कोहलपुर ।
कोहलपुर नगरपालिका–१३ भरैयास्थित आफ्नो बारीमा जोतिरहेको ट्याक्टर निकुञ्ज कार्यालयका कर्मचारी तथा सेनाले नियन्त्रणमा लिएको स्थानीय सुरेन्द्रबहादुर थापाले बताएका छन् । एक जना सादा र तीन जना सैनिक पोसाकमा आएका सुरक्षा टोलीले आफ्नो बारी जोतिरहेको ट्याक्टर नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको कोहलपुर सेक्टर पु¥याएको उनले जानकारी दिए ।
‘शनिबार दिउँसो श्रीमती र म ट्याक्टर लगाएर बारीमा माटो सम्याउँदै थियौँ । अचानक एक जना सादा र तीन जना सैनिक पोसाकमा आएर ट्याक्टर रोक्न लगाउनुभयो,’ जग्गाधनी सुरेन्द्रले भने, ‘उहाँहरूले कस्को अनुमति लिनु भो ? जग्गा ऐलानी हो कि नम्बरी हो ? भनेर सोध्नुभयो । मैले ‘ऐलानी हो’ भनेर जफाव दिएँ । कसैसँग सल्लाह नगरी ट्याक्टर किन लगाएको त भन्दै माथिबाट ट्याक्टर ल्याउन आदेश आएको बताउँदै ट्याक्टर लिएर जानुभयो ।’
२०६५ सालदेखि आफूले उपभोग गर्दै आएको जग्गामा खनजोत गर्दा पनि त्यसमा रोक लगाउन खोजिएको उनले गुनासो गरे । ‘हामीले २०६५ सालबाट उपभोग गर्दै आएको जग्दामा ट्याक्टर लगाएर खनजोत गरी खान नपाउनु ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘यदि हामीले गल्ती नै गरेको भए सजाय भोग्न तयार छौँ । तर, कुनै पनि प्रक्रिया थाहा नदिई एकाएक नियन्त्रणमा लिनु अन्याय हो ।’कार्यालय आउनु भनेर सुरक्षा टोलीले ड्राइभरसहित ट्याक्टर लिएर गएको उनले बताए ।
पछि कोहलपुर कार्यालय पुग्दा अफिसमा कर्मचारी कोही नभेटिएको र फोन गर्दा पनि फोन नउठेकोे उनले जनाए । ‘शनिबार भएकाले पनि होला कार्यालयमा कोही कर्मचारी भेटिएन,’ उनले भने ।आफ्नो ७५ प्रतिशत ऐलानी जग्गा रहेको जनाउँदै उनले सो जग्गाको प्रत्येक वर्ष नेपाल सरकारलाई तिरो तिर्दै आएको बताए । ‘राष्ट्रिय निकुञ्जले पटकपटक हामीलाई यसैगरी ऐलानी जग्गा भन्दै दुःख दिने गरेको छ,’ उनले भने, ‘विगत लामो समयदेखि उपभोग गर्दै आएको जग्गामा लगाएको ट्याक्टर नियन्त्रणमा लिनु दुःखको कुरा हो ।’
बुझ्दै नबुझी निकुञ्ज कर्मचारी तथा सुरक्षा टोलीले यसरी ट्याक्टर नियन्त्रणमा लिएको वडाध्यक्ष डम्बरबहादुर खड्काले बताए । सर्वसाधारण किसानले आफ्नो बारीमा लगाएको ट्याक्टर बुझ्दै नबुझी निकुञ्जले नियन्त्रणमा लिनु गलत भएको वडाध्यक्ष खड्काको भनाइ छ । उनले केही दिनअघि वडाले बाटो बनाउने क्रममा बारीकोे माटो हालेर खाडल पुरेको र शनिबार स्थानीयले बारी सम्याउन र सोही खाडल पुर्न खोज्दा निकुञ्जले ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए । ‘यो त गलत हो,’ उनले भने, ‘निकुञ्जका यस्तै कार्यले स्थानीयले विगतदेखि नै दुःख पाउँदै आउनुपरेको छ ।’
निकुञ्जले जनतालाई सुविधा दिनुपर्नेमा अझ दुःख दिँदै आएको उनले गुनासो गरे । ‘एकातिर निकुञ्जले पेलिरहेको छ,’ उनले भने, ‘अर्कातिर जनावरले पनि दुःख दिँदै आएका छन् ।’उता बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख मनोज शाहले ट्याक्टर नियन्त्रणमा लिएको जानकारी आएको तर अन्य थप विवरण प्राप्त नभएको बताए । उनले मिसन टुडेसँग फोनमा भने, ‘मैले ट्याक्टर नियन्त्रणमा लिएको जानकारी त पाएँ, तर, आज शनिबार भएकाले थप आधिकारिक जानकारी मसँग आएको छैन, सूचना अधिकारीसँग बुझ्नुस् ।’
सूचना अधिकारी कुननारायण चौधरीले भने आफू मिटिङमा भएकाले जानकारी प्राप्त नभएको बताए ।मध्यवर्ती क्षेत्रका जनतालाई नेपाली नागरिक नै होइनन् कि जस्तो व्यवहार गरिँदै आएको स्थानीय गोपाल थापाले दुखेसो पाखे ।
प्रतिक्रिया दिनुहोस्