बाँके ।
पूर्व–पश्चिम राजमार्गको कोहलपुर ढकेरी सडक खण्डमा एकजना बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
ढकेरीदेखि दुई किलोमिटर पश्चिममा सडकमै आइतबार बिहानै बृद्धको शव फेला परेको हो । घटनास्थल र मृतक बृद्धको शरिर हेर्दा जंगली जनावरको आक्रमणबाट ज्यान गएको हुनसक्ने आंकलन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
जङ्गली जनावरको आक्रमणबाट ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई राप्ती सोनारी गाउँपालिका– ९ उद्दैनमा आफन्तको घरमा बस्दै आएका थिए ।
स्थानीयका अनुसार उनी शनिबार साँझदेखि नै सम्पर्कबिहीन रहेका थिए । उनीलाई पाटेबाघ वा चितुवाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । पोस्टमार्टम् रिपोर्ट आएपछि यसबारे थप खुल्ने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत शाहले बताए । मृतक शर्माको टाउको, घाँटी, छाती, हिपका साथै शरिरका विभिन्न भागमा चोट देखिएको छ ।
सडकमा मानिसको शव देखेपछि बिहान ६ बजे प्रहरी चौकी ढकेरीलाई गाडी चालकले खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले मृतक शर्मालाई जङ्गली जनावरले आइतबार बिहान ६ बजे अगाडि नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको बताए ।
घटनास्थल र शवको प्रकृती हेर्दा सवारी साधनको ठक्करभन्दा पनी कुनै जनावरको आक्रमणबाट ज्यान गएको हुनसक्ने देखिएको उनले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको बताउँदै प्रहरी निरीक्षक भट्टराईले पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए ।