16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

‘हिउँदे अधिवेसन दाङमा चल्छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८  

शिवु खनाल । दाङ ।

लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेसनसम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताएका छन् ।

स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज शुरुवात गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री उनले प्रदेशसभा भवन निर्माण काम भइरहेको, स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोवरढीया सार्ने सहमति गरेर शिक्षालयको लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइरहेकाले सबै कार्यालयहरु छिट्टै देउखुरी आउने विश्वास बताएका हुन् ।

‘सबै कार्यालयलाई व्यवस्थापन गर्ने जिम्मेवारी ग्रामिण तथा शहरी विकास मन्त्रालयको भएकाले हामी यहाँ आएर कामको शूरुवात गरेका छौं’ केहिदिन भित्रै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई स्थायी राजधानीमा सार्ने गरी काम थालेका छौ’ मन्त्री रिजालले भने ।

राप्ती उपत्यकाको देउखुरी प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा रहेका र देउखुरी प्राकृतिक हिसावले पनि राजधानीको लागि उत्तम रहेको ठहर उनको रहेको थियो ।

मन्त्रालयले पहिलो चरणमा राजधानीसँग सम्बन्धित काम नै प्राथमिकताका साथ काम गर्ने भएकाले राजधानीसँग सम्बन्धित सबै कार्यालयहरु स्थापना गरेर नयाँ जोसका साथ निर्वाचनमा जाने उनको भनाइ रहेको थियो । बुधवार राप्ती उपत्यकाको देउखुरीबाट ग्रामिण तथा शहरी विकास मन्त्रालयले औपचारिक रुपमा कामकाज सुरु गरिसकेको छ ।

प्रदेश स्थायी राजधानीमा स्थापना हुने ग्रामिण तथा शहरी विकास मन्त्रालय पहिलो मन्त्रालय हो । ग्रामिण तथा शहरी विकास मन्त्रालयले खानेपानी तथा सरसफाई स्वच्छता, भवन आवास तथा शहरीकरण र पर्यटन प्रर्वद्धन तथा विकाससँग सम्बन्धित कार्य गर्ने मन्त्री रिजालले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८     8:57:51 AM  |