शम्भुप्रसाद थारू । नेपालगन्ज ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले विगत ३ वर्षदेखि बाँकेमा धान जोन परियोजना लागू गरी धान खेती प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । सो परियोजनाअन्तर्गत यस वर्ष १ लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ ।
बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडामा परियोजनाले धान खेतीका लागि सिँचाइ, कृषि यान्त्रीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । गत मंगलबार परियोजनाअन्तर्गत कृषि प्राविधिकहरूले १० हेक्टर क्षेत्रफलमा गरिएको धानको बिज वृद्धि कार्यक्रमको अनुगमन गरेका छन् ।
जानकी गाउँपालिका–२ वनकटवाको ग्रिन नेपाल कृषि फर्म र जानकी गाउँपालिका–३ रामवापुरको बैष्णो कृषि फर्ममार्पmत १० हेक्टर क्षेत्रफलमा धानको मूल बीउ उत्पादनका लागि खेती गरिएको छ । परियोजनाका कृषि अधिकृत गणेश यादवले यस क्षेत्रका किसानलाई सहजरूपमा बीउ उपलब्ध गराउनका लागि बिज वृद्धि कार्यक्रमअन्तर्गत मूल बीउ उत्पादन गरिरहेको बताए ।
बिज वृद्धि कार्यक्रमअन्तर्गत राधा चार र राम धानको मूल बीउ उत्पादन गरिँदै आएको छ । जसअन्तर्गत ४ सय क्विन्टल मूल बीउ उत्पादन हुने यादवले बताए । परियोजनाले बिज वृद्धि कार्यक्रमका लागि १ लाख ५० हजार बजेट विनियोजन गरेको छ । उक्त रकम बीउ विषादी, जिंक र साइन बोर्डमा अनुदान दिइएको परियोजनाले जनाएको छ ।
परियोजनाले आधुनिक तरिकाले खेती गर्नका लागि ३ ठाउँमा कस्टम हायरिङ सेन्टर स्थापना गरेको छ । जहाँ धान खेतीका लागि आवश्यक सबै यन्त्र अनुदानमा उपलब्ध गराइएको छ । जहाँबाट सहज रूपमा किसानहरूले धान खेतीका लागि ती यन्त्रहरू प्रयोग गर्न सक्छन् ।
जनहित कृषक समूह बैजानाथ–८ झिगौराका अध्यक्ष जगनारायण थारूले कस्टम हायरिङ सेन्टर स्थापना भएपछि एकै ठाउँमा सबै कृषियन्त्र उपलब्ध हुँदा खेती गर्न धेरै सहज भएको बताए । परियोजनाले सहकारी र समूहका किसानहरूलाई कस्टम हायरिङ सेन्टरमार्पmत ट्र्याक्टर, थ्रेसर, रोटाबेटर, लेबलर, पावर टिलरलगायतका कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजनाका कृषि अधिकृत यादवले बताए । यस्तै परियोजनाअन्तर्गत ५ ठाउँमा ५० हेक्टरमा धानको चक्लाबन्दी कार्यक्रमसमेत गरिरहेको उनले बताए ।
परियोजनाअन्तर्गत जानकी गाउँपालिकाको वडा नं. १, २, ३, ४, खजुरा गाउँपालिकाको २ र ४, बैजानाथ गाउँपालिकाको २, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको छ । जसअन्तर्गत २ हजार ३ सय ४१ हेक्टर क्षेत्रफलमा धान खेतीमा प्रवद्र्धन गर्ने कार्यक्रम लागू गरिएको छ । चालु आर्थिक वर्षको यो धान सिजनमा करिब १ लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको परियोजनाका कृषि अधिकृत यादवले बताए ।
परियोजनाले समेटेको कार्यक्षेत्रअन्तर्गत ८ सय १४ जना कृषक तथा समूह र सहकारी यो योजनामा जोडिएका छन् । ती किसानहरूका लागि यो चालु आर्थिक वर्षमा साना सिँचाइ, धानको चक्लाबन्दी, कष्टम हायरिङ सेन्टर स्थापना, धानको बिज वृद्धि, कृषि यान्त्रीकरणमा सहयोग, पोस्ट हार्वेस्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रम, तरकारी क्षेत्र बिस्तारलगायतका कार्यक्रम रहेको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले बताए ।
बाँकेमा परियोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८१÷८२ बाट तरकारी जोनको कार्यक्रम पनि सञ्चालन गरिँदै छ । जसअन्तर्गत करिब ५ सय हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले जानकारी दिए । परियोजनाले चालु आर्थिक वर्षमा १ करोड २९ लाख धान खेती र ५० लाख तरकारी खेती प्रवद्र्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्