नेपालगन्ज ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको मूलगेटमा परिचयसहितको साइनबोर्ड झुन्ड्याइएको छ । जसको सबैभन्दा माथि ‘पश्चिम नेपालको गौरव’ लेखिएको छ । पश्चिमकै ठूलो र त्रिभुवन विश्वबिद्यालयको जेठो आंगिक क्याम्पसका रूपमा साइनबोर्डमा उल्लेख भएजस्तै यसको गौरवपूर्ण इतिहास पनि छ ।
तर पूर्वाधारको दुर्दशा यति दयनीय छ कि विद्यार्थीहरू ‘गोठ’भन्दा पनि खत्तम छात्रवासमा जोखिम मोलेर बस्न बाध्य छन् भने अध्ययन अध्यापन हुने भवन र कक्षा कोठा पनि जीर्ण भइसकेका छन् । दुई दशकअघि निर्माण भएको यहाँको छात्राबास अलपत्र परेको छ । भारतीय दूतावासको सहयोगमा तत्कालीन अवस्थामा झन्डै डेढ करोड खर्चेर बनाइएको छात्राबासको अत्याधुनिक पूर्वाधार अधकल्चो छ जो पुरानो भइसकेका कारण अब प्रयोग गर्न सक्ने अवस्थामा छैन ।
पिलरहरू फुटेका छन् भने छडहरू चोरी भएका छन् । स्थानीयका भनाइअनुसार उक्त अधकल्चो भवन नशा सेवन गर्नेहरूको अड््डा बनेको छ । नशा सेवन गर्नेहरूले अड्डा बनाएका कारण स्थानीयहरू समेत हैरान छन् ।यो छात्राबास कहिले बन्छ र कहिलेदेखि छात्राहरू बस्न पाउँछन् भन्ने टुंगो छैन । सबैभन्दा दुर्दशा त छात्रबासको छ । स्नातक र स्नात्तकोत्तर तह पढ्ने विद्यार्थी बस्ने भवन कुनै गोठभन्दा कम छैन ।
पाँच वर्षदेखि यहाँ बस्दै आएका विद्यार्थी सुरेश विकले भने, ‘कतिबेला भवन भत्किएर चोट लाग्ने हो डर लागिराख्छ ।’ विकका अनुसार छात्रबास गोठ भन्दा कम छैन । उनी भन्छन्, ‘बरु गाइगोरुलाई स्यहारसुसार गर्ने गोठ राम्रो हुन्छ । यहाँ डिग्री पढ्ने विद्यार्थी बस्ने छात्रबास त्योभन्दा खत्तम छ ।’ विभिन्न पहाडी जिल्लाका विद्यार्थीहरू महँगो भाडा तिर्न सक्दैनन् ।
उनीहरूका लागि जस्तोसुकै भए पनि छात्रबास बसोबास गर्ने विकल्प बनेको स्ववियु सभापति माधव खत्री बताउँछन् । उनी भन्छन्, ‘यसरी अन्यत्रबाट आउने विद्यार्थीको बस्ने विकल्प बनेको छात्रबास भने खण्डहर जस्तो बनेको छ ।’ सभापति खत्रीले यहाँको छात्रबासले शिक्षा क्षेत्रको नीति निर्माण गर्नेहरूलाई गिज्याइरहेको बताए । उनी भन्छन्, ‘शिक्षा क्षेत्रमा लगानी भयो भनिन्छ । त्यहाँका लगानी कहाँ जान्छन् ?’
२०२५ सालमा स्थापना भएका छात्रबासमा तीन वटा भवन छन् । एक नम्बर भवन त प्रयोग नै गर्न नमिल्ने भन्दै क्याम्पस प्रशासनले विद्यार्थी बस्नै रोक लगाएको छ । पटक–पटक सूचना नै निकालेर नबस्नु भने पनि विद्यार्थीहरू जोखिम मोलेर बसिरहेका छन् । यसरी जोखिम मोलेर बस्नुपर्ने बाध्यता सुनाउँदै नाम उल्लेख नगर्ने सर्तमा एक जना विद्यार्थीले भने, ‘बाहिर भाडा लिएर बस्ने खर्च हुँदैन । बाँकी दुईवटा भवन प्याक छन् अनि जोखिम छ भन्ने थाहा पाइपाई पनि आएर बसिरहेका छौं ।’
पश्चिमकै ठूलो र त्रिभुवन विश्वबिद्यालयका हजारौं विद्यार्थी उत्पादन गरेको पश्चिमको सबैभन्दा ठूलो महेन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार भूतबंगला जस्तो छ । यहाँ पढेका, राजनीति गरेका विद्यार्थी नेता कोही सांसद त कोही पालिकाका प्रमुख छन्, तर क्याम्पसको हरिबिजोग देखेर कसैको मन पग्लिएको छैन । जतिसुकै क्याम्पस खुले पनि महेन्द्र बहुमुखी क्याम्पसमा पढ्नेको क्रेज घटेको छैन ।
यो क्याम्पस जुनसुकै वर्गका विद्यार्थीको रोजाइ बन्छ । थोरै खर्चमा गुणस्तरीय पढाइ हुने गरेका कारण पश्चिमका सबै जिल्लाका विद्यार्थीहरू यहाँ पढ्न आउने गरेका छन् । यतिका विद्यार्थीको रोजाइमा पर्ने क्याम्पसको पूर्वाधारको दयालाग्दो अवस्था देख्दा नीति निर्माताप्रति आक्रोस व्यक्त गर्नेको कमी छैन ।
पूर्व स्ववियु सभापति प्रमोद धिताल भन्छन्, ‘हिजो जे अवस्था थियो अहिले पनि उही हुनु विडम्बना हो । विद्यार्थी नभएका ठाउँमा पूर्वाधार बनेका छन् तर जहाँ विद्यार्थी छन् त्यहाँ पूर्वाधार छैन ।’ क्याम्पस अनुगमनमा पुगेका प्रतिनिधि सभा सांसद डा. धवलशम्सेर राणाको मन पनि त्यहाँको हरिबिजोग पूर्वाधार देखेर कटक्क खायो ।
उनले भने, ‘बाहिर यो क्याम्पसको वाहीवाही हुने भित्र यस्तो पूर्वाधार ! यसो हुनु भएन ।’ क्याम्पसमा टाढाबाट पढ्न आउने विद्यार्थी बस्ने छात्रबासदेखि पठनपाठन हुने केही भवनहरू जीर्ण अवस्थामा पुगिसकेका छन् । यति जोखिम छ कि कुनै बेला अप्रिय घटना घट्छ कि भन्ने त्रासमा विद्यार्थी छन् । क्याम्पसको व्यवस्थापन तथा अध्यापनमा सुधार आउँदै गरेको महेन्द्रमा हाल अध्ययनका लागि आउने विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
हाल महेन्द्रमा ६ हजारको हाराहारीमा विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । तर क्याम्पसका भौतिक संरचना एवम् कक्षाकोठा भने ज्यानमारा बन्दै गएका छन् । क्याम्पसका प्रमुख लालमणि आचार्य क्याम्पसका पुराना भवनमा विद्यार्थीलाई अध्यापन गराउनै नमिल्ने अवस्थामा पुगेको बताउँछन् । क्याम्पसको दक्षिणतर्फ रहेको भवनको छतबाट ईट्टा र कंक्रिट खस्ने गरेको छ ।
सबै कोठाहरूको छत उस्तै देख्न सकिन्छ । महेन्द्र विद्यालयको उत्तरतर्फको भवनबाहेक बाँकी सबै भवन पुराना हुन् । यी भवनहरू २०२२ सालमा राजा महेन्द्रका पालामा बनेका हुन् । यसरी हेर्दा ती भवनहरू ५७ वर्ष पुराना भएको देखिन्छ । सरदरमा कुनै पनि भवनको अधिकतम आयु ५० वर्ष हुन्छ ।
महेन्द्र क्याम्पस राजा महेन्द्रको पालामा स्थापना भएको र भवन पनि उनकै पालामा बनेका कारण क्याम्पसको नामकरण उनकै नामबाट गरिएको हो । महेन्द्र बहुमुखी क्याम्पसका तर्फबाट भवनबारेमा पूर्ण विवरणसहित १० करोड रुपैयाँको स्टिमेट केन्द्रका विभिन्न निकायमा पठाइसकिएको छ । प्रमुख आचार्यका अनुसार विश्वविद्यालयका सम्पूर्ण निकायदेखि शिक्षा मन्त्रालय, अर्थ मन्त्रालयमा महेन्द्र क्याम्पसको भवनको जानकारी पठाई सकिएको छ ।
अलपत्र परेको छात्राबास निर्माणमा भारतीय दुताावासले चासो दिएका कारण फेरि बन्ने सम्भावना रहेको छ ।नेपालगन्ज उप–महानगरपालिकाका जनप्रतिनिधिहरूले पनि महेन्द्रका भवनहरूको अवलोकन गरिसकेका छन् । तर उक्त भवनको विषयमा कुनै पनि निकायबाट ठोस पहल हुन नसकिरहेको क्याम्पस प्रशासनले जनाएको छ । महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति माधव खत्री क्याम्पस र छात्राबासको पूर्वाधार निर्माण अविलम्ब हुनुपर्ने बताउँछन् ।
‘यसलाई स्ववियुले पनि प्रमुख मुद्दा बनाएको छ,’ सभापति खत्री भन्छन्,– ‘पूर्वाधार जीर्ण बनेको छ । यसको सुधारका लागि स्ववियुले भन्नुपर्ने धेरै ठाउँमा भनिसकेको छ । मलाई विश्वास छ सम्बोधन हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्