26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सम्पादकीयः घर मात्रै बनाउने कि घाट पनि !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २, २०८०  

मानिसलाई बाँचुन्जेल घर चाहिन्छ, मरेपछि घाट । यी दुवै मानिसका लागि अत्यावश्यक बस्तु हुन् । त्यसैले त यी दुवै चिज नहुनेलाई नेपाली समाजमा ‘घरको न घाटको’ भनिएको होला । जसरी समाजमा मानिसका लागि हावा, पानी, अन्न, इन्धन इत्यादि बस्तु आवश्यक पर्छ त्यसैगरी मृत्युपछि अन्तिम संस्कारका लागि घाट चाहिन्छ ।

घाट, कब्रिस्तान या यस्तै अन्य जुनसुकै नामले पुकारिए पनि त्यो हरेक धर्म सम्प्रदायका मानिसका लागि आवश्यक छ । हरेक धर्म परम्परामा अन्तिम संस्कारका लागि एउटा निश्चित स्थान तोकिएको हुन्छ । नेपाली समाजमा त्यसलाई घाट भन्ने चलन छ । बाँचुन्जेल मान्छे जसरी सुविधायुक्त घरमा बस्न चाहन्छ त्यसरी नै मरेपछि अन्तिम संस्कारका लागि पनि पायकमा घाट होेस् भन्ने चाहना राखिन्छ । तर यही कुरा नहुँदा कोहलपुरबासीले वर्षौंदेखि कष्ट भोग्नुपरिरहेको छ ।

कोहलपुर आज उदाउँदो सहरका रूपमा विकसित भइरहेको छ । दिनप्रतिदिन यहाँ घरहरू थपिनेक्रम जारी छ । मानिसहरू बसोबासका लागि कोहलपुर आइरहेका छन् । सुविधायुक्त बसाइका लागि नयाँ–नयाँ अत्याधुनिक घरहरू बनाइरहेका छन् । मानिसहरूको बाक्लो बस्ती विकास भइसक्दा पनि यहाँ मृत्युपछिको अन्तिम संस्कारका लागि पायकमा घाट बनाउनेतिर भने सरोकारवाला निकायको ध्यान गएको छैन ।

वर्षौंदेखि कोहलपुरबासी घाटको अभावमा कसैको मृत्युमा दाहसंस्कारका लागि ४२ किलोमिटर टाढाको भरैया पुग्न बाध्य छन् । मर्ने मरे पनि बाँच्नेहरूले पनि सहज तरिकाले उनीहरूको अन्तिम संस्कार गर्न पाइरहेका छैनन् । अलि हास्य रस मिसाएर भन्ने हो भने घाट टाढा भएकाले कोहलपुर आसपासमा मर्नेहरूले पनि समय मिलाएर मरिदिनुपर्ने भएको छ । नत्र घरमै ‘बासी लास’ बन्नुपर्ने बाध्यता छ । यो घाट कोहलपुरबासीका लागि निकै टाढा मात्र होइन हरेक हिसाबले अपायक पनि छ ।

निकुञ्जको बाटो हिँड्नुपर्ने भएकाले मलामीका लागि सुरक्षाका हिसाबले पनि चुनौतीपूर्ण छ । प्रायः मलामी मोटरसाइकलमा हिँड्ने हुँदा निकुञ्जभित्र बाघ आक्रमणको त्रास छ । अघिल्लो हप्ता मात्रै कोहलपुरबासीले घाट टाढा हुनुको नमीठो अनुभूति गर्नुपरेको थियो । कोहलपुरमा मंगलबार दिउँसो स्थानीय रामनाथ पोखरेलको निधन भयो । घाट टाढा भएकाले उही दिन नभ्याइने भएपछि बुधबारमात्र उनलाई दाहसंस्कारका लागि घाट लगियो । संयोग पोखरेललाई घाट लगिसकेपछि लगत्तै कोहलपुरका अर्का पुराना बासिन्दा मेजरमान श्रेष्ठको पनि मृत्यु भयो ।

यो कुरा मलामीले घाटमै थाहा पाए । पोखरेलको दाहसंस्कार सकेर फर्किने तयारीमा रहेका मलामी त्यसपछि घर फर्कौं कि त्यहीँ कुरेर बसौँ भन्ने अन्योलमा परे । घर फर्कौं फेरि मलामी त्यहीँ जानुपर्छ, कुरेर बसौँ कहिले ल्याइपु¥याउने हुन् थाहा छैन । दुबै लासको अन्तिम संस्कार गरेर बुधबार अबेर कोहलपुरका व्यापारी घर फर्केका थिए । यो त एउटा दृष्टान्त मात्र हो ।
घाट टाढा भएकाले नजिकमै घाट बनाउनुपर्ने कोहलपुरबासीको वर्षौंदेखिको माग रहँदै आएको छ ।

तर सुनुवाइ भने भएको छैन । घाटका लागि समुदाय स्तरका व्यक्ति ताते पनि सरोकारवाला निकाय तातेको छैन, ताप्के नतातेपछि बिँड मात्र तातेर के गर्नु ! घाटका लागि विभिन्न विकल्पहरू अघि सारिएका छन् । कोहलपुरदेखि १७ किलोमिटर दूरी शमशेरगन्जमा राप्ती नदीमै नयाँ घाटको पहिचान गरिएको छ । त्यसैगरी, १० किलोमिटरकै दूरीमा ढकेरीदेखि भित्र झिझरी खोलामा पनि घाट बनाउन सकिने कतिपयको तर्क छ ।

नजिकमै घाट निर्माण गर्ने विषयमा कोहलपुर नगरपालिकाले समिति निर्माण गरेर छनोटको काम भइरहेको त जनाएको छ । तर लामो समय बित्दा पनि परिणाम भने दिन सकिरहेको छैन । स्थानीयले दिनदिनैजसो दुःख पाइरहेका छन् । यसले पाँच वर्षअघिदेखि उठाइएको जनताको वास्तविक आवश्यकताको मागप्रति अहिले पनि नगरपालिका गम्भीर छैन भन्ने पुष्टि गरिरहेको छ ।

घाटको कुरा उठेयता कोहलपुरमा कति नयाँ घर तथा संरचना निर्माण भए । तर घाट पहिचान र निर्माण गर्ने कुरामा नगरपालिकाले महत्व दिएकोे देखिएको छैन । त्यसैले त कोहलपुरबासीले प्र्रश्न गर्न थालेका छन्– ‘मेयरसाब ! घर मात्रै बनाउने कि घाट पनि ?’ यतातिर पनि गम्भीर भएर सोचियोस् ।

 

प्रकाशित मितिः बुधबार, फाल्गुन २, २०८०     10:08:14 AM  |