युट्युव नियमन दक्षिण एसियामै नौलो प्रयोग



कतिपय दैनिक, साप्ताहिक र मासिक पत्रिकाका बन्द भएका छन् । कतिपय नयाँ रणनीति साथ चल्ने तयारीमा छन् । तमाम संकटका बीच नेपाली मिडियाले देशको हितमा, जनताको पक्षमा र समृद्धिको पक्षमा सकी नसकी काम गरिरहेका छन् । यो राम्रो पक्ष हो । अनलाइनसहित डिजिटल मिडियाको बढ्दो उपस्थितिले परम्परागत मिडियाका रूपमा चलेका रेडियो, टिभि र पत्रपत्रिकालाई गम्भीर समीक्षा गर्न बाध्य पारेको छ । अहिले हामी आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रभावमा प्रवेश गरिसकेका छौँ ।बालकृष्ण बस्नेत
अध्यक्ष, प्रेस काउन्सिल नेपाल

आज हाम्रो लागि खुसी र उत्सवको दिन हो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवलाई भव्य बनाउन हामी सहभागी भएका छौँ । यति सम्मानित र विशाल सभामा कार्यक्रम मनाउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ ।

नेपाली मिडिया जगत्लाई मर्यादित, सन्तुलित र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपालले आफ्ना कामलाई तीव्रताका साथ अघि बढाइरहेको छ । हामीलाई थाहा छ, अर्थतन्त्र ओरालोमा छ, त्यसको प्रभाव अन्य क्षेत्र जस्तै मिडियामा पनि परेको छ । छापा माध्यम त संकटमै छन् ।
कतिपय दैनिक, साप्ताहिक र मासिक पत्रिकाका बन्द भएका छन् ।

कतिपय नयाँ रणनीति साथ चल्ने तयारीमा छन् । तमाम संकटका बीच नेपाली मिडियाले देशको हितमा, जनताको पक्षमा र समृद्धिको पक्षमा सकी नसकी काम गरिरहेका छन् । यो राम्रो पक्ष हो । अनलाइनसहित डिजिटल मिडियाको बढ्दो उपस्थितिले परम्परागत मिडियाका रूपमा चलेका रेडियो, टिभि र पत्रपत्रिकालाई गम्भीर समीक्षा गर्न बाध्य पारेको छ ।

अहिले हामी आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रभावमा प्रवेश गरिसकेका छौँ । हामीले खोज्ने समाचार, यसका भाषा, शैली एआई प्रविधिबाटै भेटिने अनि हामी पत्रकारिताको पुरानै ढर्रामा हिँडिरहने हो भने सुधार कसरी होला, गम्भीर प्रश्न छ ।

हात–हातमा भएका मोबाइल र सामाजिक सञ्जालको प्रयोगले अब जिज्ञासा राख्न, प्रश्न उठाउन सर्वसाधरण सबैले सक्ने अवस्था छ । पत्रकारले मात्र प्रश्न सोध्ने पहिलेको अवस्था अब रहेन । अब पत्रकारले गहन खोजी, अध्ययनसहित विकल्प दिएर प्रश्न उठाउनुपर्ने अवस्था आएको छ । पत्रकारिताभित्र सृजनात्मकताको खाँचो बढ्दै गएको छ ।

प्रश्न औँल्याउने मात्र नभई समाधानका विकल्पहरू दिन सके पत्रकारिता रचनात्मक हुन्छ । त्यही कारण प्रेस काउन्सिलले पछिल्ला दिनहरूमा समाधनका विकल्पसहितको रचनात्मक पत्रकारितालाई देशभर अभियानकै रूपमा अघि बढाएको छ ।

हामीले केही नयाँ कामको सुरुवात गरेको यस गरिमामय सभामा उल्लेख गर्न पाउँदा खुसी लागेको छ । नेपालका मिडियाका समाचार कक्षहरूमा रचनात्मक पत्रकारिताको बहस हामीले थालेका छौँ । युट्युबलाई व्यवस्थित गर्न मापदण्ड बनाएर अनुगमन र कारबाही गरेका छौँ । युट्युब माध्यमका प्रकार छुट्याई आचारसंहिताको कसीमा ल्याउने काम सम्भवतः दक्षिण एसियामै पहिलो प्रयोग हो ।

उस्तै उस्तै नाम राखेर अनलाइन खुल्ने र बदमासी गर्ने प्रवृत्तिलाई पूर्णतः रोकेका छौँ । नेपाली मिडियाको प्रिन्टदेखि पछिल्लो डिजिटल मिडियासम्मको गहन अध्ययन गरी दस्तावेज तयार हुँदै छ । पत्रकारिताका सबै विधाको अध्ययन समेटिएको यो पुस्तक नेपालमै पहिलो हुनेछ । यस सोध र अनुसन्धानमा सहभागी कतिपय अनुहारलाई मैले आज यो हलमा देखेको छु । उहाँहरूलाई समेत विशेष नमन गर्न चाहन्छु ।

त्यस्तै, देशका सबै प्रदेशमा पुगेर नेपालको मिडियाको वर्तमान अवस्थाबारे अनुगमनसम्बन्धी दस्तावेज पनि तयार भएको छ, जहाँ जनमानसको मिडियाप्रतिको दृष्टिकोण, पत्रकार को हो ? को होइन ? जस्ता प्रश्नको उत्तर जस्ता विषय समावेश छन् ।

त्यस्तै, सञ्चारग्राममा नेपालमा पहिले भित्रिएको गिद्धे प्रेसदेखि सबै खालका छापाखाना सामग्रीको संग्रह गर्नका लागि ३ वर्षअघि नै राष्ट्रिय प्रेस संग्रहालय स्थापना भएको छ । त्यसलाई ठोस आकार दिन पर्याप्त स्रोत साधनका लागि नेपाल सरकारले अगुवाइ गर्नुपर्नेछ । इतिहासका विभिन्न कालखण्डमा भएका मुद्रणलाई एकै परिसरमा राख्ने यो अवधारणसहितको संग्रहालय पनि विश्वमै नमुना हुनेछ । यसलाई पूरा गर्नु सिंगो देशको गर्वको कुरा हो, म माननीय मन्त्रीज्यूलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।

विभिन्न ९ मातृभाषामा पत्रकार आचारसंहिताको प्रकाशन गरी प्रचारप्रसार गरेका छौं । वर्षभरि मिडिया क्षेत्रको गतिविधि र समिक्षासहितको अंग्रेजी प्रकाशन ‘एअर बुक’ नियमित छ । यसको चौथो संस्करण आजै महामहिमज्यूबाट सार्वजनिक हुँदैछ ।

पत्रकारितालाई थप प्रभावकारी बनाउन मिडिया साक्षरता बढाउनुपर्छ र त्यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव हामी राख्न
चाहन्छौँ । मिडिया जगत् कति सुधार भयो ? भन्ने प्रश्न सँगै त्यो कामका लागि सरकारले कति टेवा पु¥याइरहेको छ भनेर समेत हेर्नुपर्ने अवस्था
छ ।

आज यस कार्यक्रममा नेपाली पत्रकारिताको सिंगो उपस्थिति झल्केको अनुभूति भएको छ डोटीका अरुण बम, रुकुम पश्चिमका प्रविर ददेलदेखि लमजुङका आश गुरुङ, बाजुराका संगीता तिमिल्सिना, सप्तरीका श्रवण देवदेखि भोजपुरका ध्रुव सुवेदीसम्म । कालिकोटका भरत विष्टदेखि जाजरकोटका राजेन्द्र कार्कीसम्म । अरू पनि हामी यही हलमा छौँ । अर्थात एउटा सानो विविधतायुक्त र समावेशी नेपालको पत्रकारिताको अनुहार यहीँ छ ।

वार्षिकोत्सवका अवसरमा सम्मानित र पुरस्कृत सबै महानुभावहरूलाई बधाई दिन चाहन्छु । काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतसहित सबै पूर्व अध्यक्षहरूलाई म विशेष रूपमा सम्झन चाहन्छु ।

अन्त्यमा, नकारात्मकता र गालीको संस्कृति होइन, रचनात्मक र सहकार्यको विकासमा लाग्दा मात्र देशमा हरियाली आउँछ । पत्रकारिता फस्टाउँछ । पत्रकारिता बलियो भए देशमा भएको अस्थिरता हटाउन बल पुग्छ । यसले जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ ।

(प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवको अवसरमा आइतबार अध्यक्ष बस्नेतद्वारा राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश )

प्रकाशित मिति : २०८१ असोज ८ गते मंगलबार