बाँके ।
गत साता उतारचढावपूर्ण अवस्थामा समग्रमा ९० अंकले ओरालोतिर नै देखिएको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि राताम्य नै भएको छ । आइतबार २२.३६ अंकले घटेर बजार २४६४.४० बिन्दुमा झरेको थियो ।
४६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भयो । १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएन ।
गएको साता आइतबार ११.५८ अंकले बढेर सोमबार ५९.०२ र मंगलबार ५८.९३ अंकले घटेको बजार बुधबार ४९.१८ अंकले बढेको थियो । तर बिहीबार पुनः ३२.८१ अंकले बजार ओरालोतिर नै लागेको थियो ।
भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेपनि त्यसअनुरुप बजार देखिन सकेको छैन । कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो । असोजमा ‘बाउन्स ब्याक’ हुने अपेक्षा राखेका लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन् ।
गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो । गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो । असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ । असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार अपेक्षामा लगानीकर्ताहरू रहेका थिए । तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार अपेक्षाकृत उचाइतर्फ बढ्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्