29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

कथाकार महेश पौड्याल भन्छन् : कथाभित्र कथा हुनुपर्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस ३, २०७८  

कोहलपुर :
महेश पौड्याल नाम एक परिचय अनेक भएका व्यक्तित्व हुन् । अंग्रेजी साहित्यका प्रध्यापक उनी साहित्य समेत उत्तिकै सक्रिय छन् । पौड्याल लामो समयदेखि बाल साहित्य, लेखन र समालोचनामा समेत सक्रिय स्रष्टा हुन् । उनको पछिल्लो प्रकाशित कृति कथा सङग्रह ‘अपरिचित अनुहार’ हो ।
सामाजिक यथार्थवादी कथाकार समेत रहेका पौड्यालसँग शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ । लेखकसँग अन्तरक्रिया शीर्षकमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान आख्यान विभागको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा उनले आफ्नो पछिल्लो कृति ‘अपरिचित अनुहार’ बारेमा बोल्दै नेपालभित्रै अर्गानिक विषयवस्तु छनौट गरेर सरल ढंगले लेखिएको बताए । उनले आफ्नो कृतिमा अनेक कमजोरी हुँदाहुँदै पाठक मन पराएर पढिदिएको जानकारी दिए । उनका अनुसार आफ्ना पहिलाका कृति भन्दा फरक स्वाद ‘अपरिचित अनुहार’मा दिन खोजिएको छ ।


कथा लेखनका बारेमा बोल्दै उनले लेखकले लेख्ने कथाभित्र पनि कथा हुनुपर्ने बताएका थिए । यस्तै कथा भाव व्यक्त गर्ने सिर्जना भएको उनको भनाइ छ । कथा लेखन चिन्तन र पद्धतिको उपज भएको पौड्याल बताउँछन् । ‘ समाज सुरक्षाको कवज हो । कथा साहित्यको विशिष्टता हो ।’ पौड्यालले भने,‘उत्कृष्ट साहित्य समाज सापेक्ष हुनुपर्छ ।सरलता लेखनको पहिचान हो ।’ नेपाली साहित्यमा कथामा सिरिज लेखनको सम्भावनाको विषयमा सहभागीले सोधेको प्रश्नमा यो साहित्यको नौलो, सम्भव तर सुरुवात नभएको विषय भएको बताए ।
कथा लेखनमा प्रयोगको सिद्धान्त विस्तारित हुँदै जानुपर्ने धारणा राख्दै उनले सिरिज लेखनकाके सुरुवात गर्न आवश्यक रहेकोमा जोड दिए । लामो समय बाल कथा साहित्यमा समेत कलम चलाएका उनले नेपालको साहित्य अन्तर्गत बाल साहित्यमा अहिले सम्म नायक नजन्मिएको टिप्पणी समेत गरे । अब लेखकले बाल साहित्यमा नायक जन्माउने खालका विषयलाई समावेश गर्नुपर्ने उनको धारणा थियो । उक्त अवसरमा बोल्दै कवि गोविन्द कँडेल (आँशु) ले किताब लेख्नुमात्रै ठूलो कुरा नभएको भन्दै कथाले समाज बोल्नुपर्ने बताएका थिए ।
उनले ‘अपरिचित अनुहार’ नेपाली कथा साहित्यको एक विशिष्ट कृति भएको बताए । ‘अपरिचित अनुहार’का विषयमा कोहलपुरमा बसेर साहित्य सिर्जना गरिरहेका हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार सागर गैरेले कथा सङग्रहमा सम्मिलित कथाका बारेमा पाठकीय दृष्टिकोण व्यक्त गरेका थिए । ‘अपरिचित अनुहार’ समकालीन साहित्यको विशिष्ट पुस्तक हो । यस कथा सङग्रहमा १८ वटा कथा समावेश छन् ।

प्रकाशित मितिः शनिबार, पुस ३, २०७८     9:26:41 AM  |