बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा आएन



नेपालगन्ज ।

खजुरामा बालिकामाथि आक्रमण गर्ने चितुवा अझै नियन्त्रणमा आउन सकेको छैन । एक हप्ताअघि खजुरा गाउँपालिका–६ सिमलघारीका वीरेन्द्र पुनकी अढाइ वर्षीया छोरी लक्ष्मी पुनको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

अघिल्लो आइतबार घरबाटै बेपत्ता भएकी पुनको मंगलबारमात्रै शव भेटिएको थियो । त्यसपछि परिचालित प्रहरी, वन विभाग र निकुञ्जका कर्मचारी सम्मिलित टोलीले क्यामरामा दुईवटा चितुवा ट्र्याक गर्न सफल भएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए ।

केसीका अनुसार बाँके राष्ट्रिय निकुञ्जबाट पुगेका २ वटा हात्तीसहित सुरक्षाकर्मी, प्राविधिक र स्थानीयबासीको टोलीले चितुवाको निरन्तर खोजी गरिरहेको छ । चितुवालाई नियन्त्रणमा लिन क्यामेराको निगरानीमा २ वटा खोरमा बाख्रा राखेर लोभ्याउने प्रयास भइरहेको छ ।

तर चितुवा खोरसम्म पुगेर भित्र नपसेरै जाने गरेको केसीले बताए । चितुवाले बालिकामाथि आक्रमण गरेयता खजुराको वनक्षेत्रको नजिकका गाउँहरूमा मानिसहरू त्रसित छन् ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार