गर्मी बढेपछि विद्यालयमा फेरि बिदा



जनकपुर ।

पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण सोमबारदेखि ६ दिन विद्यालयमा बिदा दिने सूचना सार्वजनिक गरेको हो ।

महोत्तरीमा १ असोजयता ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ । घामको प्रचण्ड राप बढेर कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले बताए ।

यसअघि गत जेठमा पनि मनराशिशवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिन बिदा दिएका थिए । मनराशिशवा नगर कार्यालयले गर्मी छल्न बिदा दिएपछि जिल्लाका अन्य स्थानीय तहले पनि बिदा दिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज ८ गते मंगलबार