तेजु भण्डारी ।
नेपालमा विशेष गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी पार्टीलाई नै नेपालका ठूला दलहरू भनेर चिनिन्छ । २०४८ सालयता यिनै ३ पार्टीहरूको वरिपरि हाम्रो देश घुमिरहेको छ । तर देश बनाउँछु र नेपाली जनतालाई विकास र समृद्धिको गुलियो रस चखाउँछु भन्ने दलहरू नै यतिखेर चिनीको चास्नीमा माखा परेझैँ भएका छन् ।
यी पार्टीहरूले जनतालाई यो वा त्यो बहानामा झुक्याएर नेपालको राजनीतिमा सकुनीले कौरबलाई नचाएजस्तै नचाइरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू बारम्बार प्रधानमन्त्री भइरहन्छन् र हुन पनि चाहन्छन् तर केका लागि प्रधानमन्त्री हुने भन्ने कुरा यिनीहरूलाई नै थाहा छैन ।
विकसित देश अमेरिका र बेलायतमा एउटा व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति वा प्रधानमन्त्री हुन चाहँदैन किनकि उसलाई राम्रोसँग थाहा छ कि आठ वर्षमा देशलाई आफूले चाहेजस्तो विकास गर्न सकिन्छ भनेर । नेपालमा एउटै व्यक्ति चार पाँच पटक प्रधानमन्त्रीको कुर्सीमा बस्न चाहन्छ तर उसले एउटा पनि राम्रो काम गरेको देखिँदैन ।
नेपालका प्रधानमन्त्रीहरू राजनीतिको ब्याज खान चाहन्छन् तर देशको विकास गर्ने यिनीहरूको भिजन नै हुँदैन । कसरी आफू र आफ्ना आसेपासेको भविष्य बनाउनेभन्दा भन्दै यिनीहरूको राजनीतिक इहलिला समाप्त हुन्छ । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र केपी ओली चार पाँच पटक प्रधानमन्त्रीको कुर्सीमा बस्दासमेत नेपालको किन विकास हुन सकेन त ? विकास गर्न चाहेको भए नेपाल पनि भारत र चीनजस्तै समृद्ध मुलुक हुने थियो ।
आज भारत र चीन विश्वकै चरम विकसित राष्ट्रमा परिणत भइसके तर नेपाल भने अझै पनि अति कम विकसित देशहरूमा पर्छ । यसमा नेपाली जनताको कुनै दोष छैन । जनताले त राजा फाल्दा पनि, धर्म फाल्दा पनि साथ दिएकै हुन् । तर नेपालका नेताहरू असक्षम भएकै कारण आज नेपाल आमा र नेपाली जनताले दुःख पाउनुपरेको छ । सत्ता फेरिँदैमा र व्यवस्था फेरिँदैमा देश सम्पन्न हुन सक्दैन ।
देश सम्पन्न हुनका लागि त त्यो देशको शासकको सोच परिवर्तन हुनुपर्दछ । नेपालमा दूरदृष्टि र विकासप्रेमी नेता नै छैनन् । सबै नेताहरूलाई कमाउनु परेको छ । हिजो हवाई चप्पल लगाएर हिँड्ने नेताहरू आज करोडौँका गाडी चढ्छन् । आज हाम्रो देशमा एउटा राजा फालेर सात वटा महाराजाहरू भएका छन् । भुरे राजाहरू त गाउँगाउँमा छन नै । सबैलाई आज राजा बन्नु परेको छ ।
राजाले जस्तै फेसन गर्नुपरेको छ । राजामा त बरु देशभक्ति थियो तर यी नेताहरूमा त देशभक्ति पनि छैन । विश्वको एकमात्र हिन्दु राष्ट्र थियो नेपाल । विश्वका पर्यटकहरू हिन्दु राष्ट्र र हिन्दू सम्राटलाई हेर्न र देख्न चाहन्थे तर आज त्यो पनि नेपालमा छैन । नेपालको पहिचान मेटाउन नेपालकै नेताहरू तँछाड र मछाड गरिरहेका छन् ।
आज करोडौँ नेपालीहरू बिदेसिनुपरेको छ । कोही कामको खोजीमा त कोही अध्ययनको सिलसिलामा बिदेसिन बाध्य पारिएका छन् । नेताहरूलाई त केवल पैसा र पहँुच चाहिएको छ, जनता चाहिएकै छैन । नेपालका नेताहरूले भाषण गर्न मात्र जानेका छन् । कोही रेल ल्याउँछौँ भन्छन् ।कोही पानी जहाज चलाउँछौँ भन्छन् । कोही नेताहरू यो देशलाई स्विट्जरल्यान्ड बनाउँछु भन्छन् तर हामी जनता यिनीहरूका हावा गफ पत्याएर मख्ख पर्छौं । समुद्र नै नभएको देशमा पानी जहाज किन चाहियो ?
पानी जहाज त समुद्रमा चल्ने साधन हो नि तर हामीहरू नेताले जे भने पनि पत्याउँछौँ । झूटो आश्वासन दिन नेकपा माओवादीका नेताहरू पनि कमी छैनन् । यी जमिन्दारका खेत र सहरका ठूला–ठूला घरहरू जनताका हुनेछन् भनेर दश वर्ष नेपालमा जनयुद्ध चलाएकै हुन् तर जब उनीहरू सरकारमा गए ती भाषण गरेका कुराहरू सबै बिर्सिए । आज माओवादी छापामारहरू सबै मजदुरी गर्न कालापहाड र मलेसिया जानुपरेको छ । प्रचण्ड र बाबुराम भने प्रधानमन्त्री पनि भए ।
काठमाडौँमा आलिशान घर बनाएर बसेकै छन् । बाबुराम भट्टराईको त अचेल नाम पनि आउँदैन । उनको त राजनीतिक भविष्य नै सकिएको छ । शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई भने अझै पनि नेपाली जनताले महाराजा बनाएकै छन् र जय जयकार पनि गरिरहेकै छन् । यी तीनै राजाहरू जनतालाई उल्लु बनाएर शासन सत्तामा बसिरहेकै छन् । यी तीन राजाहरूलाई फाल्न नेपाली जनताले फेरि पनि जनआन्दोलन गर्नुपर्ने बेला भएको छ । राजा वीरेन्द्र र ज्ञानेन्द्रलाई फाल्न सक्ने जनताले एक दिन यी शेरबहादुर, केपी ओली र प्रचण्ड राजालाई पनि फाल्ने नै छन् । यी तीनै राजाहरूलाई नफालेसम्म यो देशको विकास हुनेवाला पनि छैन ।
यी राजाहरूले गरेको काम भनेकै ओम्नी काण्ड, बाइडबडी काण्ड, ललिता निवास काण्ड र गिरी बन्धु टि स्टेट त हुन् । राम्रो काम त यिनीहरूले जानेकै छैनन् । राजा महेन्द्रले बनाएको महेन्द्र राजमार्ग अझै बिस्तार हुन सकेको छैन । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको अन्तर्राष्ट्रिय बिमानस्थल अझै राम्रोसँग सञ्चालनमा आएको छैन । यो देशमा एउटा राम्रो रंगशाला छैन । पहाडमा अझै खोलामा पूल छैनन् । औषधी पसलमा सिटामोल पाइँदैन । जनता शिक्षा, स्वास्थ्य र सञ्चारको सुविधाबाट वञ्चित छन् ।
काठमाडौँमा बसेर पहाड र दुर्गम गाउँको सपना देखेर मात्र हुँदैन । गाउँको विकास गर्न त गाउँमा नै पुग्नुपर्छ । २०७६ सालमै रेल आउँछ भन्दै थिए एक जना नेपालका प्रधानमन्त्रीले । गफ गर्न पनि कति जानेका हुन् ? होसमा बोल्छन् कि बेहोसीमा बोल्छन् ! पानी जहाज आउँछ भनेको पनि धेरै वर्ष भइसक्यो । हिजो पन्चेहरूले खाए भन्नेहरू नै आज पन्चेभन्दा ठूला महान भएका छन् । देश आज मारवाडीहरूको इशारामा चलेको छ । बैंकहरू सबै मारवाडीहरूका । उद्योग सबै मारवाडीहरूका ।
सरकार पनि मारवाडीहरूकै इशारा चलेको छ । हाम्रो देशका नेताहरूलाई पैसा भए पुग्छ । जनता त भोट हाल्ने बेलामा मात्र चाहिन्छ । नेपालका राजनीतिक दलका कार्यकर्ताहरू पनि सबै झोले जस्तै छन् । नेताले गधालाई गाई हो भन्यो भने सबै कार्यकर्ताले ठिक हो भन्छन् । विवेक भन्ने कुरा शून्य भएको छ । कार्यकर्ता पनि ठिक छैनन् । सबैलाई भागबण्डा चाहिएको छ । देश कसैलाई चाहिएको छैन ।
नेकपा माओवादी पार्टीले नेपालमा केही गर्छ कि भन्ने नेपाली जनतालाई धेरै आशा थियो तर प्रचण्डले त्यो पनि पानीमा मिलाइदिए । प्रचण्ड कहिले कांग्रेसको र कहिले एमालेको पुच्छर बन्दैमा ठिक्क छ । उनलाई पनि जनताभन्दा कुर्ची नै प्यारो भइसकेको छ । उनका जनयुद्धका सहयोगी बाबुराम, बैद्य, विप्लव, बादल कोही चाहिएको छैन । सत्ता र पद नै भए उनलाई पुग्छ । बिचरा जनताका छोराछोरी कोही टुहुरा भए ।
कोही अपांग भए । देश भड्खालोमा जाओस् उनी सधैँ कुर्सीमै बस्न चाहन्छन् । त्यो पनि कांग्रेस र एमालेको दया र मायाले । अब यो देशमा एउटा जंगबहादुर चाहिएको छ । समय हो कहिले सासूको पालो कहिले बुहारीको पालो । हेरौँ रवि, बालेन र गोपी हमालजस्ता नेपाली आमाका सपुतले केही गर्छन् कि ?रण यही मंसिर २२ गते शनिबार हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्