स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका छन् ।
मिसन संवाददाता । कोहलपुर ।
पश्चिम तराईका थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।
थारू समुदायका धेरै व्यक्तिमा सिकलसेलको समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको थिएन । ‘भेरी अस्पतालमा सिकलसेल एनिमियाका बिरामीको उपचार त हुँदै आएको थियो,’ भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. राजन पाण्डेले भने, ‘तर उनीहरूका लागि डेडिकेटेड छुट्टै वार्डको व्यवस्था थिएन । पिक सिजनमा सिकलसेलका बिरामीले उपचार पनि नपाउने अवस्था थियो ।’ छुट्टै वार्डको व्यवस्थाले यस्ता बिरामीलाई धेरै राहत मिल्ने डा. पाण्डेको भनाइ छ ।
विगतमा आफूहरूले निरन्तर पहल गर्दै आएको भए पनि छुट्टै वार्डको स्थापना हुन नसकेको तर यसपटक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुबेदीको पहलमा भेरीमा सिकलसेलका लागि छुट्टै वार्ड स्थापनाको निर्णय भएकोमा उनले खुसी व्यक्त गरे ।
वार्डको स्थापना गरी भेरी अस्पताल नेपालगन्जमा हेमोग्लोबिनोप्याथी वार्डसमेत स्थापना गर्ने निर्णय गरिएको छ । भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुबेदीले अस्पतालको इनिसिएसनमा नै छुट्टै वार्ड स्थापनाको निर्णय हुन सकेको बताए ।
‘निकै अघिदेखि नै यसका लागि पहल हुँदै आएको थियो,’ मेसु डा. सुबेदीले मिसन टुडेसँग भने, ‘यसपटक मन्त्रीज्यू पनि सकारात्मक भएपछि निर्णय भएको छ, अब सिकलसेलका बिरामीको उपचारमा धेरै सहजता आउनेछ ।’
मेसु डा. सुबेदीले आगामी मंसिरदेखि नै हालको मेडिकल वार्ड रहेको स्थानमा सिकलसेलको छुट्टै वार्ड स्थापना गरेर सेवा सञ्चालन गरिने जानकारी दिए । उनले सिकलसेल वार्ड सञ्चालनका लागि केही जनशक्ति अभाव भए पनि अन्य कुराको व्यवस्था अस्पतालले गर्ने बताए । ‘अलिकति मिडिल मेनपावर (नर्सिङ)को अभाव हुने देखिन्छ,’ मेसु डा. सुबेदीले मिसन टुडेसँग कुरा गर्दै भने, ‘त्यो पनि मन्त्रीज्यूले पूरा गर्ने वचन दिनुभएको छ । पूर्वतयारी र योजनाअन्तर्गत नै यो निर्णय भएको हो ।’
थारू समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा छुट्टै वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाबाट यो समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडा छ ।
पश्चिम तराइको बाँके, बर्दिया, कैलाली कन्चनपुरलगायतका भू—भागमा बसोबास गर्ने थारू समुदायका नागरिकहरू सिकलसेल एनिमियाबाट बढी प्रभावित पाइएको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाबमोजिम सिकलसेल एनिमियाका बिरामीहरूलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्क आदिका लागि १ लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्