सडकछेउमा पशुचौपाया नबाँध्न राप्ती सोनारीको आग्रह



कोहलपुर ।

राप्ती सोनारी गाउँपालिकाले सडक किनारामा पशुचौपाया नबाँध्न र निर्माण सामग्री नराख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिका अन्तर्गत पर्ने महेन्द्र राजमार्गलगायतका सडकछेउमा पशु चौपाया बाँध्ने र निर्माण सामग्री थुपार्ने गरेको पाइएकाले तत्काल सो कार्य बन्द गर्न गाउँपालिकाले सूचना जारी गरेको छ ।

सडकछेउमा पशुचौपाया बाँध्दा वा निर्माण सामग्री राख्दा सडक दुर्गन्धित हुने र दुर्घटना बढेको भन्दै गाउँपालिकाले मापदण्ड नै तोकेर सडकभन्दा निश्चित दूरीमा मात्र पशुचौपाया बाँध्न वा निर्माणजन्य सामग्री राख्न सूचना जारी गर्दै स्थानीयबासीलाई आग्रह गरेको हो ।

गाउँपालिकाले बनाएको मापदण्डअनुसार महेन्द्र राजमार्गमा सडकको बीच भागदेखि ३० मिटर, हुलाकी सडकमा केन्द्रदेखि २५ मिटर र भित्री सडकहरूमा केन्द्रदेखि १५ मिटरको दूरीभित्र कुनै पनि पशुचौपाया नबाँध्न र निर्माण सामग्री नराख्न भनिएकोे छ ।

‘यस गाउँपालिका क्षेत्रअन्तर्गत महेन्द्र राजमार्ग, हुलाकी सडक र भित्री सडकका छेउछाउमा घरपालुवा जनावर बाँधेको, घरपालुवा जनावर छाडा छोडिएको र निर्माणजन्य सामग्री राखेको पाइएको छ,’ राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीद्वारा जारी सूचनामा भनिएको छ, ‘यसबाट सडक दुर्गन्धित भएको, दुर्घटना बढेको र सडक बिग्रिने भएकाले सडकछेउमा घरपालुवा पशुचौपाया नबाँध्न, छाडा नछोड्न र निर्माणजन्य सामग्री नराख्न सर्वसाधारणको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’

सूचनाको बेवास्ता गरी पशुचौपाया बाँधिए, छाडा छाडिए वा निर्माण सामग्री राखिए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि गाउँपालिकाले दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार