नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई १७ लाखभन्दा बढी रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरबाट सोही ठाउँ बस्ने मोहम्मद कादिर र मोहम्मद हबिब सिद्दिकीलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा तलासी गर्ने क्रममा सिद्धिकीले बोकेको झोलाबाट ९ लाख रुपैयाँ, सिद्दिकीको घरबाट ७ लाख १० हजार २ सय ५५ रुपैयाँ नेपाली र ५९ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको साथबाट विभिन्न बैंकमा विभिन्न व्यक्तिका नाममा जम्मा गरेका बैंक भौचरलगायत बैंकका टोकनहरू समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
हुण्डी कारोबार भनेको मान्यताप्राप्त संस्था वा भुक्तानी उपकरणको माध्यमबाट बाहेक अन्य व्यक्ति, उपकरण वा अन्य कुनै पनि माध्यमबाट नेपालबाट विदेश वा विदेशबाट नेपाल पैसा पठाउने वा हिसाब मिलान गराउने कामलाई व्यवसाय बनाई गर्ने काम हो ।
मुलुकी अपराध संहिताको दफा १२५ क मा यस्तो कसुर गरेमा बिगो र सोबाट बढे वा बढाएको सम्पत्ति जफत गरी एक वर्षसम्म कैद हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्