19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

पुजा मृत्यु प्रकरण: ‘मृत्युपछाडि दाइजो मुख्य कारण’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १, २०७९  

मृतक पुजा लोनियाँका आफन्त ।

पुजाको माइती पक्षले श्रीमान् राजकुमार लोनिया र ससुरा ध्रुवविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएका छन् । माइती पक्षको दाबीका पछाडि पुजाले विगतमा भोग्दै आएको यातना र परिवारले दाइजोका लागि दिँदै आएको दबाब कारण छ ।

नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर माइतीघर भएकी २३ वर्षीया पुजा लोनियाँको पाँच वर्षअघि जानकी गाउँपालिका वडा नम्बर ६ का राजकुमारसँग बिहे भयो ।

एक छोरा र एक छोरीकी आमा पुजाको २७ गते मंगलबार मृत्यु भयो । तर मृत्युबारे पुजाको परिवारले माइती पक्षलाई जानकारी नै दिएन । कतैबाट थाहा पाएर माइती पक्ष पुजाको घर पुगे । पुजाको परिवारले विष सेवन गरेर मृत्यु भएको दाबी गरिरहेको छ । माइती पक्षले भने पुजाको हत्या भएको दाबी गरेको छ ।

माइती पक्षको उक्त दाबीका पछाडि पुजाले विगतमा भोग्दै आएको यातना र परिवारले दाइजोका लागि दिँदै आएको दबाब कारण रहेको छ । पुजाको माइती पक्षले श्रीमान् राजकुमार लोनिया र ससुरा ध्रुवविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएका ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पुजा श्रीमान् र परिवारको यातनाका कारण नौ महिना माइतीमा बसेर २० दिनअघि मात्रै आफ्नो घरमा फर्किएकी थिइन् । घर फर्किनुमा पनि प्रहरीले समन्वय गरिदिएको खुलेको छ ।

प्रहरीको महिला सेलमा उजुरी परेपछि दुवै पक्षलाई राखेर प्रहरीले अबदेखि पुजालाई कुनै पनि मानसिक यातना नदिने शर्तमा सहमत गराएर घरमा आएकी पुजाका मामा मोतिराम चौहान बताउँछन् । तर पुस २७ गते उनले विष सेवन गरेर मृत्यु भएको पुजाको परिवारको दाबी छ । तर, मृत्युको वास्तविक रहस्य र भएपश्चात पनि किन माइती पक्षलाई जानकारी दिइएन भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । माइती पक्षले पुजाको हत्या गरेको दाबी गर्दै आएको छ ।

मृतक पुजाको पोष्टमार्टम रिपोर्टमा विष सेवन गरेर मृत्यु भएको साथै टाउको, पाखुरा र ढाडमा हल्का चोट देखिएको उल्लेख गरिएको पुजाका मामा मोतिराम बताउँछन् । पुजाका छिमेकीहरु पनि माइतीलाई जानकारी नै नदिइ दाहसंस्कार गर्ने तयारी गरेको अवस्थामा थाहा भएको बताउँछन् ।

प्रहरी भने विष सेवनपश्चात एम्बुलेन्स बोलाएको थाहा पाएपछि प्रहरीकहाँ सूचना आएको र प्रहरी पुगी पोस्टमार्टमका लागि अस्पतालमा ल्याएर आएको बताउँछ । प्रहरीले पनि पुजाका श्रीमान् राजकुमार लोनियालाई नियन्त्रणमा लिएको छ । राजकुमार ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन् ।

 

 

प्रकाशित मितिः शुक्रबार, पुस १, २०७९     8:36:12 AM  |