नगरप्रमुखलाई टोलवासीका नौ बुँदे माग



कोहलपुर, हरियाली बसपार्क टोल विकास संस्था र कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यसँग बृहत् अन्तरक्रिया सम्पन्न भएको छ । संघको आयोजनामा सोमबार समसामयिक विकासमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
टोलवासीले भोग्दै आएका समस्या समाधानका लागि नगरप्रमुखको ध्यानाकर्षण र प्रतिबद्धताका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा टोलवासीहरुले लिखितरुपमा नौ बुँदै माग राखेका छन् । सम्पूर्ण टोलवासीहरुको तर्फबाट रामप्रसाद हमालले मागपत्र वाचन गर्दै हाल कोहलपुरमा दुईवटा बसपार्क रहेको भन्दै कुन लामो हो कुन छोटो दुरीको स्पष्ट पारिदिन अनुरोध गरे । नाला निर्माणका सडकहरुको बेहाल भएका कारण छिटोभन्दा छिटो मर्मत गर्नुपर्ने, नगर विकासको क्रममा व्यवसायीहरुका पसलका अघि रहेका पालीहरु हटाउने अभियान सकिएको हो की बाँकी छन्, त्यसमा मापदण्ड बनाइ मिनी पाली राख्न माग गरिएको छ ।


नगरमा नाली निर्माण गर्दा खानेपानीको समस्या हुने गरेकाले समस्या समाधान गर्न, बसपार्कको मातहतमा रहेका टहरा भत्काइसकेपछि त्यसमा खाली ठाउँमा धुलो मात्रै रहेकोले हावाहुरी आउँदा धुलोमाटोले समस्या भएको नौ बुँदे मागपत्रमा उल्लेख गरिएको छ । यसैगरी बजार क्षेत्र कुरूप हुने गरी विभिन्न तार एकै ठाउँमा राख्ने गरिएकाले त्यसको समाधान गर्नुपर्ने, नगर विकास समितिको दक्षिणतर्फको बाटोमा सडक बत्ती नभएको र उक्त क्षेत्रमा रातिको समयमा आवातजावत गर्न समस्या भएकोले बत्ती जडान गर्नुपर्ने स्थानीयको माग छ ।

व्यवसायीहरुले राज्यको नीतिभित्र रहेर व्यवसाय गर्दासमेत इलाका प्रहरी कार्यालयबाट राति दश बजेपछि व्यवसाय गर्न नदिने समस्या समाधान गरिदिन उनीहरुको माग छ । नगरभित्र रहेको मास्टर प्लानिङभित्र रहेर संरचना निर्माण भएका छन् की छैनन् अनुगमन हुनुपर्ने र बसपार्क क्षेत्रमा मालपोल तथा नापी कार्यालयका शाखा स्थापना गर्न माग गरिएको छ । उद्योग व्यापार संघ कोहलपुरका अध्यक्ष विष्णुप्रसाद खनालले कोहलपुरमा समस्याका रुपमा रहेको सेफ्टी ट्याङकीको समस्या समाधान गर्न माग गरे । यस्तै विकराल समस्याका रुपमा रहेको घरबहाल समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

‘नगरपालिकालाई घरबहाल कर भाडामा बस्नेले तिर्छन् । त्यो पनि साह्रै महँगो प्रतिशतमा । अब घरबहाल सम्झौता त्रिपक्षीय हुनुपर्छ,’ उनले भने । यसैगरी यातायात व्यवसायीको तर्फबाट बोल्दै बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले कोहलपुर बसपार्कमा डस्टबिनको व्यवस्था गर्नुका साथै कोहलपुरमा यातायात व्यवस्था कार्यालय नगरपालिकाले अग्रसरता लिनु पर्ने उनको भनाइ छ ।

यस्तै स्थानीय नगेन्द्रबहादुर शाहीले नगरपालिकाले सरसफाइ शुल्क महँगो लिने गरेको गुनासो गरे । यस्तै अर्का स्थानीय लिला बल्लभ तिवारीले टोल क्षेत्रको ढल निकास र बेहाल बाटोको उचित व्यवस्थापन गर्नुपर्ने बताए । यसैगरी स्थानीय टेकबहादुर बोगटीले तीन प्रदेशको ट्राजिन्ट प्वाइन्टका रुपमा रहेको कोहलपुरलाई पर्यटकीय सहर बनाउने र पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनु पर्ने बताए । उक्त अवसरमा सम्पूर्ण टोलवासीका माग समय सान्र्दभिक र आवश्यकतामा आधारित रहेको भन्दै स्थानीय सरकारले स्थानीयका मागप्रति गम्भीर रहेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनका अनुसार टाउन प्लानिङ क्षेत्रमा नाली विस्तारका क्रममा अवस्थित भएको भन्दै व्यवसायीको मागलाई सम्बोधनका लागि १२ करोडमा कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको छ ।

उनले अव्यवस्थित सडकहरु छिट्टै समाधान हुने आश्वासन दिए । यस्तै व्यवसायीहरुले पसल अघि राखेको पाली हटाउने अभियान अहिले पनि जारी रहेको भन्दै त्यो अभियान सफल बनाउन व्यवसायीहरुको पनि भूमिका रहेको भन्दै पहिलो चरणको कार्यक्रम सकिएलगत्तै विकल्पका विषयमा व्यवसायसँग छलफल गर्न स्थानीय सरकार तयार रहेको बताए । अघिल्लो सरकारको पालामा निर्माण सुरु भएको लामो दुरीको बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेकोे र आगामी वैशाखदेखि सञ्चालनमा आउने उनको भनाइ छ । ‘व्यवसायका अन्य मागप्रति हामी सकारात्मक छौँ । तत्काल गर्न सकिने काम हामी गर्छौं । अन्य प्रक्रियागत कुराहरु पनि प्राथमिकता छन् । हामी नगर र सरकारबीच यसरी नै छलफल र अन्तरक्रियाको आशामा छौं,’ उनले भने ।
अन्तरक्रिया कार्यक्रममा हरियाली बसपार्क टोल विकास संस्थामा आबद्ध स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन १५ गते सोमबार