खेलकुदमन्त्रीलाई कोहलपुर नगरपालिकाको दुईबुँदे ध्यानाकर्षण पत्र



कोहलपुर ।

कोहलपुर नगरपालिकाकी कार्यबाहक नगर प्रमुख संगीता सुवेदीले खेलकुदकोे स्तरोन्नतिका लागि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् । बुधबार सुर्खेतबाट कोहलपुर हुँदै नेपालगन्ज जाने क्रममा मन्त्री चौधरीलाई स्वागत गर्दै कोहलपुर नगरपालिकाभित्र रहेका तेह्र बिघा फुटबल मैदान र क्रिकेट मैदानको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन दुईबुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन् ।

कोहलपुर नगरपालिका–२ मा रहेको तेह्र बिघा क्षेत्रमा रहेको फुटबल मैदानमा हाल विभिन्न स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू सञ्चालन हुने गरे पनि हालसम्म न्यूनतम संरचना नरहेकाले राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य बनाउन आवश्यक आर्थिक र भौतिक स्रोत साधनको व्यवस्था मिलाइदिन ध्यानाकर्षण गरिएको कार्यबाहक नगर प्रमुख सुबेदीले बताइन् ।

त्यस्तै, कोहलपुर नगरपालिका–११ मा रहेको क्रिकेट मैदान र क्रिकेट खेलको विकासका लागि पहिलेदेखि नै नेपाल सरकारले बजेट विनियोजन गरे पनि पूर्वाधार विकासको काम भने सुस्त भइरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०८१/०८२ मा समेत क्रिकेट खेल र पूर्वाधारका लागि नेपाल सरकारबाट बजेट विनियोजन भएकाले त्यसको प्रक्रिया समयमै अघि बढाइदिन ध्यानाकर्षण गरिएकोे सुवेदीले बताइन् ।

उक्त अवसरमा खेलकुदमन्त्री चौधरीले ध्यानाकर्षण पत्र बुझ्दै आफूले सक्दो सहयोग गर्ने वचन दिएका थिए । साथै उनले तेह्र बिघा फुटबल मैदान र क्रिकेट मैदानको अवलोकन तथा निरीक्षणसमेत गरेका थिए । अवलोकन तथा निरीक्षण गर्दै मन्त्री चौधरीले स्तरोन्नतिका लागि आवश्यक पहल तथा आर्थिक सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार