नेपालगञ्ज ।
नेपालगन्जमा ६५ करोडको लागतमा पाइप उद्योग स्थापना गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका–१८ मा स्टार पोलिपाइप इन्डस्ट्रिज प्रालिको शनिबार उद्घाटन गरिएको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सो पोलिपाइप उद्योगको उद्घाटन गर्दै निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने बताए ।
उनले स्टार पोलिपाइपलाई लुम्बिनी प्रदेशमा मात्रै नभएर नेपालभर तथा भारतसम्म पनि उत्पादित सामग्रीको बजारीकरण गर्न सक्ने बनाउनुपर्ने विचार व्यक्त गरे ।
प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडीपीई, सीपीभीसी, युपीभीसी, बोरबेल तथा गार्डेन पाइप तथा फिटिङको उत्पादन गर्दै आइरहेको जानकारी दिए ।
कार्कीले बजारमा आर्थिक मन्दी भए पनि स्टार पोलिपाइपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामग्रीको उत्पादन गरिरहेको दाबी गरे ।
कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सीपीसीभी, युपीभीसी पाइप तथा फिटिङहरू उत्पादन गर्दै आइरहेको कम्पनीका बिक्री प्रमुख दिनेशराज विष्टले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्