बेमौसमी वर्षाले काटेको धानमा क्षति



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका–६ का किसान जयपाल मौर्यको करिब ४० कठ्ठा जमिनमा काटेर राखेको धान सोमबार साँझ भएको वर्षातका कारण भिजेको छ ।

उनले अधिकांश धान भित्र्याइसके पनि उक्त धान भित्र्याउने तयारी रहेका बेला अचानक परेको पानीले भिजाइदिएको बताए । ‘धान भएको खेतमा पानी जमेको छ । निकास गरौँ भने वरिपरि अरू किसानको धान पनि त्यसैगरी डुबेको छ । त्यसैले किसानहरू मोटर लगाएर निकास गर्न सुरु गरेका छौँ,’ मौर्यले भने ।

मौर्यकै छिमेकी दीपक धोबीको धान काटेर सुकाउन राखेको खेतमा पानी जम्मा भएको छ । स्थानीय किसानले करिब ६० प्रतिशत धान भित्र्याइसके पनि करिब ४० प्रतिशत ढिलो पाक्ने धान भित्र्याउन लागेका बेला भिजाएको मौर्यको भनाइ छ ।

पानीले भित्र्याउन लागेको धानबाली भिजाएको मात्रै छैन, आलु र हिउँदे बालीलाई पनि नोक्सानी गर्ने देखिएको छ । मौर्य भन्छन्, ‘मैले ४० कठ्ठामा लगाएको आलु खेती पानी परेर भिजेपछि अब आलुको बीउ कुहिन्छ कि भन्ने चिन्ता थपिएको छ ।’ सोमबार परेको पानीले पानी जम्ने खेतमा गहुँबाली लगाउन माटोमा उपयुक्त चिस्यान हुन करिब २० दिन ढिलो हुने देखिएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे पनि अधिकांश किसानले धान भित्र्याइसके पनि ढिलो पाक्ने र ढिलो रोपाइँ भएका ठाउँको धान भित्र्याउने बेला पानीले भिजाएको जानकारी आएको बताएका छन् । पानीले गरेको क्षतिका बारेमा विवरण स्थानीय तहसँग माग भएको र बुधबारसम्म क्षतिको विवरण आउनसक्ने घिमिरेले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार अपरान्ह ५ बजेर ४५ मिनेटमा बितेको २४ घन्टामा भएको वर्षाको मापनअनुसार नेपालगन्जमा ३१ दशमलव ४ मिलिमिटर पानी परेको थियो । जुन उक्त अवधिमा देशभर दोस्रो धेरै वर्षा भएको अवस्था हो । वर्षा हुने सम्भावनाका विषयमा महाशाखाले कात्तिक १८ गतेको बुलेटिनमा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पुर्वानुमान गरी सार्वजनिक पनि गरेको थियो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख घिमिरे पनि नेपालगन्जको दक्षिणी क्षेत्र, डुडुवा र राप्तीसोनारीको फत्तेपुर क्षेत्रमा तुलनात्मक रूपमा बढी पानी परेको जानकारीमा आएको बताउँछन् । यी क्षेत्रमा पनि अधिकांश धान कटान भइसकेकाले बढी क्षति हुनबाट जोगिएको घिमिरेले बताए ।

अन्य क्षेत्रमा छिटपुट वर्षा भए पनि बढी क्षति हुन नपाएको घिमिरेले बताए । बाँकेको खजुरा गाउँपालिका–७ स्थित पुनर्वास कृषक तरकारी उत्पादक सहकारी संस्थाकी अध्यक्ष खीमा कँडेलले पनि उक्त क्षेत्रमा छिटपुट वर्षा भएर धान भिजाएपनि धेरै क्षति नभएको बताइन् ।

नेपालगन्जमा धान खरिद सुरु 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले मंगलबारबाट धान खरिद सुरु गरेको छ । कार्यालयका प्रमुख रामशरण लामिछानेले मंगलबार पहिलो दिन दुई जना किसानबाट १ सय १२ क्विन्टल धान खरिद गरिएको जानकारी दिए । सम्बन्धित वडा कार्यालयले दिएको सिफारिसका आधारमा धान खरिद गर्न सुरु गरिएको उनको भनाइ छ ।

सोमबारसम्म सरकारी कार्यालयहरू बन्द रहेको कारणले सबै किसानले सिफारिस बनाउन नभ्याएका कारण पहिलो दिन अपेक्षाकृतरूपमा धान नआइपुगेको कार्यालय प्रमुख लामिछानेले बताए । आज बुधबारबाट धान बेच्न आउने किसानको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उनले बताए ।

यस वर्ष खाद्यको नेपालगन्ज शाखालाई ४० हजार क्विन्टल धान खरिदको लक्ष्य दिइएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि सरकारले मोटा धानको ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा प्रतिक्विन्टल समर्थन मूल्य तोकेको छ ।

 

प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार