा साथमा भएको बेला आक्रमण गर्ने सम्भावना रहन्छ । यस्तै, भाले लाग्ने समयमा, पोथी बाघले कुनै खतरा महसुस गरेमा मान्छेलाई आक्रमण गर्न सक्छ । त्यस्तो अवस्थामा आफू सुरक्षित रहन आग्रह गरिएको छ ।
कुनै बाघहरू घाइते वा कमजोर भएर अन्य जंगली जनावर शिकार गर्न नसकेको अवस्थामा पनि मान्छे देख्यो भने आक्रमणको सम्भावना रहन्छ । त्यसैले एक्लै जंगल नजान अनुरोध गरिएको छ । बाक्लो झाँडी, अग्लो घाँस भएको क्षेत्रमा नजाने, जानैपरे सतर्क रहन आग्रह गरिएको छ ।
वन क्षेत्रमा घाँस काट्ने निउरो टिप्ने जस्ता झुकेर गरिने कार्यहरू गर्दा सावधानी अपनाउन समेत प्रशासनले आग्रह गरेको छ । रातीको समयमा जंगल नजिक तथा घर बाहिर बालबालिकाहरूलाई खेल्न नदिने, घर वरपर झाँडी नराख्ने र साँझ बिहान खोलामा नजान अनुरोध गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्