आजदेखि प्रथम बाँसगढी कप खुला फुटबल



बाँसगढी ।

बाँसगढी नगरपालिकामा आज (बिहीबार)देखि प्रथम बाँसगढी कप खुला फुटबल प्रतियोगिता सञ्चालन हुँदै छ । बाँसगढी गाउँ बड्घर संस्थाको आयोजनामा बाँसगढी–५ झरसैलास्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

नेपालीहरूका महत्वपूर्ण पर्व दसैँ, तिहार र छठका अवसरमा खेलकुदका माध्यमले आपसी सद्भाव र भाइचार वृद्धि गर्न यो प्रतियोगिताको आयोजना गरिएको आयोजक बाँसगढी गाउँ बड्घर संस्थाका अध्यक्ष पुनेश्वर थारूले जानकारी दिए ।

यस क्षेत्रका युवाहरूलाई खेलतर्फ आकर्षित गर्न पनि प्रतियोगिताले मुख्य भूमिका निर्वाह गर्ने आशा उनले व्यक्त गरे । एक समारोहका बीच बिहीबार दिउँसो बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले सो प्रतियोगिताको उद्घाटन गर्ने उनले बताए ।

खेलकुुदले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको फुटबल प्रतियोगिताका संयोजक कृष्णबहादुर श्रेष्ठले बताए । प्रतियोगितामा हालसम्म १२ वटा टिमले नाम दर्ता गराइसकेको र टिम दर्ता गर्नेक्रम चलिरहेकाले आज बिहानसम्म डेढ दर्जन समूह पुग्न सक्ने अपेक्षा गरिएको उनले बताए ।

बाँसगढीमा रहेको धौलागिरी सप्लायर्सको मुख्य प्रायोजनमा सो प्रतियोगिता हुन लागेको हो । यस क्षेत्रको खेलकुद विकासमा थोरै भए पनि सकारात्मक योगदान दिने उद्देश्यले आफूहरूले प्रतियोगितामा मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको धौलागिरी सप्लायर्सका सञ्चालक दिलु पौडेलले बताइन् ।

सो प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

सेमिफाइनलपछि हरेक खेलको म्यान अफ द म्याच घोषणा गरिने र आकर्षक पुरस्कारसमेत प्रदान गरिने खेल संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक बाँसगढी गाउँ बड्घर संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार