बाँसगढी ।
बाँसगढी उद्योग वाणिज्य संघले वाइवाइ छैटौँ बाँसगढी औद्यौगिक कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०८० को आय–व्यय सार्वजनिक गरेको छ । पुस २९ देखि ९ माघसम्म सञ्चालित मेलाको करिब दुई महिनापछि शनिबार सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण प्रस्तुत गरिएको हो ।
वाणिज्य संघको आफ्नै भवनमा एक कार्यक्रमका बीच संघका कोषाध्यक्ष शेरबहादुर सुनारले आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेका थिए । विवरण अनुसार महोत्सवमा संघले ७० लाख १६ हजार ९ सय ५० रुपैयाँ कारोबार गरेको छ । जसमा ४७ लाख ४४ हजार ४ सय १९ रुपैयाँ खर्च कटाएर २२ लाख ७२ हजार ५ सय ३१ रुपैयाँ बचत गरेको कोषाध्यक्ष सुनारले जानकारी दिए ।
मेलामा कलाकारलाई पारिश्रमिकका लागि १७ लाख ५६ हजार ३ सय रुपैयाँ खर्च गरिएको संंघले जनाएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाँसगढी नगरपालिका–५ का अध्यक्ष दहवा थारूले उद्योग वाणिज्य संघ गठन हुँदा झोलामा कार्यालय बोकेर हिँड्नुपर्ने अवस्था रहे पनि अहिले संघको आफ्नै भवन बन्न सकेको बताएका थिए ।
महोत्सव आयोजना भइरहँदा घाटामा जाने हो कि भन्ने चिन्ता रहे पनि मेला सफलतापूर्वक सम्पन्न भएको र संघले केही रकम बचतसमेत गर्न सकेकोमा खुसी व्यक्त गरे । ‘सबैको साथ र सहयोगले मेला नाफामा गएकोमा हामी खुसी छौँ,’ उनले भने ।
कार्यक्रममा बोल्दै बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले थुप्रै चुनौतीका बाबजुद पनि महोत्सव सम्पन्न भएको बताए । मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई उनले धन्यवाद दिए । मेलामा बचत भएको रकमबाट संघ भवनको दोस्रो तला निर्माण गरिने जानकारी पनि दिए ।