17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

छात्राहरूलाई त्रिकेट सामग्री वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित सामुदायिक विद्यालयहरूलाई खेलकुद सामग्री वितरण गरेको छ । नगरपालिकाका तर्फबाट कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबेदीले शुक्रबार दुई विद्यालयका छात्रालाई खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् ।
कोहलपुरस्थित ५ सामुदायिक विद्यालयका छात्रालाई खेलकुद सामग्री वितरण गर्नेक्रममा शुक्रबार कोहलपुर–११ का दुई विद्यालयलाई एक सेट क्रिकेट सामग्री वितरण गरिएको थियो । अन्य तीन विद्यालयलाई आइतबार सो सामग्री हस्तान्तरण गरिने उनले जानकारी दिइन् ।

त्रिभुवन मावि र ज्ञानज्योति मावि बगियाका महिला क्रिकेट खेलाडीहरूलाई सो सामग्री हस्तान्तरण गरिएको हो ।आगामी फागुन १६ गतेदेखि कोहलपुरमा सुरु हुने उपमेयर कप महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगीहरूलाई अभ्यासका लागि सहयोग पु¥याउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको उनले बताइन् ।

गत वर्ष उपमेयर कप महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरूलाई मात्र सो सामग्री वितरण गरिएको उनले जनाइन् । ‘सबै विद्यालयलाई सामग्री वितरण गर्नसक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘त्यसैले एउटा मापदण्ड बनाएर गत वर्ष प्रतियोगितामा सहभागी भएका स्कुलका छात्रलाई अभ्यासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो सामग्री वितरण गरेका हौँ ।’

सो क्रिकेट सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षाका साथसाथै खेलकुद गतिविधिलाई पनि नगरपालिकाले प्राथमिकता दिएको बताइन् । उनले आगामी उपमेयर कपमा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गर्न पनि छात्राहरूलाई आग्रह गरिन् । उपमेयरसहित कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, नगर शिक्षा शाखा प्रमुख रामबहादुर रावललगायतको टोलीले विद्यालयका प्रधानाध्यापकको रोहबरमा खेलाडी छात्राहरूलाई सो सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०८०     7:52:10 AM  |