कोहलपुर ।
पछिल्लो समय ‘बर्थ डे’ अर्थात जन्मदिन प्रायः मानिसहरू केक काटेर र फजुल खर्च गरेर मनाउने गरिरहेका हुन्छन् । पार्टी प्यालेसदेखि ठूलाठूला रेस्टुरेन्टमा तामझामका साथ जन्मदिन मनाउनु कुनै नौलो कुरा होइन । तर, कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुबेदीले भने मानवीय कार्य गरेर जन्मदिन मनाएकी छन् ।
उप–प्रमुख सुबेदीले विगत लामो समयदेखि धार्मिक स्थल तथा आश्रममा आश्रित असहायहरूसँगै जन्मदिन मनाउने गरेकी छन् । यो वर्ष पनि उनले आइतबार नीलसागर सेवाआश्रम कोहलपुरमा तातोचिसो पानीका लागि गिजर हस्तान्तरण गरेर मनाएकी छन् । आश्रममा आश्रित ज्येष्ठ सदस्यबाट टीका र आशीर्वाद ग्रहण गरेर उनले आफ्नो जन्मदिन मनाएकी थिइन् ।
आइतबार बिहान राम जानकारी मन्दिर चप्परगौडीमा उनले दान दक्षिणा दिनुका साथै ५० जनालाई एक छाक खाना समेत खुवाएको उनले बताइन् । कोहलपुर नगरपालिका उपमेयर नहुँदा पनि विगतका वर्षहरूमा उनले नीलसागर आश्रम कोहलपुरमा विभिन्न खाद्यान्न सहयोग गर्दै आएको बताइन् ।
‘वर्षदिनमा कम्तीमा एकपटक जन्मदिनको अवसर पारेर सबैले फजुल खर्च नगरी यसरी नै मानवीय सहयोग गर्नसके राम्रो हुने उनको धारणा छ। आश्रममा आश्रित आमाबुबा तथा असहाय बालबालिकासँगै ‘बर्थ डे’ मनाउन पाउँदा साँचिक्कै खुसी लाग्ने गरेको उनले सुनाइन् । ‘बर्थ डे’मा गर्ने फजुल खर्चले असहाय दीनदुःखीलाई एक छाक भए पनि खाना खुवाए पुण्य प्राप्त गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्