कोहलपुर उ.वा. संघ चुनाव : निर्वाचन तालिका सार्वजनिक



कोहलपुर ।

आसन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । आउँदो कार्तिक ३ गते तोकिएको चुनावको लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

निर्वाचन समितले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १७ गते बिहीबार उम्मेदवारको मनोनयपत्र बिहान ८ बजेदेखि १० बजेसम्म वितरण गरिनेछ ।

कार्यतालिका अनुसार सोही दिन नै मनोनयन दर्ता र मनोनयन दर्ता भएका उम्मेदवारहरूको प्रथम नामवली प्रकाशन हुनेछ ।

१८ गते शुक्रबार बिहान ११ देखि अपरान्ह्र १ बजेसम्म उम्मेदवारी उपर दाबी विरोध र २ बजेदेखि ५ बजेसम्म दाबी विरोध उपर छानबिन
गरिनेछ । सोही दिन नै उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन तालिका अनुसार १९ गते शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ । सोही दिन ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । २० गते आइतबार उम्मेदवारलाई नमुना मतपत्र वितरणको काम हुनेछ । कार्तिक १ गते साँझ ५ बजेसम्मलाई प्रचार प्रसारको अवधि तोकिएको छ ।

कार्तिक ३ गते बिहान ८ बजेदेखि मध्यान्ह्र ४ बजेसम्म मतदानको समय तोकिएपनि मतदानको समय छलफलबाट हेरफेर गर्न सकिने निर्वाचन समितिले जनाएको छ । मतदान र मतगणना कोहलपुर उद्योग बाणिज्य संघकै कार्यालयमा हुनेछ ।

घरदैलोमा उम्मेदवार 

समूहगत रूपमै उम्मेदवार घोषणा गरेर दुई समूहका उम्मेदवारहरू भोट माग्न व्यवसायीहरूको घरदैलोमा पुग्न थालिसकेका छन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायीक समूह र नेकपा (एमाले) नेतृत्वको प्रगतिशिल व्यवसायीक समूहका उम्मेदवारहरू भोट माग्दै मतदाताको घरदैलोमा पुगिरहेका हुन् ।

लोकतान्त्रिक समूहबाट संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका प्रदिप भट्टराई अध्यक्षको उम्मेदवार बनेका छन् । यो समूहबाट वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण के.सी., वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दिपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भुमिराज कंडेल र सहकोषाध्यक्षमा देविलाल सुनार उम्मेदवार रहेका छन् ।

सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण वि.क, गौरव श्रेष्ठ, गिरधारी शर्मा र महिला सदस्यमा शितल योगी अधिकारीको उम्मेदवारी रहेको छ । लोकतान्त्रिक समूहलाई नेपाली काँग्रेस, एकिकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको छ ।

यसैगरी प्रगतिशिल व्यवसायीक समूहले अञ्जना धितालको नेतृत्वमा टिम अगाडि सारेको छ । यो समूहले वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योगतर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दिपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले र सहकोषाध्यक्षमा टंक खनाललाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी सदस्यहरूमा कृष्ण रानाभाट, रवीप्रसाद कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी कडेंल, अस्मिता केसी, विक्की थापा, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल र एकबहादुर खड्काले उम्मेदवारी दिने भएका छन् ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार