मधेसका खेतिपाती, इनार, बगैँचा, खोलानाला, जङ्गल, लडिया, गोठ, गाईबस्तु, घ्यू, ठेका, मदानी, ढिकी, जाँतो, आगो, अगेना आदिका प्रयोग गर्दाका जीवन संघर्ष र समाजमा पारेको प्रभावलाई अध्ययनसँगै नजिकैबाट अनुभूति गर्न सकिन्छ । धुरिया पूजा, हरेरी पूजा, सुंगुरको छेकना, पानी गुहार्ने आदि थारू समुदायका चलनका बारेमा पढ्दा त्यो समाजमा हुर्केकाले एउटा स्वाद र फरक समाजकाले अर्कै स्वाद लिने नै छन् ।
बद्री ढकाल ‘हीरामणि’ ।
उहिले त बाजेको पालामा मोहोर गन्थे डालामा
अहिले त हाम्रो पालामा मकै छैन डालामा
लाली चढ्यो क्या मालुम तिम्रो गालामा
ठीक देख्दिनँ क्या मालुम तिम्रो चालामा
माथि उद्धृत गरिएको गीतको अंश कुनै चलचित्रको हो । समाजमा यो गीतले भनेजस्तै हुन लागेको पनि दशकौँ भैसक्यो । ऊ बेलाका बाजे पुस्ता अहिलेका नयाँ नाति पुस्ताका लागि जिजुबाजे भइसके ।
आजभोलिको प्राविधियुक्त समयमा १० वर्षको अवधिमा पनि धेरै नै परिवर्तन हुने रहेछ । २० वर्षअघिका काम कुराको प्रसंग निकाल्दा हो कि होइन जस्तो लाग्दो रहेछ । हेर्दाहेर्दै आफ्नै विगतबाट अपत्यारिलो इतिहास बन्दै गरेको आँखाले प्रत्यक्ष देख्न पाइँदो रहेछ । यस्ता हाम्रा कैयन इतिहासहरू नेपाली साहित्यभित्र पनि लुकेर रहेका हुन्छन् । सबैजसो पुस्तकमा लेखिने कुरा विगतकै हुन्छ । अझ साहित्य खुराकको मुख्य आधार नै हिजो अस्तिका घटनाहरू नै हुन् ।
नेपाली साहित्यअन्तर्गत रहेका निबन्ध, नाटक, कविता र आख्यानमध्ये आख्यान विधाअन्तर्गत कथा र उपन्यास पाठकका बढी रूचि राख्ने विधामा पर्छन् । धेरै अध्याय र खण्डहरूमा लेखिने लामो साहित्यिक कथालाई उपन्यास मान्न सकिन्छ । उपन्यास एक प्रकारको चरित्र प्रधान गद्य महाकाव्य हो । कथा बस्तु, चरित्र, संवाद, परिवेश, भाषाशैली, उद्देश्य, दृष्टिविन्दु आदि समेटेर मिठासपूर्ण ढंगले लेख्ने गरिन्छ उपन्यास । उपन्यास लेख्ने लेखकलाई उपन्यासकार भनिन्छ ।
पछिल्लो समय पाठक बजार क्षेत्रलाई निकै गरम बनाउन सफल उपन्यासको नाम हो, ‘मोहोर’ । तीन दशकभन्दा लामो समय साहित्य लेखनमा बिताएका, कैयौँ पत्रपत्रिकाका नियमित स्तम्भ लेखक, संस्मरण तथा नियात्रा लेखनमा चर्चित साहित्यकारको नाम हो, सागर गैरे । उपन्यास ‘मोहोर’ पढ्दैगर्दा मेरो पाठकीय दृष्टिले अनुभूत गरेका विषयवस्तुलाई समेटेर यहाँ एउटा छोटो परिचर्चा गर्ने प्रयास गरेको छु ।
साहित्यिक कृतिका हिसाबले सागर गैरेको तेस्रो कृति हो, ‘मोहोर’ । उपन्यास विधाका हिसाबले यो उनको पहिलो कृति हो । यसअघिका उनका कृतिहरू ‘लकडाउन’ र ‘बलैगाँउदेखि बाकुसम्म’ रहेका छन् । सुरुको कृति संस्मरण हो भने दोस्रो नियात्रा हो । सबै कृतिहरू राम्रा छन् र पनि मिहिनेत, लेखाइ र विषयबस्तुका हिसाबले उनका कृतिहरूमध्ये ‘मोहोर’लाई मैले अहिलेसम्मकै विशेष महत्वको दस्तावेज ठानेको छु ।
‘भन्छन्– सबैभन्दा नजिक को छ भनेर थाहा पाउन, सबैभन्दा टाढा पुग्नुपर्छ’ भन्ने लेखनीबाट सुरु भएको पुस्तकमा लेखकले चारवटा पेजमा भूमिका बाँधेका छन् । लेखनीको सुरुवातमा कुनै पनि शीर्षक छैन । यसमा लेखकले निकै सरल एवम् मिठासपूर्ण भाषामा बुबाप्रति छोराको प्रेमभाव र बाबुले देखाएको कार्य सजगतालाई रोचक ढंगले प्रस्तुत गरेका छन् । गजबको प्रसङ्गबाट ‘चौरासी पूजा’ नामको शीर्षक सुरु भएको उपन्यासमा विभिन्न शीर्षकहरू राखेर लेखकले उपन्यासमा नयाँ किसिमको प्रयोग गर्न खोजेको देखिन्छ ।
उपन्यासको विषयबस्तु पेज नम्बर ५ देखि ३१२ नम्बरसम्म अर्थात् १५४ वटा पानामा अटेका छन् । एउटा खाली पानासहित ४ पाना र बाहिरी गातालाई समेतको हिसाब निकाल्दा पूरा पुस्तक जम्मा १६० पानामा सकिएको छ । माया पब्लिकेसन काठमाडौँले प्रकाशनमा ल्याएको यो पुस्तक ‘ए ५’ को आकारमा छापिएको छ । बाहिरबाट हेर्दा खैरो–सुनौलो रंगमा चिटिक्क आकर्षक देखिन्छ ।
बा, आमा र सम्पूर्ण पूर्खाहरूमा समर्पण गरिएको यो पुस्तकको आवरणमा लेखकका बुबाको तस्बिरलाई मोहोर डलरभित्र कलात्मक ढंगले सजाई कलाकार रसिक राजले जीवन्त चित्र बनाई राम्रैसँग न्याय गरेका छन् । बुबाले भनेकै आधारमा नदेखिएको, नभोगिएको विषयबस्तुलाई पाठकहरूको मनमा लामो छाप छोड्न सक्नेगरी पाठकसामु उपन्यास पस्कन सक्नु नै लेखकको ठूलो सफलता हो ।
‘मोहोर’ उपन्यास सागर गैरेका बुबाको घरको कहानी मात्र हुँदै होइन यो त हाम्रा समाजमा रहेका हजारौँ बुबाहरू र उहाँहरूले भोगेको समाजको यथार्थ चित्रण हो । यो उपन्यास एउटा सामान्य नागरिकले चौरासी वर्षसम्म घर समाजमा भोगेका घटनाहरूको दस्तावेज हो । त्यसैले यसलाई सामाजिक र पारिवारिक दुवै उपन्यासका रूपमा लिन सकिन्छ ।
यो उपन्यासभित्र सयौँ वर्षअघि गण्डकी र लुम्बिनी क्षेत्रभित्र समाज विकास कसरी भयो भन्ने नालीबेली पनि पढ्न पाइन्छ । त्यसैले यसलाई इतिहासजन्य उपन्यास पनि मान्न सकिन्छ । यो सारा समाज मोहोर पैसामा अडिएको छ । ऊ बेला जस्तो एक मोहोरले डालाका डाला मकै, कोदो खरिद गर्न नसकिएला तर दुई मोहोर नभएसम्म त १ रुपैयाँ हुने कुरा थिएन । डलर सिक्का नभएसम्म पूजाआजा नै हुँदैनथ्यो भने पनि हुन्छ । अझै त सिक्का खोज्न कति हैरान छ ।
चौरासी पूजामा तुलादान गर्दा यिनै सिक्का खोज्न दौडधुप हुन्छ । १००८ चन्द्र दर्शन गरी चौरासी पूजा लगाइसकेपछि लेखकका बुबाले भनेको वाक्य ‘आज म धन्य भएँ, मेरो जीवनको अन्तिम इच्छा पूरा भयो’ भन्ने वाक्यले यो प्रष्ट पार्दछ कि जीवन कति संघर्षमय छ, कति ऊर्जाशील छ ।
एउटा लामो लक्ष्य राखेर विश्वासका साथ जीवनमा सचेततापूर्वक, ध्यानपूर्वक आफ्ना कर्तव्यहरू निभाउन सक्यो भने ठाउँ छोड्न पर्ला तर लक्ष्य छोड्नु पर्दैन भन्ने गज्जबको सन्देश उपन्यासले दिएको छ । पारिवारिक मेलमिलाप, प्रगति र सुरक्षाकै कारण देखाई पूर्खाले आफ्नो थाकथलो चाहे जुम्लाको खसराज्य वा अन्य कुनै ठाँउ छोडेका हुन्छन् ।
यस उपन्यासमा पनि बाहुन र मगरको मिश्रित सुन्दर बस्ती गरनडाँडाको औधी माया लाग्दालाग्दै पनि अनेक परिस्थितिले लेखकको परिवारले ठाउँ छोड्न परेको जटिल परिस्थितिलाई सजिलै बुझ्न सकिन्छ । कर्म गरे जुन माटो पनि आफ्नो हुन्छ । दूरी जति लामो भए पनि गन्तव्य पुग्ने पैतालाहरूले नै हो । यस्तै–यस्तै सोचेर पितापूर्खाले बनाएको आफैँ हुर्केको ठाउँलाई छोड्दै चित्त बुझाएका छन् उपन्यासका नायकले ।
बेँसी खेतको तिरो उठाउने जिम्बाल, घरबारी र खरबारीको तिरो उठाउने मुखियाका कहानी छन् उपन्यासमा । पैसा बोक्नका लागि बनाइएका छालाका ‘तोडा’का बारेमा लेखिएको छ । रोपाइँका समयमा गाइने ओहालीका बारेमा अहिले र पछिल्लो पुस्ताले थाहा पाउँदा कति आनन्द आउला ! आमाको अनुहार सम्झन नसक्दाको पीडा, बाल्यकालमा बुबा आमा, हजुरबुबाको माया नपाउँदाको छटपटीलाई पढ्दा सबैको मन पग्लन्छ । सबैको आँखा अवश्य रसाउँछन् । यतिसम्म कहालीलाग्दो जीवन र मरण, आशा र संघर्ष हुने रहेछ भनी लेखिएको कुरा आजभोलिको सहरीया पिँढीले नपत्याउन सक्छ ।
पुस्तक पढ्दै जाँदा बाजे, बज्यै र नातिनातिनीबीच भएको माया ममाता, ज्ञान सीपको हस्तान्तरण पहिलेजस्तो अहिले किन छैन ? भन्ने प्रश्न आफैँलाई गर्न मन लाग्छ । उपन्यासका नायक ३ वर्षको हुँदा उनकी आमा, ७ वर्षको हुँदा बुबा र १० वर्षको हुँदा हजुरबुबा परलोकमा गएपछि पूर्ण रूपमा टुहुरो भएको अवस्था थियो ।
त्यस्तो बेलामा पनि जीवन कसरी धानेर अहिलेको सम्पन्नशाली परिवार बन्यो होला ! यो नाटकीय लाग्न सक्ने उपलब्धिका लागि के कस्ता जटिल परिस्थिति आए ? के कस्ता संघर्ष गर्नुप¥यो ? भन्ने कुरा लेखकले मर्मस्पर्शी ढंगले प्रस्तुत गरेका छन् । ११ वर्षकै उमेरमा भएको बिहे कस्तो थियो होला ? २ वटा बच्चा खेर जानुका साथै पछि श्रीमती नै अकालमा मर्नुपर्ने अवस्थाको पीडा सुनिनसक्नु छ ।
समाजको रीतिरिवाज, काजकिरिया पनि उस्तै अप्ठ्यारो थियो । दुलाहा जाँदै नगई बिहे छिनेर आउने यथार्थ चलन उपन्यासमा जीवन्त प्रस्तुत गरिएको छ । लेखाइमा कुनै बनावटी भएजस्तो लाग्दैन । विषयबस्तु सललल बगेर गएको छ । साहुहरूले उधारो पैसा उठाउन पठाइने व्यक्तिलाई प्यादो भनिने रहेछ । यो प्रसंग पनि निकै रोचक छ ।
ज्योतिषको सल्लाह सुझावलाई महत्व दिँदै रुकालाई उनका बाबुले बिधुर पुरुषसँग अर्थात् लेखकका बुबासँग बिहे गरेको प्रसंगले ऊ बेलाको समाजले महिलालाई हेर्ने दृष्टिकोण के छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
सन्तान नहुनेलाई अपुतो भनी असाध्यै हेयका दृष्टिले हेर्ने गरेको प्रसंग र भाकलसँग जोडिएका कुरा पढ्दा रोचक लाग्छन् । सत्यवती मन्दिरमा चिच्याइचिच्याई ‘मलाई एउटा छोरो चाहियो’ भनेको वा भैरवथानमा ‘छोरो पाऊँ, रोट चढाउँला’ भनी गरेका भाकल सुन्दा त्यतिबेलाको समाज अन्धविश्वासमा कसरी जकडिएको थियो भन्ने छर्लङ्ग हुन्छ ।
‘राम्दी पुल तरने बित्तिकै
बाँचे भेट मरे त यत्तिकै’
जस्ता विभिन्न ठाउँ, मन्दिर, खोला, चाडपर्व आदिका गीतहरू र प्रसङ्गले उबेलाको समाजको साहित्य संगीतप्रतिको रुचि सजिलै बुझ्न सकिन्छ । ठाउँको महत्व बढाउने मानिसले नै हो । पहाडबाट नुन बोक्न बटौली जाँदाका ढाक्रेका प्रसंग, पितृका नाममा बाला चतुर्दशीमा सदबिज छर्न काठमाडौँ (नेपाल)जाँदाको प्रसंग निकै रोचक ढंगले प्रस्तुत भएको छ ।
मिसन अस्पतालको कुरा होस् कि रानीमहल, रानीघाटको कुरा होस् वा रिरीबाजाको कुरा सबै पढ्दै जाँदा मज्जा आउँछ । दसैँका पिङका लागि साँचेर राखेको बाबियो, पिर्का, कागजका नयाँ नोट, गण्डकी तर्दाको भाडा एक पाथी अन्न, कटुवालको घोक, तिहारका तोरन, झाम्रे गीत, दोहोरी आदिका घटनासँग जोडिएका प्रसंग पढ्दा आफैँ हराएर उही समयमा फर्किन्छ । भूत, काकाकुल आदिका लोक व्याख्या, अनौठा र मनोवैज्ञानिक डर दिने खालका प्रसंग राम्रैसँग उठाइएको छ ।
लाहुरे हुने, घडी बाँध्ने, रेडियो किन्ने, जुत्ता लाउने, लडिया चढ्ने, घुम्न जाने, मेला जाने, मामाघर जानेजस्ता कैयौँ रहरहरू पढ्दा लाग्छ जीवन ससाना प्राप्तिमै निकै खुसी हुन्छ । अहिलेको जस्तो घरले धान्नै नसक्ने ऋण बोक्ने रहरले मानिसहरू धेरै निराश हुनुपर्दैन । समय आएपछि सबै फलिफाप हुन्छ भन्ने तोरे ज्योतिषी, पाले पाल नपाले नपाल तँ भाइको छोरा होस् भन्ने ठूलाबाका संघर्ष पढ्नलायक छन् ।
तोरे ज्योतिषले सुनाएको कथाअनुसार खिर पोखिएको ठाउँ मधेसका खेतिपाती, इनार, बगैँचा, खोलानाला, जङ्गल, लडिया, गोठ, गाईबस्तु, घ्यू, ठेका, मदानी, ढिकी, जाँतो, आगो, अगेना आदिका प्रयोग गर्दाका जीवन संघर्ष र समाजमा पारेको प्रभावलाई अध्ययनसँगै नजिकैबाट अनुभूति गर्न सकिन्छ । धुरिया पूजा, हरेरी पूजा, सुंगुरको छेकना, पानी गुहार्ने आदि थारू समुदायका चलनका बारेमा पढ्दा त्यो समाजमा हुर्केकाले एउटा स्वाद र फरक समाजकाले अर्कै स्वाद लिने नै छन् ।
गाउँका गैरेमामा बजार आउन नमान्नुको खास कारण बुझ्न उनको जीवन भोगाइ सुन्नैपर्छ, पढ्नै पर्छ । घरमूलीले बाटो बिराउने छुट हुँदैन भन्ने मान्यता राख्ने गैरेमामा मिश्रित समाजमा भएका मठ, मन्दिर, बैठक, मर्दापर्दा आदि सबै कार्यक्रममा के कसरी कस्तो भूमिकामा सक्रिय हुन्थे र चाँडो घुलमिल हुन्थे भन्ने देखाइएको छ ।
एउटा कटहरको रूखको बखान होस् या दारी काट्ने मेसिनको कुरा उत्तिकै चाखलाग्दा छन् । बैद्य, डाक्टरका कुरा गरे पनि, घरकै कान्छीआमाका कुरा वा दार्चुलातिर वा पाल्पातिरका कुरा जहाँका कुरा लेखे पनि त्यो सामाजिक परिवेश जस्ताको तस्तै उतारिएको छ पुस्तकमा भनेर पाका उमेरका पाठकले भन्ने गर्दछन् ।
भूकम्प र कोभिड महामारीले बनाएको थिलो थिलो मन अहिले पनि झस्किरहेको हुनुपर्छ झैँ लाग्छ । जवानीसँग गरेका चुरोट, हुक्का, तासजुवा आदिको अम्मली आदत सकिँदै जाँदा बुढ्यौलीमा मेला महोत्सवले दिन नसकेको रमाइलो आफ्नै विगतका परिवेश सम्झिँदा मात्र पनि आल्लादित हुन्छ भन्ने कुरा पुस्तक लेखन र कथनमा खटिनुभएका गैरे परिवारले पुष्टि गरेको छ ।
यो कृति झ्वाट्ट हेर्दा एक घरको कहानी जस्तो लागे पनि यसले हजारौँ घर परिवारको कहानी बोकेको छ । यसले एक शताब्दी समयको पहाडी तथा तराईबासीको अन्तरजातीय, अन्तरमिलन, अन्तरसंघर्षको चित्रण गर्न सक्ने तागत राख्दछ । २०८१ सालको वर्षायामको समयमा भव्य रूपमा गृह विमोचित भएको, एक बसाइमै पढ्न सकिने यो कृतिको बजार मूल्य ५९५ रुपैयाँ राखिएको छ ।
नेपाली साहित्यअन्तर्गतको उपन्यासरूपी फूलबारीमा एउटा फरक पहिचानको सुन्दर फूल रोप्न सफल साहित्यकार सागर गैरेप्रति समाजले प्रशस्त आशा गर्ने ठाउँ रहेको छ । उनको लेखनीमा अझै बढी निखार आउँदै जाओस् र सफलताले शिखर चुमोस् । हार्दिक शुभकामना !
प्रतिक्रिया दिनुहोस्