प्रविधिको विकास भएसँगै पुराना व्यवसाय हराउँदै गएको अर्का व्यवसायी कृष्ण बादी बताउँछन् । ‘बुबाबाट सिकेको सीप हो, त्यसैलाई निरन्तरता दिँदै आएको थिएँ तर अब बन्द गर्नुपर्ने अवस्था आएको छ । सिजनका बेला ५०–६० वटासम्म मादल बेच्ने गरेकामा अहिले त चार–पाँच वटा बेच्न मुस्किल पर्छ,’ उनले अगाडि भने, ‘पहिले यही व्यवसायबाटै घरखर्च चलाउन र छोराछोरी पढाउन सकिन्थ्यो तर अहिले हिउँदको समयमा भारत जाने र पुर्खाको सीप जोगाउन मात्र सिजनमा बाजा बनाउनुपर्ने बाध्यता छ ।’
कैलाली ।
सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब ६ किलोमिटर पश्चिममा पर्छ बल्चौर ।
लम्कीचुहा नगरपालिका–३, बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल । यहाँ मादल, तबला, दमु, ढोलकी बनाइन्छन् । पछिल्लो समय विभिन्न किसिमका बाजा बनाए पनि बिक्री हुन छाडेपछि खिन्न छन् तीर्थ बादी । पहिले बाजामध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको छ । यसले व्यवसाय नै सङ्कटमा परेको तीर्थ बादी बताउँछन् ।
‘पहिले चाडपर्वमा मादल पु¥याउनै सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन । मगर गाउँका स्थानीय, थारू समुदायले धेरैजसो मादल किन्ने गर्दथे, अहिले पसलमा त आउँदैनन्, गाउँमा लगेर गए पनि किन्न त परै जाओस्, सोध्ने मान्छेसम्म भेटिँदैनन्,’ उनले भने ।
विगतमा यही पेसाबाट छोराछोरीको लालनपालनदेखि पठनपाठन गर्दै आए पनि हाल व्यवसायबाट हातमुख जोड्नसमेत धौ–धौ भएको तीर्थको गुनासो छ । ‘यस पटक पनि २५ वटा मादल बनाएर राखेँ । तीज आएपछि त बिक्री होलान् सोचेको थिएँ तर तीज सकियो, एउटा पनि मादल बिक्री भएको छैन,’ उनले सुनाए ।
प्रविधिको विकास भएसँगै पुराना व्यवसाय हराउँदै गएको अर्का व्यवसायी कृष्ण बादी बताउँछन् । ‘बुबाबाट सिकेको सीप हो, त्यसैलाई निरन्तरता दिँदै आएको थिएँ तर अब बन्द गर्नुपर्ने अवस्था आएको छ ।
सिजनका बेला ५०–६० वटासम्म मादल बेच्ने गरेकामा अहिले त चार–पाँच वटा बेच्न मुस्किल पर्छ,’ उनले अगाडि भने, ‘पहिले यही व्यवसायबाटै घरखर्च चलाउन र छोराछोरी पढाउन सकिन्थ्यो तर अहिले हिउँदको समयमा भारत जाने र पुर्खाको सीप जोगाउन मात्र सिजनमा बाजा बनाउनुपर्ने बाध्यता छ ।’
व्यवसायी रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा सङ्कट आएको बताए । ‘पहिले रत्यौली, तीज, देउसीभैलो, विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रमलगायतमा मादलको अनिवार्य प्रयोग हुने गथ्र्यो तर पछिल्लो समय मादलको सट्टा डिजे प्रयोग हुन्छ । त्यसैले पनि हाम्रो पेसा सङ्कटमा प¥यो,’ उनी भन्छन् ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टीएन जोशी मादल प्रयोग घटेसँगै परम्परागत संस्कृतिमा मौलिकता हराउँदै गएको धारणा राख्छन् । ‘केही दशक पहिले गाउँघरमा थुप्रै मादल बजाउने मान्छे भेटिन्थे तर अहिलेको पुस्तामा मादल बजाउन जान्ने मान्छे मुस्किलले भेटिन्छन्,’ उनी भन्छन्, ‘अब मौलिकता जोगाउन विद्यालयस्तरबाटै मौलिक बाजाको प्रयोग र सिकाइमा जोड दिनुपर्ने आवश्यकता छ ।’
नेपालको राष्ट्रिय बाजाका रूपमा रहेको मादल लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्ने दायित्व सरकारको भएको व्यवसायीको भनाइ छ । व्यवसायी तीर्थ बादी भन्छन्, ‘अब आउने पुस्तालाई यसको महत्वका बारेमा बुझाउनुपर्छ । यो दायित्व सरकारको पनि हो । हामी त पुस्तौँदेखिको पेसा भएकाले माया लागेर पनि यसको संरक्षणमा लागिरहेकै छौँ ।’
प्रतिक्रिया दिनुहोस्