नेपालगन्जमा यसरी एकअर्काको चाडबाडमा सहभागी हुने उदाहरणहरू प्रशस्त पाइने गरेका छन् । धार्मिक सद्भावको नमुनाका रूपमा लिइने यस्ता उदाहरणले धार्मिक भेदभाव निम्त्याउन चाहने र विद्धेष फैलाउन खोज्नेहरूलाई सकारात्मक सन्देश दिने गरेको सामाजिक अगुवाहरू बताउँछन् ।
नेपालगन्ज ।
नेपालगन्जका प्रवेज अलि सिद्धिकीले दुईजना दिदी बहिनीसँग आइतबार तिहारको भाईटीका लगाए । मुस्लिम समुदायका सिद्धिकीले दिदी माया थापा र बहिनी मिना तुलाधरसँग टीका लगाउन थालेको दुई दशकभन्दा बढी भइसकेको छ । ‘दिदीसँग लगाउन थालेको त २५ वर्षजति भइसक्यो होला । बहिनीसँग पनि २० वर्षजति पुग्यो कि जस्तो लाग्छ,’ सिद्धिकीले मिसन टुडेसँग भने ।
आफूहरूको भाई बहिनीको सम्बन्ध सामाजिक काम गर्दाकै शिलशिलामा जोडिएको सिद्धिकीको भनाइ छ । दसैँ र तिहारमा टीका लगाउनु आफ्नै धार्मिक चाड मनाएभन्दा फरक अनुभूति नहुने गरेको उनले बताए । उनी भाइटीकाले बढाउने आत्मियता र उमंगका यसरी दसैँतिहार मनाएको देखेर सामाजिकरूपमा सकारात्मक र सद्भावको सन्देश गएकोमा खुसी महसुस हुने गरेको बताउँछन् ।
यसैगरी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका अब्दुल वाहिद मन्सुरीले पनि दुईजना हिन्दु धर्मावलम्बी दिदीबहिनीसँग भाइटीका लगाएका छन् । उनले पनि आफ्ना लागि यसरी तिहार मनाउनु असामान्य हो भन्ने महसुस नै नहुने गरेको बताउँछन् ।
दुवै परिवारमा पनि यो अर्काको घरपरिवार हो भन्ने महसुस नै नहुने गरेको उनको भनाइ छ । ‘म त हरेक दसैँमा घरमा गएर टीका थाप्छुँ । तिहारमा दिदीबहिनीसँग लगाउँछु । उहाँहरू पनि इदमा यता घरमा आउनुहुन्छ । इदगाहमा पुगेर सहभागी हुनुहुन्छ । हाम्रा लागि यो असामान्य जस्तो केही छैन,’ मिसन टुडेसँग मन्सुरीले भने ।
नेपालगन्जमा यसरी एकअर्काको चाडबाडमा सहभागी हुने उदाहरणहरू प्रशस्त पाइने गरेका छन् ।
धार्मिक सद्भावको नमुनाका रूपमा लिइने यस्ता उदाहरणले धार्मिक भेदभाव निम्त्याउन चाहने र विद्धेष फैलाउन खोज्नेहरूलाई सकारात्मक सन्देश दिने गरेको सामाजिक अगुवाहरू बताउँछन् । प्रायः सामाजिक अगुवाहरू एकअर्काका धार्मिक पर्वहरूमा सहभागी भएर सद्भावको सन्देश दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्