लास कुरेर घन्टौँ घाटमा बसिरहे कोहलपुरबासी



सनत सापकोटा ।कोहलपुर ।
कोहलपुरदेखि ३९ किलोमिटर दूरीमा छ, अगैया घाट । अगैयास्थित राप्ती नदीको यही घाटमा नै प्रायः कोहलपुर क्षेत्रका मृतकहरूको दाहसंस्कार गरिँदै आएको छ । नजिकमा अन्य घाट नभएकाले कोहलपुरबासीका लागि ३९ किलोमिटर दूरीको यही घाट प्रयोग गर्नुको तत्कालका लागि विकल्प छैन ।

‘यो घाट हाम्रा लागि निकै अपायक छ,’ कोहलपुरकै स्थानीयबासी, कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सामाजिक सरोकार मञ्चका अध्यक्ष राजेन्द्र श्रेष्ठ भन्छन्, ‘दूरीका हिसाबले टाढा मात्र नभएर निकुञ्जको बाटो हिँड्नुपर्ने भएकाले सुरक्षाका हिसाबले पनि मलामीहरूका लागि चुनौती छ ।’

प्रायः मलामीहरू मोटरसाइकलमा हिँड्ने हुँदा बाटोमा निकुञ्जभित्र वन्यजन्तुको आक्रमणको त्रास बेग्लै हुने श्रेष्ठले बताए । दूरीका हिसाबले पनि आतेजाते ७८ किलोमिटर हिँड्नुपर्ने भएकाले यो कोहलपुरबासीका लागि समस्याको विषय भएको उनको भनाइ छ ।हिजै पनि कोहलपुरबासीले घाट टाढा हुनुको नमीठो अनुभूति गर्नुपरेको थियो । कोहलपुरमा मंगलबार दिउँसो हृदयघातका कारण स्थानीय रामनाथ पोखरेलको निधन भयो ।

घाट टाढा भएकाले उही दिन नभ्याइने भएपछि बुधबारमात्र उनलाई दाहसंस्कारका लागि घाट लगियो । कोहलपुर बजार क्षेत्रका प्रायः व्यापारी पोखरेलको मलामी गए । संयोग पोखरेललाई घाट लगिसकेपछि लगत्तै कोहलपुर–११ का पुराना बासिन्दा मेजरमान श्रेष्ठको पनि मृत्यु भयो । घाटमा पोखरेलको दाहसंस्कारमा जुटेका मलामीले यो खबर पाए । त्यसपछि मलामीहरू घर फर्कौं कि त्यहीँ बसौँ अन्योलमा परे ।

‘थाहा पाइसकेपछि फेरि घर फर्कौं यहीँ मलामी आउनुपर्छ, बसौँ कहिले ल्याइपु¥याउने हुन् थाहा छैन,’ घाटबाटै साहित्यकार सागर गैरेले भनेका थिए, ‘हामी त घाटमै मेजरमानको लास कुरेर पो बसिरहेका छौँ ।’ दुबै लासको अन्तिम संस्कार गरेर बुधबार अबेर कोहलपुरका व्यापारी घर फर्केका थिए ।

घाट टाढा भएकाले यसरी नै कोहलपुर क्षेत्रका मानिसले दुःख पाइरहनुपरेको र समय बरबाद हुने गरेको गैरेकोे भनाइ छ । टाढा भएकाले नजिकमै घाट बनाउनुपर्ने कोहलपुरबासीको वर्षौंदेखिको माग पनि रहँदै आएको छ । तर सुनुवाइ भने भएको छैन ।  ‘कोहलपुरदेखि १७ किलोमिटर दूरी शमशेरगन्जमा राप्ती नदीमै हामीले नयाँ घाटको पहिचान पनि गरेका छौँ,’ श्रेष्ठ भन्छन्, ‘यहाँ घाट निर्माण भयो भने कोहलपुर आसपासका मानिसहरूलाई धेरै सजिलो हुन्छ ।’ तर नगरपालिकाले यसमा खासै चासो नदिएको उनले गुनासो गरे ।

थारू समुदायको अन्तिम संस्कारका लागि डुडुवामा घाट निर्माण भए पनि पहाडी समुदायका लागि त्यो उपयुक्त नभएको श्रेष्ठको भनाइ छ । ‘पहाडी समुदायका लागि पानी बग्ने नदी चाहिन्छ,’ उनी भन्छन्, ‘त्यसैले राप्ती नदीकै कोहलपुरबाट सबैभन्दा नजिकको दूरी शमशेरगन्जमा घाट उपयुक्त छ ।’ त्यहाँ स्थानीय सरकारले आवश्यक संरचना निर्माण गरिदिए कोहलपुरबासीका लागि निकै सजिलो हुने उनको भनाइ छ ।

घाट निर्माणका लागि पटकपटक नगरपालिकामा अनुरोध गरिए पनि सुनुवाइ नभएको उनले बताए । ‘सामाजिक सरोकार मञ्चका तर्फबाट हामीले मेयरलाई भेटेर पनि यो विषयमा ज्ञापनपत्र बुझाएका छौँ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘मेयरसाबले पनि सर्वदलीय बैठक बसेर जहाँ उपयुुक्त हुन्छ त्यहाँ बनाउँला त भन्नुभएको छ । तर सायद त्यतातिर समय दिने फुर्सद उहाँलाई छैन ।’

अगैया घाट हरेक हिसाबले कोहलपुरबासीका लागि अनुपयुक्त भएको पत्रकार एवम् उपभोक्ता संरक्षण मञ्च कोहलपुरका अध्यक्ष विष्णु बेल्बासेको पनि भनाइ छ । घाटका विषयमा पटकपटक कुरा उठे पनि ठोस काम हुन नसकेको उनले बताए । ‘सुरक्षा, खर्च, दूरी हरेक हिसाबले यो कोहलपुरबासीका लागि अनुपयुक्त छ,’ बेल्बासे भन्छन्, ‘जतिसक्दो चाँडो नजिकमा घाट नबनाइ हुँदैन ।’

कोहलपुरदेखि १० किलोमिटरको दूरीमै रहेको झिझरी खोलामै घाट बनाउन सकिने उनको तर्क छ । ‘शमशेरगन्ज पनि पुग्नुपर्दैन, राप्ती सोनारी गाउँपालिकाको झिझरी खोलामा नै घाट बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘त्यो ठाउँको हामीले अवलोकन पनि गरेका छौँ ।’ लुटबहादुर रावत मेयर हुँदादेखि नै घाटको विषयमा कुरा उठे पनि अहिलेसम्म केही काम हुन नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

वर्तमान मेयरलाई पनि कोहलपुरबासीले पटकपटक ध्यानाकर्षण गराएको उनले बताए । ‘दुई पालिका (कोहलपुर र राप्ती सोनारी) बीच कुराकानी भएर समन्वय पनि भइरहेको भन्ने सुनेको छु,’ उनले भने, ‘तर काम किन हुन सकेन थाहा छैन ।’ कोहलपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा घाट निर्माणलाई प्र्राथमिकता दिँदै बजेट समेत छुट्टयाएको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बताए।

‘घाट निर्माणका लागि हामीले वीरेन्द्रबहादुर शाहको नेतृत्वमा एउटा समिति नै बनाएका छौँ,’ मेयर आचार्यले भने, ‘त्यही समितिले विभिन्न स्थानका ५ वटा ठाउँ छनोट गरेको छ । त्यसमध्ये कुन उपयुक्त हुन्छ । त्यहीँ घाट निर्माण हुन्छ ।’शाह नेतृत्वको समितिले आगामी फागुन ५ गते सर्वदलीय बैठक गरेर ठाउँबारे निश्चित गर्ने पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार