भाषाबाहेक अन्य जानकारी पनि लिन आग्रह



कोहलपुर ।

कोरियामा जाने अधिकांश नेपालीहरूले आधारभूत कुराको जानकारी नराख्दा दुःख पाउने गरेको कोरियाका एआइपी गु्रपका कार्यकारी प्रमुख पार्क जोङ चुलले बताएका छन् ।

थिङ्क एजुकेसनल कन्सल्टेन्सीले कोहलपुरमा आयोजना गरेको शैक्षिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रमका वक्ताका रूपमा उपस्थित चुलले कोरियामा नेपाली युवाहरूले सामान्य कुरामा पनि दुःख पाइरहनुपरेको बताए ।

पछिल्लो समय नेपाली युवाहरू सामान्य भाषाको मात्र ज्ञान लिएर कोरियान जाने गरेको तर त्यहाँको रीतिरिवाज, परम्परा र संस्कारलगायतका बारेमा अनभिज्ञ रहने गरेकाले विभिन्न समस्याहरू भोग्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले विद्यार्थीहरूलाई कोरिया पठाउने बहानामा ठगिनबाट कसरी बच्ने लगायतको जानकारी समेत दिएका थिए ।

सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले युवाहरू दिनप्रतिदिन विदेशिनुपर्ने बाध्यता रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । पछिल्लो समय सरकारले रोजगारी सिर्जना गर्न नसक्दा देश बनाउने युवाहरू विदेशिनु दुःखद पक्ष रहेको उनले बताए ।

युवाहरूमा अब नेपालमा केही हुँदैन भन्ने नकारात्मक मानसिकता विकास हुँदै गएकाले स्वदेशमा दक्ष जनशक्ति पाउन नै मुस्किल परेको उनको भनाइ थियो । ‘अहिले युवाहरू प्रायः विदेश ताकिरहेका छन्,’ उनले भने, ‘तर हामीकहाँ दक्ष जनशक्तिको अभाव हुँदै गएको छ ।’ कोहलपुर नगरपालिकामा अहिले नै गणित र विज्ञान शिक्षकको अभाव भइरहेको उनले जानकारी दिए ।

सो अवसरमा थिङ्क एजुकेसनल कन्सल्टेन्सीले शैक्षिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा दसैँको शुभकामना आदान–प्रदान गर्नुका साथै विद्यार्थीहरूले विभिन्न संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार