नेपालगन्ज ।
भारत सरकारले प्लाइउड निर्यातसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन गर्ने म्याद सन् २०२५ सम्म सारेको छ । त्यसका कारण नेपालगन्ज नाका हुँदै प्लाइउडको निर्यातमा भइरहेको अवरोध हटेको नेपालगन्जस्थित प्लाइउड उद्योगी पशुपतिदयाल मिश्रले जानकारी दिए ।उनका अनुसार शनिबारबाटै नेपालगन्ज नाकाबाट प्लाईको निकासी खुलेको छ ।
‘भारतले प्लाइउड निर्यातसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन गर्ने म्याद सन् २०२५ सम्मका लागि सारेको खबर आएको छ,’ उद्योगी मिश्रले भने, ‘भारतीय सरकारको यो निर्णयले नेपाली उद्योगीलाई केही भए पनि राहत दिएको छ ।’केही दिनयता नेपालगन्ज भन्सार नाका हुँदै भारतमा प्लाइउड निर्यात रोकिएको थियो ।
रुपैडियास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठूलो नाका नेपालगन्जबाट प्लाईको निकासी रोकिएपछि यहाँका उद्योगीहरू निराश भएका थिए । तर भारत सरकारले मौका दिएपछि उत्साहित भएको प्लाइउड उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष चम्पालाल बोथराले बताए ।
हालसम्म बिना आइएसआई प्लाइउड भारततर्फ निर्यात गरिरहेका नेपाली उद्योगीलाई भारतले आइएसआई चिह्न खोजेपछि निर्यातमै अवरोध भएको थियो । प्लाइउड निर्यातसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन गर्ने म्याद सन् २०२५ सम्म भारत सरकारले राखेपछि फेरि पुरानै व्यवस्थाअनुसार नेपालबाट भारतमा प्लाइउड निर्यात हुनेछ ।
भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेब्रुअरी २८ पछि प्लाइउडमा आइएसआई प्रमाणपत्र अनिवार्य गरेको थियो । यसपश्चात नेपाली प्लाइउड उद्योगीले नेपालको उद्योग मन्त्रालयसँग विभिन्न चरणमा छलफल गरेर यसको सहजीकरणको पहल गरिदिन आग्रह गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्