बसाइसराइका पीडा र संघर्षको कथा ‘बुह्रान’



गजलबाट साहित्यिक यात्रा शुरु गरेका सर्जक महानन्द ढकाल बाँके जिल्लामा हाइकु पुस्तक प्रकाशन गर्ने पहिलो हाइजिन पनि हुन् । उनका मुक्तक, कविता र चित्रकला शैली पनि उत्तिकै सशक्त छन् । उपन्यास जगतमा फरक पहिचान बोकेको बुह्रानले अझ नयाँ नयाँ रेकर्ड राख्दै जाओस्, शुभकामना ।

बद्री ढकाल हीरामणि ।

मेरो हातमा ‘बुह्रान’ छ । ‘बुह्रान’ तराईको कथा हो । बसाइसराइको पीडा र संर्घषको कथाले बुह्रानलाई चर्चित बनाएको छ । हुन त बसाइसराइको नमिठो कथा ‘बसाइँ’ उपन्यासमा धेरैले पढेका छन् । बुह्रान पढ्दा बसाइँ उपन्यास नसम्झने कम मात्रै होलान् । बसाइसराइको पाटो बसाइँमा जस्तै दर्दनाक भएर आएको भए पनि ‘बुह्रान’ले उठाउन खोजेको विषयवस्तु नितान्त पृथक् छ ।

सपना, संर्घष र स्वाभिमानको कथा फरक छ । तर पनि ‘बुह्रान’मा लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासको झल्को आउनुको कारण कथाको परिवेश, परिस्थिति र सरल भाषा शैली नै हुनसक्छ । ‘बसाइँ’ उपन्यास पढ्नेहरूका मनमा रिकुटे, मैना र मोटे कार्की छाप बनेर बसेजस्तै ‘बुह्रान’ पढ्नेहरूको मनमा पार्वती, माइला थारू, रमिता र सोमलाल नर्बिसने गरी मनमा बस्छन् । सामाजिक ‘इस्यु’मा केन्द्रित कथानक र पात्रहरूको सशक्त भूमिकाले नै हुनुपर्छ ‘बुह्रान’ले निरन्तर चर्चा पाएको ।

‘बुह्रान’ महानन्द ढकालले लेखेको उपन्यास हो । यो उपन्यासले करिब–करिब पाँच दशकअघिको समय समातेको छ । ऊबेला पश्चिम नेपालमा बसाइसराइको ठूलै चहलपहल थियो । गण्डकी क्षेत्रबाट पहाडी (खस) र राप्ती क्षेत्रबाट मधेसी थारूहरूको बसाइसराइको लर्को अन्यत्रभन्दा झनै बढी थियो । उनीहरूको गन्तव्य हुन्थ्यो नयाँ मुलुक अर्थात बुह्रान क्षेत्र ।

नयाँ मुलुक अर्थात बुह्रान भनेर बाँके, बर्दिया, कैलाली र कन्चनपुरलाई भन्ने गरिए पनि बुह्रानको केन्द्रविन्दु बबई नदीको पानीले सिँचाइ हुने आसपासको भूमिलाई चिनिन्छ । थारू समुदायमा बबई नदी पूर्वको क्षेत्र वल्लो बुह्रान र पश्चिमको क्षेत्र पल्लो बुह्रानको नामले परिचित छ । उपन्यास ‘बुह्रान’ले समातेको परिवेश र कथा वल्लो बुह्रानसँग सम्बन्धित भएकाले पनि उपन्यासको शीर्षक ‘बुह्रान’ निकै सान्दर्भिक देखिन्छ ।

‘बुह्रान’ शब्द थारू भाषासँग सम्बन्धित छ । ‘बुह्रान’ शब्दलाई कतै बुढान भनेको पाइन्छ भने कतै बुडान । बुढान भनेर बुढाहरू बसाइसराइ गरेर आएको क्षेत्र भन्ने अर्थ लगाइन्छ भने बुडान भन्नाने डुबान बुझाउँछ । जलमग्न भएर डुबाउने स्थान बुडान हो । थारू भाषाको बुडान शब्द नै बुह्रान शब्दमा परिवर्तन भएको मान्नेहरूको संख्याको कमी छैन । जे होस् बुह्रान वा बुडान जसले जुन शब्दको प्रयोग गरेको भए पनि बबई नदी किनार वरपरको तराई बस्ती नै असली बुह्रान बस्ती हो भन्नुमा कुनै दुविधा छैन ।

‘बुह्रान’ एउटा सभ्यता हो । आशाको केन्द्र हो । भोकहरूको सामाधान हो । स्वतन्त्रताको अभिलाषा हो । स्वर्गको कल्पना हो । ‘बुह्रान’ अधिकांश गरिब थारू किसानहरूको बाहुल्यता भएको क्षेत्र हो । थारूहरूको भाषा, कला, चालचलन, परिश्रम, उत्पादन र सामाजिक गतिविधिबिना यो क्षेत्र शून्यप्रायः हुन्छ ।

अत्यन्तै सोझा तर लगनशील थारूहरूले स्वर्ग मानेको बुह्रानमा स्वर्गीय आनन्द खोज्दा खोज्दै कैयौँ पुस्ता अस्ताएको कथा बुह्रानको मुख्य कथानक हो । कर्ममा विश्वास गर्ने सोझा तर लगनशील थारूहरूमाथि हैकम जमाउँदै आएका केही थारू जमिन्दार, बडघर र गैरथारू समुदायका खस जातिका किसानबीचको संघर्ष, सहयोग र सहकार्य तथा सामञ्जस्यताको प्रतिनिधि मुलक दस्तावेजको रूपमा आएको छ उपन्यास ‘बुह्रान’ ।

बसाइसराइ गर्नेहरूले बुह्रान रोज्नुको मुख्य कारण थोरै पैसामा धेरै जग्गा पाइनु हो । सजिलै जीविकोपार्जनका लागि सहज हुनु हो । अझ भनौँ सन्तानहरूको आधारभूत आवश्यकता सजिलै पूरा गर्ने लालसा नै हो । फुलेजस्तो फल्दैन र सोचेजस्तो हुँदैन भनेस्तै केही ठूला घरानिया, सरकारसँग सहजै पहुँच राख्न सक्ने जमिन्दारसहितको विविधतायुक्त समाजमा गरिबहरूले सोचेजस्तो जीवन जिउन कहाँ पाउँथे र ?

सोझा, इमान्दार र लगनशील गरिब थारूहरूको जीवन सरल बाटोमा हिँडेको देखिँदैन । अन्तरजातीय अन्तरघुलन, सांस्कृतिक र राजनीतिक परिवेशको अन्तरद्वन्द्वलाई लेखकले जस्ताको तस्तै उतारेर उपन्यासलाई निकै रोचक बनाएका छन् । उपन्यास पढ्दै गर्दा उपन्यासले उठाएका विषयबस्तु, पात्र र परिवेशले राम्ररी न्याय पाएको अनुमान सजिलै गर्न सकिन्छ ।

नेपाली साहित्यको बजार आख्यानमा जमेको छ । हरेक सर्जकलाई उपन्यासको मोहले छोएको पाइन्छ । जीवनमा एउटा मात्रै भए पनि उपन्यास लेख्न पाए हुन्थ्यो भन्ने रहरले कुत्कुत्याएको देखिन्छ । पछिल्लो समय साहित्यका अन्य विधामा जमेकाहरू पनि आख्यानमा हाम फालेका छन् । जीवनमा अनेक रङहरूसँग खेल्दै, दुःखसुखका घटनाहरूलाई बिम्बात्मक, कलात्मक तथा प्रतीकात्मक रूपमा उनेर पाठकलाई लोभ्याएका छन् । पाठकहरूको मन तान्ने विषयवस्तुहरूको खोजी गर्दै अध्ययन र अनुसन्धानमा लागिपरेका छन् । पाठकहरूलाई भक्कानो छुट्ने गरी मन पगाल्न सक्नु लेखकको सफल पनि हो ।

म बहुचर्चित उपन्यास ‘बुह्रान’मा छु । ‘बुह्रान’को कथा, परिवेश र पात्रहरू मेरा आँखा वरिपरि नाचिरहेका छन् । पार्वतीको पीडा, माइलाको दुःख, सोमलालको संघर्ष र रमिताको साहसले मनलाई अस्थिर बनाएका छन् । मान्छे–मान्छे बीचको खाडल किन यति गहिरो ? जातीय र वर्गीय विभाजनको रेखा कहिले मेटिन्छ ? काम गर्नेहरूले सजिलै माम कहिले पाउने ? पसिनाको सुगन्ध छरेर सुन फलाउन खोज्नेहरूको सपनाले साकार रूप कहिले पाउँछ ? के सपना देख्नु पाप हो ? जल, जमिन र जंगलमा रमाउनेहरू किन जमिनदार बन्न सकेनन् ? भन्ने प्रश्नहरूको सेरोफेरोमा घुमेको छ ‘बुह्रान’ ।

‘बुह्रान’ले नेपाली साहित्य बजारमा निकै रौनक ल्याएको सत्य हो । फरक विषयवस्तुले हरेक पाठक एवम् लेखकहरूलाई छुट्टै हौसला पैदा गराइदिएको छ । उपन्यासकारले नयाँ विषयवस्तु समातेका छन् । धेरै पहिला लेखिनुपर्ने विषयवस्तु थियो यो । थारू समुदायका लेखकहरूबाट नै लेखिनुपर्ने विषयवस्तु गैरथारूबाट लेखिनुले पनि उपन्यासप्रति धेरैको चासो गएको हुनसक्छ । एउटा गैरथारूले थारू समुदायको सामाजिक, सांस्कृतिक, रहनसहनको गहिरो अध्ययन-अनुसन्धान गरेर उपन्यास प्रकाशनमा ल्याउनु ठूलो दुस्साहस नै हो । एउटा चुनौती हो । यो चुनौतीको सामना गरेर उपन्यासकार ढकालले बुह्रान ल्याएको देखिन्छ ।

उपन्यासमा अनौठो समायोजन छ । हिमालकी निङ्मा, पहाडकी पार्वती र तराईका माइला थारूले सिङ्गगो उपन्यासको कथा बोकेका छन् । हिमाली पात्र निङ्माबाट सुरु भएको कथा तराईका सोमलालसम्म पुगेर टुुंगिएको छ । हिमालबाट झरेकी निङ्मा नोकरीको सिलसिलामा बुह्रानको केन्द्र बद्रीपुर पुगेकी छन् । कर्मचारीहरूबीच आपसी समझदारी, सहयोगको भावना गराउने कार्यको नेतृत्व उनले लिएकी छन् । उनी कार्यालय सहयोगी पहाडी थारूमार्फत उपन्यासका नायक माहिला थारू र अर्की नायिका पार्वतीसँग निङ्माले अर्थपूर्ण गहिरो संवादलाई पस्केर, लेखक कलात्मक ढंगले उभिएका छन् ।

बुह्रानको कथा धेरैलाई मन पर्नुपछाडिको कारण बुह्रानको मायाले तानिएर बसाइँ सर्ने जोकोहीले पनि माहिला, पार्वती र सोमलालको जस्तै जटिल परिस्थिति भोग्नुप¥यो सायद । यो कथा आफ्नै कथा जस्तो लाग्नु नै हो । त्यसका अवशेषहरू अहिले भेटिनु हो । हिजोका पीडाहरूको खाटो देखिनु पनि हो । विभेद, विसंगति र थिचोमिचोका स्वरूपहरू बदलिएर आउनु हो । गरिबहरू हाँस्ने दिनको खोजीमा अभैm भौँतारिन पर्नु हो ।

पहाडबा तराई झरेकी पार्वतीले जन्मेदेखि देखे, भोगेका र बाल विवाहदेखि बुढ्यौलीसम्म आइपुग्दा गरेका संघर्ष कति छन् कति । सौता ब्यहोर्दा होस् वा विधुवा हुँदा वा छोराछोरीको मृत्युवरण हुँदाका क्षण महिलाले बेहोर्नुपर्ने असह्य पीडाका अनुभूतिहरू चाङ लागेर आएका छन् । बुह्रानको कथा पढ्दा यस्तो पनि हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । पीडा नभोगेका र नदेखेकाहरूलाई एउटी महिलामाथि यसरी पीडाहरू बर्सिनु नाटक जस्तो लागे पनि धेरै घटना यथार्थ जीवनमा मिल्न जाने हुनाले कथाले गम्भीर बनाउँछ । पढ्नै छोडेर टोलाएर सोच्नुपर्ने बनाउँछ ।

पार्वतीबाट समाजले सिक्नुपर्ने संघर्षका तौरतरिका धेरै छन् । पाँच दशक पहिलेको सामाजिक परिवेश र संघर्षको रूप फरक हुन सक्छ । भाषा, धर्म, कला संस्कृति, रीतिरिवाज, रहनसहनलाई जीवित रहनेगरी लेखन प्रस्तुतिले उपन्यास निकै पठनीय बनेको छ । उपन्यासमा भएका निम्न विषयबस्तुलाई अध्ययन गर्ने हो भने पनि ऊ बेलाको समाज के कसरी चलेको रहेछ त भन्ने कुराको सजिलै आँकलन गर्न सकिन्छ –
– माहिलाको नाम मंगल थियो । लेख्नेले जन्मदर्तामा माहिला थारू लेखिदिए ।

थारू जातिको सोझोपन र कर्मचारी प्रशासनले यिनीहरूको आफ्नै नामकरण सम्बन्धमा प्रस्तुत गरेको एउटा क्रियाकलापको नमुना हो यो । यस घटनाबाट पनि धेरै कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।

– आफ्नो जग्गा बटैया लगाएर मालिकको घरमा कमैया बसे । पेटले पीडालाई पराजित गर्दाे रहेछ । परिस्थितिको दास बन्न बाध्य पार्दो रहेछ । कमैया बस्न हरायो । दुःख हराएन ।

– बटैया लिनेहरूलाई खुब कजाउँथे । नोकरलाई जस्तो व्यवहार गर्थे ।

– मइ नि जिम् । धान वान डिहि, चाहा नि डिहि ।

– बासभन्दा ठूलो गास रहेछ । जग्गाले गर्जो टरेन ।

बुह्रान उपन्यासले गरिबहरूलाई माछा मार्ने जाल होइन सीप देऊ भन्छ । जबसम्म आफ्नै भकारीमा अन्न, बारीमा तरकारी, गोठमा पशुधन आदि आफैँ जुटाउने हिम्मत वा सीप स्वयम् व्यक्तिमा हुँदैन तबसम्म जे जति चाहना, आवेग, रिस उठे पनि वा आफूसँग प्रशस्त जग्गा नै भए पनि भात खानकै लागि अर्काको दास हुनबाट मुक्त नहुँदो रहेछ ।

सुकुम्बासी थारूले जग्गा पाउँदा होस् या कमैयाबाट मुक्त घोषणामा पाएको जग्गा होस् त्यसले मात्रै केही नहुने रहेछ । बासको गर्जो छरे पनि गासको गर्जो टार्ने त सीप नै रहेछ । मनमा साहस र सीप बटुल्दै चेतनास्तर उठाउन नसकेकोसम्म पुर्खादेखि आएको आनिबानीमा सजिलै परिवर्तन हुँदो रहेनछ भन्ने यथार्थलाई उपन्यासमा मीठो तरिकाले उजागर गरिएको छ ।

आत्म सम्मानका लागि बेलाबखतमा थारू समुदायबाट पटकपटक सशक्त आन्दोलनहरू नभएका होइनन् । आन्दोलनकै क्रममा अनेक तिकडमगरी थारू जातिलाई नै प्रयोग गरेर उल्टो अभियान तुहाउने गरेको कुरालाई लेखकले पार्टीले खेलेको राजनीतिक स्वार्थको गोटी शिवाय अरू केही नभएको यथार्थलाई सचेततापूर्वक चिरफार गरेका छन् । उपन्यासमा सामाजिक रुढिवादी परम्परा र सामाजिक कुसंस्कार पनि देखाइएको छ । लेखकले पार्वर्तीले भोगेको समयको सामाजिक चित्रलाई यसरी उतारेका छन्–

– खुट्टाको पानी खान नपाएका श्रीमतीहरू भोकै बस्नुपथ्र्यो ।

– भाकल गरियो, भंगेर मन्साइयो, भँैसीको दूध एक तुर्की पनि खसेन ।

– दिदीबहिनीको दूध छुट्ट्याउनुको परिणाम थियो यो ।

धेरै पहिलेदेखि नै पार्वतीको घरमा पनि विभिन्न कुसंस्कारले जरो गाडिरहेकै थियो भन्ने एउटा दह्रो प्रमाण थियो त्यो । महिलाहरूलाई चुलोचौकोमा सीमित गर्ने र भान्से दासीका रूपमा प्रस्तुत गरेको कुरिती जस्तो भान हुन्छ । पुरुषहरू कामका लागि बासस्थान छोडेर धेरै टाढा जानुपर्ने बाध्यता, यातायात तथा सञ्चारका साधन स्रोतको अभाव र पहुँचको अवस्थालाई पनि छर्लङ्ग पारेको छ । गाईबस्तुलाई त लागो, भगेंर, बोक्सी, भूत आदि लाग्यो भनी धामी झाक्री खोज्न तल्लीन समाजमा मानिसलाई के–के लाग्यो भन्ने भ्रम फिजाइएको होला ? आधुनिक वैज्ञानिक उपचार पद्धतिको पहुँच कस्तो थियो होला ? सजिलै आंकलन गर्न सकिन्छ ।

बुह्रानमा गरिब थारूहरूको बिहेको प्रसंग निकै रोचक छ । गरिब दुलही नपाउने थारूहरूले सट्टापट्टा गरेर पनि बिहे गर्थे । यौवन अवस्थामा प्रवेश गर्न नपाई बाल्यकालमा बिहे गरी पराई घर गई घरका अनेक कार्य र मानसम्मान गर्ने कार्य कति कठिन भयो होला सम्झदा कहाली लागेर आउँछ । उबेला बाल मृत्युदर र मातृशिशु मृत्युदर अत्यधिक हुनुको एउटा कारण थियो बालविवाह । सबै समुदायका आआफ्नै धर्म, रीतिरिवाज, चालचलन, भेषभूषा हुन्छन् । जल, जमिन र जंगलको मालिक हामी हौँ भन्ने आदिवासी थारू समुदायमा यो बालविवाह प्रथा उस्तै चर्को थियो । बाबुआमाको इच्छाअनुसार बिहे टुंगो लाग्थ्यो । घरवार बिग्रने भत्कने क्रम चलिरहन्थ्यो । बाध्यताका अजंगका पहाडहरू हरेक समुदायमा पर्खाल बनेर खडा हुन्थे ।

स्याङ्जाबाट पार्वती र चित्रकुटीबाट माइला थारूको परिवारहरू बुह्रान झर्नु परिस्थितिले बनाएको बाध्यता थियो । आफू हुर्के बढेको समाजलाई चटक्कै बिर्सन कसले पो सक्थ्यो र ? त्यहाँ भए गरेका अनेक सामाजिक गतिविधिको स्मरणले दुवै परिवारलाई निकै दोधारे र दुःखित बनाएको कुरा उपन्यासमा स्पष्ट छ । फरक समुदायका पार्वती र माहिलाको परिवारबीचको सामाजिकीकरण निकै सकारात्मक देखिन्छ । पार्वतीले माहिलाको परिवारलाई सहयोग गरेको भए पनि परिवारको अपेक्षित प्रगति हुन सक्दैन भने माहिलाको कर्मले र पार्वतीको धैर्यले उनका सन्तानको उन्नति भएको देखिन्छ । उनका छोराहरू शिक्षक, प्रहरी, कर्मचारी र नेता बन्न सफल भएका छन् । पार्वतीको परिवार गरिबीबाट उठ्न सक्यो तर माइलाको सकेन ।

माइला र उनको परिवारले जीवनभर संघर्ष गरिरहनुप¥यो । उनका सन्तानले लेख्ने पढ्ने सहज अवसर पाएनन् । बाउबाजेले जस्तै कमैया र कम्लरी प्रथाबाट उम्कन सकेनन् । जमिनदारले गरेको श्रम शोषण, सर्पले टोक्दा अन्धविश्वासी बनेर झारफुक गर्दा सोमलालकी श्रीमतीलाई गुमाउनु, शोकमा पनि कमैया बस्न जानुपर्ने बाध्यता आदि बिषयबस्तुले उपन्यासमा भएको सामाजिक बेथिति, अन्याय र अमानवीयतालाई झल्काएको छ । रमिता र सोमलाल बिचको वैवाहिक सम्बन्धले प्रेम धनभन्दा ठूलो हुन्छ, कठोरहरू पनि प्रेमका अगाडि झुक्छन् भन्ने देखाएर जमिनदारलाई कमजोर बनाएको भए पनि माइलाको परिवार र सोमलालले सुखको सास फेर्न सकेको छैन । उनीहरूलाई पुरानै दुःख झेल्नु परिरह्यो ।

सोमलाललाई पटकपटक विद्रोह गर्न पर्ने स्थिति आयो । आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न सोझा जनमानसलाई सिँढी बनाई सत्तामा जाने तर भुइँ मान्छेले संधै सास्ती खेपिरहनुपर्ने बाध्यता कहिले हट्ने हो ? यो कुरा गर्भमा नै छ । माहिला र उनका परिवार जस्तै अन्य गरिव वर्गले जतिसुकै संघर्ष र युद्ध गरे पनि निराश भएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तै प्रवृत्तिको सिकार भएका छन् समग्र थारूहरू । थारू समुदायको परिवेशलाई उपन्यासमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कतै–कतै माहिला थारू र परिवारजनले अश्लील गालीगलोजका शब्द प्रयोग गर्नुले जमिनदारको अत्याचार एवम् परिवारको सचेतना निम्नस्तरको भएको स्पष्टै बुझ्न सकिन्छ ।

‘बुह्रान’ उपन्यास मुख्य तीन खण्डहरू सपना, सङ्घर्ष र स्वाभिमानमा विभाजित छ । उपन्यासले उठाउन खोजेको सपना, संघर्ष र स्वाभिमान सबै समुदायका लागि भएता पनि प्रायः सोझा थारूहरू थोरै थारू जमिनदारहरूबाट त्योभन्दा बढी पहाडी समुदायका जमिनदार र टाठाबाठाहरूबाट नै पीडित थिए जस्तो लाग्छ । हुन त उपन्यासमा पार्वतीले निकै राम्रो भूमिकामा छन् । उनी चलाख भएर पनि इमान्दार भित्र पर्छिन् । उनीभित्रको मानवता निकै मजबुत देखिन्छ । बरघरको ज्यादती अस्वाभाविक देखिन्छ । बोल्न नसक्ने पीडित समुदायले प्रायः आफ्नै भाग्यलाई दोष दिन्छन् । यो सबैभन्दा ठूलो दुर्भाग्य हो ।

समाजमा जगडिएर रहेका करुरीति, कुसंस्कार, अन्याय, अत्यचारका प्रसंग बुह्रानले उठाएको छ । समस्याको उठान दह्रो तरिकाले भएको छ तर समस्याको समाधान प्रगातिवादी दृष्टिकोणबाट दिन सकिन्थ्यो । लेखक प्रगतिवादी दृष्टिकोणबाट समाधान खोज्ने बाटोमा अलि कमजोर देखिन्छन् । हुन त लेखकले समातेका पात्रहरू माहिला र पार्वतीका कथाहरू भुइँमान्छेका कथाहरू नै हुन् । समाजका कमजोर पात्र, कमजोर मनस्थिति बोकेकालाई अब नउठ्नुको विकल्प छैन भन्ने खालको उत्प्रेरणाजन्य सामाजिक स्थिति चित्रण गर्न पाएको भए भन्ने मेरो मनमा लागिरह्यो भने हिमाल, पहाड र तराईका पात्रबाट अगाडि बढेको बुह्रानको कथाले सिङ्गो नेपाल समेट्न खोज्नु निकै सान्दभिक जस्तो लागेको छ । आदिवासी थारू जातिको सामाजिक र सांस्कृतिक परिवर्तनमा केन्द्रित उपन्यास ‘बुह्रान’ थारू समुदायका लागि लेखिएको उपन्यास जस्तो पनि लाग्छ ।

यो उपन्यास थारू समुदायमा झनै बढी पढिनु पथ्र्यो । बुह्रानका गाउँगाउँमा वहस गरिनु पथ्र्यो तर जति हुनु पर्ने हो त्यति अभैm नभए जस्तो लाग्छ । थारू समाजका लेखक तथा बुद्धिजिबीहरूको हातमा नपरेर हो वा यसले उठाएका इस्युहरूमा नजर नपुगेर हो थारू समुदाय मौन जस्तो देखिन्छ । हुन त जति पछि उति महत्व झल्कने विषयवस्तु भएकोले कुनै दिन राम्रै वहस होला आसा गर्ने ठाउँ प्रशस्त छ ।
‘बुह्रान’ नेपाली भाषा साहित्यको उत्कृष्ट पठनीय कृतिको रूपमा चयन भइ विभिन्न संस्थावाट सम्मान पाउँदै आइरहेको छ ।

नेपाली साहित्य जगतमा एक सालिन साहित्यकार ढकालको उपन्यास बुह्रानलाई सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ । देवेन्द्र थुम्केलीले थारू संस्कृति झल्किने आवरण बनाएर सजाइएका छन् भने उपन्यासमा आयुष्मा ढकालले रेखाचित्र कोरेकी छन् । बहु विधामा कलम चलाउने स्रष्टा महानन्द ढकालका आधा दर्जन बढी कृतिहरू प्रकाशित छन् । गजलबाट साहित्यिक यात्रा शुरु गरेका सर्जक ढकाल बाँके जिल्लामा हाइकु पुस्तक प्रकाशन गर्ने पहिलो हाइजिन पनि हुन् । उनका मुक्तक, कविता र चित्रकला शैली पनि उत्तिकै सशक्त छन् । उपन्यास जगतमा फरक पहिचान बोकेको बुह्रानले अझ नयाँ नयाँ रेकर्ड राख्दै जाओस् । पुस्तक तथा लेखकको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।

प्रकाशित मिति : २०८१ मंसिर २ गते आइतबार