कोहलपुर उद्योग बाणिज्य संघ: बढ्यो चुनावी चहलपहल



कोहलपुर ।

आर्थिक मन्दीको असरले सेलाएका कोहलपुरका व्यापारीहरू कोहलपुर उद्योग बाणिज्य संघको चुनाव नजिकिँदै गर्दा तात्न थालेका छन् । संघले यसअघि नै आगामी कात्तिक ३ गतेका लागि चुनावको मिति तोकिसकेको छ । चुनावको मिति नजिकिँदै गर्दा संघको आगामी नेतृत्वका लागि व्यापारीहरूको चहलपहल सुरु भएको छ । आकांक्षीहरूले छलफल र भेटघाटलाई तीव्र पारेका छन् ।

वर्तमान अध्यक्ष लक्ष्मणराज पौडेलले नदोहोरिने स्पष्ट गरेपछि संघको आगामी अध्यक्षका लागि संघकै वरिष्ठ उपाध्यक्ष प्रदीप भट्टराई दाबेदार देखिएका छन् । नेपाली कांग्रसका तर्फबाट उनी सर्वसम्मत उम्मेदवार पनि छनोट भइसकेका छन् ।

वर्तमान अध्यक्ष पौडेलले संघमा आफू नदोहोरिने स्पष्ट गरेपछि कांगे्रस पार्टीका तर्फबाट भट्टराई सर्वसम्मत अध्यक्षका लागि छनोटमा परेका हुन् । एकै ठाउँमा पटकपटक दोहोरिने कार्यले संस्थाको नेतृृत्व विकासमा असर पुग्ने अध्यक्ष पौडेलको भनाइ छ । व्यापारीहरू अप्ठेरो स्थितिमा रहेको वर्तमान अवस्थामा व्यापारीहरूका समस्या बुझ्न सक्ने खालको आगामी नेतृत्व चयन हुनुपर्ने उनले बताए ।

हरेक सामाजिक संघ संस्थाहरूमा त दलीय प्रतिनिधित्वका आधारमा चुनाव हुने गरेकोमा व्यापारीहरूको संगठनमा पनि दलहरूको प्रभाव नहुने कुरै भएन । दलहरूले मूल नेतृत्वका लागि आआफ्ना तर्फबाट उम्मेदवार छनोट भने गरिसकेका छन् ।

दलीय प्रतिस्पर्धाका आधारमा हुने व्यापारीहरूको चुनावमा एमालेका तर्फबाट भने अञ्जना धिताल सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार चयन भएकी छन् । धिताल कोहलपुरकी सफल व्यवसायीका अलावा अनेमसंघकी केन्द्रीय सदस्यसमेत हुन् । अन्य दलहरूले भने अध्यक्षका लागि अहिलेसम्म दाबी गरेको अवस्था छैन ।

कोहलपुर उद्योग बाणिज्य संघमा विशेषगरी नेपाली कांग्रेस र एमालेबीच नै प्रतिस्पधौ हुँदै आएको छ । पछिल्लो समय नेपाली कांग्रेसले बहुमतका साथ संघमा नेतृत्व लिँदै आएको छ । पछिल्लो समय संंघमा एमालेले आफ्नो वर्चस्व गुमाउँदै आएको छ । अहिले पनि संघमा कांग्रेसको बहुमतसहितको नेतृत्व छ ।

संघको चुनावकै सन्दर्भलाई लिएर कांग्रेसले नगर सभापति वीरेन्द्र शाहको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत बनाएको छ । जसमा संघका वर्तमान अध्यक्ष पौडेल, चिन्तामणि धिताल, संघका पूर्वअध्यक्ष चक्र अधिकारी र बलराम शर्मा सदस्य रहेका छन् । समितिले अन्य दलहरूसँग छलफल गरेर संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने संयोजक शाहले बताए ।

एमालेले पनि आफ्नो तर्फबाट संघको आगामी निर्वाचनका लागि तयारी गरिरहेको जनाएको छ । ‘एमालेले संघको आगामी निर्वाचनका लागि पूर्ण तयारी थालेको छ,’ एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष कुलबहादुर भट्टराईले भने, ‘पार्टीको उम्मेदवारलाई जिताउन पार्टी एक ढिक्का र एक मनाका साथ अगाडि बढ्छ ।’ विगतमा संघमा पार्टीले गुमाएको वर्चस्वको क्षतिपूर्ति गर्ने गरी एमाले तयारीमा लागेको अध्यक्ष भट्टराईले दाबी गरे ।

उद्योग बाणिज्य संघ एउटा व्यावसायिक संगठन भएकाले सकेसम्म योग्य र सक्षम नेतृत्वको खोजी गर्नुपर्ने संघका अध्यक्ष पौडेलेको भनाइ छ । ‘यस्ता व्यावसायिक संगठनहरूमा व्यवसायी अगाडि राजनीति पछाडि हुनुपर्ने हो,’ उनले भने, ‘तर दुर्र्भाग्य, हामीकहाँ राजनीति अगाडि व्यवसाय पछाडि भयो ।’

संघमा सकेसम्म आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको उनले बताए । ‘सकेसम्म सबै पक्षका योग्य र सक्षम साथीहरू छुट्नुहुन्न भन्ने मेरो भनाइ हो,’ उनले भने, ‘म त सर्वसम्मत नेतृृत्व चयन भइदिए हुुन्थ्यो भन्ने पक्षमा नै छु । अन्तिमसम्म पनि मेरो प्रयास संघमा सर्वसम्मत नेतृत्व चयनकै पक्षमा हुन्छ ।’ यसका लागि आफूले यहाँका सबै दलका नेता, व्यवसायी, बुद्धिजीवी, संघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरू छलफलसमेत चलाइरहेको उनले बताए । तर यसका लागि दलहरूले नै विशेष पहल गर्नुपर्ने उनको बुझाइ छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि आफ्नो पार्टी पनि तयार रहेको एमाले नगर अध्यक्ष भट्टराईको पनि भनाइ छ । ‘सहकार्यबाट एमाले कहिल्यै पछाडि हट्दैन,’ भट्टराईले भने, ‘तर त्यो सम्मानजनक र सहअस्तित्वसहितको हुनुपर्छ ।’ उनले पनि संघको आगामी नेतृत्वमा योग्य, सक्षम र व्यावसायिक व्यक्ति आउनुपर्ने धारणा राखे ।

हरेक क्षेत्रमा दलीय हस्तक्षेपविरुद्ध आम सर्वसाधारणमा वितृष्णा बढिरहेका बेला संघमा पनि दलहरूलाई सर्वसम्मत नेतृत्व चयनको दबाब बढेको छ ।

संघले निर्वाचनको तयारी थालिसकेको छ । एक दुई दिनमै सदस्यतासम्बन्धी अन्तिम टुंगो लाग्ने अध्यक्ष पौडेलले जानकारी दिए । विगतमा ३४ सयभन्दा बढी सदस्य सङ्ख्या रहेको संघमा यसपटक करिब १७ सयभन्दा बढी सदस्य सङ्ख्या नहुने अनुमान गरिएको
छ ।

विगतमा सदस्यता वितरणको अवस्था भद्रगोल देखिएपछि विधान नै संशोधन गरेर त्यसलाई व्यवस्थित गर्ने काम गरिएको अध्यक्ष पौडेलेको भनाइ छ । ‘विगतमा उम्मेदवार आफैँले आफ्नो पक्षका सदस्यहरूको सदस्यता नवीकरण गरिदिने परिपाटी थियो,’ उनले भने, ‘विधान नै संशोधन गरेर हामीले त्यसलाई व्यवस्थित गरेका छौँ ।’

संघले विधानअनुसार चुनाव सम्पन्न गर्नका लागि लोकबहादुर शाहलाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेको छ । शाह नेतृत्वको निर्वाचन समितिले नै आगामी निर्वाचनका सम्पूर्ण कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रबार