बाँके ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि केसीले प्रयोग गर्दै आएको लु१झ ७४५ नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् ।
यसअघि पनि प्रदेश सरकारका गाडी फिर्ता गर्न ताकेता गरिएको भए पनि केसीले बेवास्ता गर्दै आएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि गत भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाटै पूर्व विशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयको १५ दिनपछि पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार केसीले गत भदौ २० गते चालकमार्फत गाडी फिर्ता गरेका हुन् ।
पूर्वमुख्यमन्त्री केसीले गाडी फिर्ता गरे पनि पुर्वसभामुख पूर्णबहादुर घर्तीले भने अझै फिर्ता गरेका छैनन् । घर्तीले लु१झ ४४४ नम्बरको गाडी प्रयोग गरिरहेका छन् । केसी र घर्ती दुवैले प्रयोग गरिरहेका गाडी प्रदेश सरकारका महँगा गाडीमा पर्छन् ।
विसं २०७८ साउन २८ गतेदेखि २०७९ पुस २६ गतेसम्म मुख्यमन्त्री रहेका केसी अहिले नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज छन् ।
२०७४ फागुन २ गतेदेखि २०७९ पुससम्म ५ वर्ष प्रदेशसभाको सभामुख बनेका घर्ती हाल प्रतिनिधिसभा सदस्य छन् । घर्ती रुकुमपूर्वबाट प्रतिनिधिसभामा माओवादीबाटै निर्वाचित सदस्य हुन् । १० वर्ष लामो सशस्त्र द्वन्द्वपछि प्रदेश सत्ताको नेतृत्व गरेर बाहिरिँदै गर्दा केसी र घर्तीले आफू अनुकूल नीति बनाएर गाडी प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।
केसी मुख्यमन्त्री भएको बखत विसं २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए ।
पूर्व विशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको फजुल खर्च घटाउने योजना बनाएअनुसार पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्