तिलक गाउँले । खजुरा ।
यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँकेले ‘फेक आइडी’ बनाएर सेवाग्राही ठग्नेविरुद्ध कानुनी कारबाही गर्ने भएको छ । त्यस्ता ‘फेक आइडी’ बनाएर सर्वसाधारण ठग्ने काम भइरहेको विषयमा मिसन टुडेले समाचार प्रकाशन गरेपछि यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँके तात्तिएको हो ।
‘यातायात कार्यालयका नाममा फेसबुक आइडी बनाएको विषयमा ध्यानार्कषण भएको छ । यस सम्बन्धमा उचित कानुनी कारबाही हुन्छ ।’ यातायात कार्यालयका नायब सुब्बा मुकुन्द केसीले भने, ‘सरकारी कार्यालयको नाममा आईडी बनाउनु गैरकानुनी काम हो ।’ यातायात कार्यालयका अनुसार ‘फेक आइडी’ बनाउनेहरूविरुद्ध कारबाहीका लागि प्रहरीमा उजुरी दिने तयारी छ ।
‘दलाल’हरूले सेवाग्राहीलाई ठग्नका लागि यातायात व्यवस्था कार्यालय बाँकेको नाममा ‘फेसबुक’मा आधा दर्जन ‘एकाउन्ट’ र ‘ग्रुप’ बनाएको मिसन टुडेले खुलासा गरिसकेको छ । गैरकानुनीरूपमा सरकारी कार्यालयको नाम र लोगो प्रयोग गर्दै बनाइएका यस्ता ‘एकाउन्ट’ र ‘ग्रुप’मार्फत दलालहरूले सेवाग्राहीलाई ठग्ने काम गरिरहँदासमेत सम्बन्धित निकाय यातायात कार्यालयले रोक्न कुनै चासो दिएको
थिएन । तर ढिलै भए पनि कानुनी कारबाहीको प्रक्रिया सुरु गर्न लागिएको हो ।
यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँकेका नाममा मात्रै तीनवटा ग्रुप फेसबुकमा भेटिएका छन् । यिनको एडमिन अर्थात् सञ्चालन गर्ने व्यक्ति को हुन् ? भन्ने यकिन छैन । ४२ हजार सदस्य रहेको यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँके (हेल्पिङ ग्रुप), १६ हजार सदस्य रहेको यस्तै नामको अर्को ग्रुप र भेरी यातायात कार्यालय नेपालगन्ज बाँके नामको गरी तीनवटा ग्रुप सामाजिक सञ्जालमा भेटिएका छन् ।
जसमा दुईवटामा नेपाल सरकारको लोगो र एउटामा कारकाँदोमा रहँदाको यातायात कार्यालयको फोटो राखिएको छ । हजारौं सदस्य रहेका यी ग्रुप अहिले पनि सञ्चालनमा रहेका छन् । त्यसबाट यातायात कार्यालयसँग सम्बन्धित लेख्नै नमिल्ने गैरकानुनी सूचना सम्प्रेषण भइरहेको छ ।
जति ग्रुप बनेका छन् त्यति नै संख्यामा एकाउन्ट र पेज समेत बनेको भेटिएको छ ।
‘ट्रायल’ दिइरहेको र सूर्यास्तको फोटो प्रोफाइल बनाइएको यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँकेसहित कैयौँ पेज र एकाउन्ट सञ्चालनमा छन् । यातायात व्यवस्था कार्यालयको आधिकारिक एकाउन्ट र पेज हुँदै नभएको होइन । तर तीबाहेक आधा दर्जनभन्दा बढी अन्य पेज र एकाउन्ट सञ्चालन गरेर दलालहरूले सेवाग्राहीसँग मोलमोलाइ गरिरहेका छन् ।
जुन गैरकानुनी काम भएको बताउँछन्, नेपालगन्ज–१२ का दिलबहादुर परियार । उनी भन्छन्, ‘फेसबुकमा यातायात कार्यालय बाँकेमा नाममा जति पनि आइडी बनाएको भेटियो । त्यसले सेवाग्राहीलाई भ्रममा मात्रै पारेको छैन, ठगिने अवस्थासमेत सिर्जना गराएको छ ।’
यातायात कार्यालयले अग्रसरता लिएर त्यस्ता एकाउन्ट बन्द गराउनतिर लाग्नुपर्ने र आधिकारिक कुन हो भन्ने स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्