उदाहरण बनेकी गीता मौर्यः हातमा डबल डिग्री, आठ वर्षदेखि कुखुरापालन



कमल डाँगी । नेपालगन्ज ।
पछिल्लो समय पढेलेखेका युवायुवती जागिरै खानुपर्छ वा व्यवसाय नै गर्नुपर्छ भन्ने मान्यताबाट मुक्त हुँदै गएका छन् । उनीहरू उच्च शिक्षा हासिल गरे पनि आफ्ना रुचिअनुसारका काम गर्न अग्रसर हुन थालेका छन् । अझ उनीहरू धमाधम कृषि कार्यमा समेत संलग्न भइरहेका छन् । यिनैमध्ये एक हुन् नेपालगन्ज–१२ की गीता मौर्य ।

हातमा हस्पिटल म्यानेजमेन्ट र व्यवस्थापन संकायको डिग्री छ । तर उनले जानकी गाउँपालिका–२ स्थित जग्गामा अण्डा उत्पादनका लागि २ हजार लियर्स र स्थानीय जातका कुखुरा पालन गरिरहेकी छन् । अन्य खेतीपातीमा पनि उनी निकै व्यस्त छन् । मौर्य नेपालगन्जमा जन्मिइन् र हुर्किइन् । बुबाआमाले राम्रै पालनपोषण गरे । दाजुबहिनी बीच कुनै विभेद गरेनन् । त्यसैले उनले राम्रोसँग पढ्न लेख्न पाइन् ।

मौर्य भन्छिन, ‘फरक समुदायिक पृष्ठभूमि भए पनि हामीले कहिले पनि त्यस्तो महसुस गर्नुपरेन । बुबाआमाले राम्रो हेरचाह गर्नुभयो ।’
उनले राम्रोसँग पढ्ने अवसर पाइन् । त्यसैले हस्पिटल म्यानेजमेन्ट र व्यवस्थापन संकायसम्म पढ्ने अवसर पाइन् । नेपालमा राम्रै जागिर पाइने यी डिग्री अनुसारको जागिर खान भने उनलाई कत्ति पनि रुचि भएन । आफूले भने जस्तो गर्न उनले कृषि रोजिन् । कृषिमा प्रशस्त सम्भावना नभएको होइन । तर कृषिमा आधुनिकीकरण छैन ।

त्यो गर्न नयाँ पुस्ताको आगमन नभएको महसुस गरेर उनले यो क्षेत्रमा हात हालेकी हुन् ।अध्ययनकै सिलसिलामा मौर्य दक्षिण अमेरिका पुगिन । त्यहाँ उनले कृषिसँग सम्बन्धित पढाइ गरिन् । त्यहाँ पढेर सिकेको कुरा स्वदेशमा लगाइन् । अहिले उनी उदाहरणीय कृषक बन्न सफल भएकी छन् । आठ वर्षदेखि लोभलाग्दो र उदाहरणीय कृषि कर्म गरिरहेकी छन् । उनी कृषि क्षेत्रमा धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन् ।

दक्षिण अमेरिकाबाट पढाइ सकेर उनले बुबाको जग्गा रहेको ठाउँमा सुरुमै ५ हजार कुखुरा पालिन् । अण्डा राम्रैसँग उत्पादन गरिन् । शुरुमा बिक्रि पनि राम्रै भयो । तर २०७४ सालमा अण्डाको कारोबार घटेपछि बजार माग अनुसार अहिले २ हजार कुखुरा पालिरहेकी छन् । जसमा दैनिक ३५ क्यारेट अण्डा घरबाटै बिक्री हुन्छ । बेच्न कुनै समस्या नभएको उनको भनाइ छ ।

‘मलाई अहिले बेच्न समस्या छैन । बजारको माग अनुसार उत्पादन गरेकाले तनाव लिनु नपरेको हो,’ उनले भनिन् । मौर्यले स्थानीय जातको कुखुरापालन गरिरहेकी छन् । उनले उन्नत जातका कुकुरसमेत पालन गरेर आम्दानी गरेकी छन् । उनले नै बाँकेमै जर्मन सेफर्ड, डाबरमेन र पमेलियन जस्ता उन्नत जातका कुकुरको व्यावसायिक पालन सुरु गरे गरेकी हुन् । पाल्नका लागि ल्याएका कुकुरबाटै व्यावसायिक कुकुरपालन सुरु गरेकी हुन् जुन सफल भइरहेको छ ।

अहिले नेपालगन्जमै पेट हाउसहरूले अर्डर गरेपछि मात्रै अन्यत्रबाट कुकुर ल्याउने गरेका छन् । यहाँ नै उत्पादन हुँदैन । तर मौर्यले नेपालगन्जमै कुकुर पालन सुरु गरेपछि नेपालगन्ज मात्रै नभई भारतबाट समेत माग आइरहेको छ । कृषि क्षेत्रमा निराशा व्यक्त भइरहेका बेला मौर्य एउटा आशाको केन्द्र बनेकी छन् । कृषिबाट देशको प्रगति हुने बताउँदै उनी भन्छिन, ‘निरन्तरता, इच्छाशक्ति चाहिन्छ, कृषिमा सम्भव छ।’

  • No tags available
प्रकाशित मिति : २०८० फागुन २१ गते सोमबार