खजुरा ।
बर्दियाका किसानहरूका लागि कोसेबालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको आयोजना र कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेको सहकार्यमा बर्दियाका किसानहरूलाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
बर्दियाको गुलरिया नगरपालिका मधुवन नगरपालिका, बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका किसानहरूलाई कोसेबालीका बारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका अधिकृत तीर्थबहादुर खड्काले जानकारी दिए ।
किसानहरूले कोसेबाली अनुसन्धान कार्यक्रम खजुरामा आएर खेतबारीमै गई विभिन्न कोसेबालीका बारेमा जानकारी लिएको उनले बताए । किसानहरूलाई अभिमुखीकरण गर्दे कोसेबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक पदमप्रसाद पौडेलले कुन बाली कुन मौसम र समयमा लगाउने भन्ने जानकारी नहुँदा कृषकहरूको उत्पादन बढ्नुको सट्टा झन् घट्दै गइरहेको बताए ।
कोसेबाली अनुसन्धान कार्यक्रम खजुराले विभिन्न प्रकारका बालीहरूको अध्ययन गर्दै किसानहरूका लागि बीउ सिफारिस गर्दै आइरहेको छ । बाली उत्पादन वृद्धिका लागि चार पाँच वर्षभन्दा बढी उत्पादन भएको बीउ प्रयोगमा नल्याउन पौडेलले किसानहरूलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्