बाँके ।
नेपाली महिला फुटबल टोलीकी खेलाडी पूजा रानालाई गृहनगर कोहलपुरमा नगदसहित सम्मान गरिएको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी रानालाई मंगलबार कोहलपुर नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
केही दिनअघि काठमाडौँमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोहलपुर नगरपालिकाले सम्मान गरेको थियो ।
महिला फुटबल टोलीकी सदस्य रानालाई नगरपालिकाले नगद ५१ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेको थियो । साफ महिला च्याम्पियनसिपमा रानाले गरेको प्रदर्शनलाई उच्च सम्मान गर्दै कोहलपुर निवासी रानालाई नगदसहित सम्मान गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
‘कोहलपुरबाट उत्पादन भएका खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरू समेत खेल्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो,’ उनले सम्मान कार्यक्रममा बोल्दै भने, ‘उहाँको उपलब्धि र योगदानको कदर मात्रै हामीले अहिले गरेका हौँ ।’
खेलाडी राष्ट्रको पहिचान र गहनाका रूपमा रहेको भन्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिका खेलाडी उत्पादन र प्रवद्र्धनमा निरन्तर सक्रिय रहेको बताएका थिए ।
नगरपालिका स्तरमा स्कुल, वडा र गोल्ड कप जस्ता प्रतियोगिताहरू नियमित आयोजना गर्दै खेलाडीको विकास र आत्मबल बढाउन प्रयत्नशील रहेको उनले दाबी गरे । बङ्गलादेशसँगको प्रतिस्पर्धामा पराजित हुँदै नेपाली टोली उपविजेता बनेको थियो । कार्यक्रममा नगर उपप्रमुख संगीता सुबेदी, वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्रकुमार शाहलगायतले रानाको आगामी खेल जीवनको शुभकामना व्यक्त गरेका थिए ।
उनीहरूले रानालाई सम्मान गर्न पाउँदा कोहलपुर नगरपालिका गर्वित भएको भन्दै स्थानीय स्तरमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । नगरपालिकाले समेत खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनीहरूले खेलाडी रानाले सम्मानबाट थप प्रोत्साहन मिलेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्