कोहलपुर ।
बाँकेको कोहलपुरमा पाँचदिने दूध तथा दुग्धजन्य पदार्थ विविधिकरण तालिम बुधबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र कोहलपुर डेरी एसोसिएसनको आयोजनामा तालिम सञ्चालन भएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सहकारी शाखा प्रमुख अग्नि आचार्यले डेरी उद्योगीहरूलाई यस्ता खालको तालिमले दुग्धजन्य पदार्थ खपतमा थप टेवा पुग्ने बताए । नगरपालिकाले दिएको पाँच दिने तालिममा प्रविधि, सिप र कानुनका विषयमा धेरै कुरा सिकेको अपेक्षा गरिएको उनको भनाइ छ ।
उनले अहिलेको तालिमबाट छुटेका उद्योगी व्यवसायीहरूलाई आगामी दिनमा समेट्ने जानकारी दिए । उनले दुग्धजन्य वस्तु, पानीलगायतको शुद्धतामा विशेष ध्यान दिन आग्रह गरे । बजारमा अशुद्ध पानी र अशुद्ध उत्पादनको हल्ला चल्ले भएकाले यसमा विशेष जोड दिन व्यवसायीलाई आचार्यको सुझाव थियो ।
व्यवसायी र कृषकहरूले पाँच दिनमा धेरै कुराहरू सिक्ने अवसर प्राप्त गरेको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । व्यवसायसँग सम्बन्धित रहेकाले पनि महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ ।
‘उत्पादन गरेका बस्तुहरू बजारमा खोज्दा भेटिनुप¥यो,’ उनले भने, ‘उत्पादन मात्र गर्नुस् बजारको व्यवस्थापन गर्ने जिम्मा हामी लिन्छौं ।’ बजारमा पाउनेभन्दा विश्वसनीय र गुणस्तर उत्पादन भए सधैँ व्यवसायीहरूलाई सहजीकरण गर्न आफूहरू तत्पर रहेको उनले बताए ।
आयोजक कोहलपुर डेरी एसोसिएसनका अध्यक्ष रमिला थापाले पाँचदिने तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गर्नुपर्ने बताइन् । ‘कति सिक्यौँ भन्दा पनि कति व्यवहारमा लागू गर्नसक्यौँ भन्ने कुराले महत्व राख्छ,’ उनले भनिन्, ‘तालिममा सिकेका कुराहरू व्यवहारमा
उतार्नुहोला ।’
तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको कोहलपुर डेरी एशोसियसनका महासचिव सन्तोषराज पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्