गणेश रावत। कोहलपुर ।
इलाका प्रशासन कार्यालय कोहलपुरको भवन जीर्ण भइसक्दा पनि त्यसतर्फ कसैको ध्यान जान सकेको छैन । इलाका प्रशासन कार्यालय कोहलपुर वर्षौंदेखि भाडाको जीर्ण भवनमा सञ्चालन हुँदै आएको छ । तर, त्यसप्रति सरोकारवाला कसैले पनि ध्यान दिएका छैनन् ।
स्थापना कालदेखि नै इलाका प्रशासन भाडामा रहेको घरबाट सञ्चालन हँुदै आएकोे हो । स्थापनाको ८ वर्ष बितिसक्दासमेत कार्यालयको आफ्नै भवन नहुँदा नगर विकास समितिको स्वामित्वमा रहेको पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ ।
२०७३ सालबाट औपचारिक रूपमा सेवा दिन थालेको इलाका प्रशासन कार्यालय कोहलपुरले स्थापनाको लामो समय बितिसक्दासमेत आफ्नो भवन निर्माण गर्न सकेको छैन । संघीय सरकार गृह मन्त्रालयमातहत र जिल्ला प्रशासन कार्यालयको इकाइको रूपमा रहेको कोहलपुर इलाका प्रशासन कार्यालय स्थायित्वको खोजीमा रहे पनि सोको प्रबन्ध हुन नसकेको कार्यालय प्रमुख मनोज थारूले बताए ।
आफ्नै भवन नहुँदा सोचेअनुसार व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ ।

इलाका प्रशासन कार्यालय कोहलपुर ३ स्थानीय तहका २६ वटा वडाको कार्यक्षेत्र हो । यसले बैजनाथ गाउँपालिकाको वडा न ८ बाहेक सबै वडा, राप्ती सोनारी गाउँपालिकाको वडा न १, २, ८ र ९ तथा कोहलपुर नगरपालिकाका १५ वटै वडा गरी २६ वटा वडामा सेवा प्रवाह गरिररहेको छ ।
‘हजारौंको संख्यामा सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको इलाका प्रशासन कार्यालयको आफ्नै भवन नहुनु दुःखद पक्ष हो,’ प्रमुख थारू भन्छन्, ‘जीर्ण भवनबाट हामीले हाम्रा सेवा प्रवाह गरिरहनुपरेको छ ।’
कार्यालयको भवन निर्माणका लागि जग्गा प्राप्त नहुँदा भवन निर्माण गर्न नसकिएको कार्यालय प्रमुख मनोज थारूको भनाइ छ । भवन निर्माणका लागि नगर विकास समितिले २ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णयसमेत गरेको छ । तर, कानुनी जटिलताका कारण तत्काल जग्गा उपलब्ध हुन सक्ने अवस्था नभएको उनी बताउँछन् । नेपाल सरकारले भवन बनाउन बजेट उपलब्ध गराउने तर, जग्गा किन्न बजेट नदिने हुँदा जग्गाको समस्या मुख्य रहेको कार्यालय प्रमुख थारूले बताए ।
नगर विकासको जग्गा पनि त्यत्तिकै निःशुल्क लिन नमिल्ने र किन्नै पर्ने कानुनी प्रक्रिया भएकाले जग्गाको समस्या भएको उनको भनाइ छ । ‘जसका कारण साँघुरो ठाउँबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले चाहेजसरी कार्यालय व्यवस्थापन र सेवा प्रवाह गर्न सकिरहेका छैनौँ ।’ जेनतेन सेवा प्रवाह गरिरहेको उनले बताए । आफ्नै भवन नहुँदा सेवा प्रवाह तथा पुराना अभिलेखको संरक्षण गर्न समस्या भइरहेको उनको गुनासो छ ।

भाडामा रहेको भवन पनि पछिल्लो समय जीर्ण बन्दै गएको छ । वर्षायाममा कार्यालयमा पानी पस्ने समस्या रहेकाले कार्यालमा रहेका अभिलेख, कागजात सुरक्षित गर्न र बस्न कठिन हुने गरेको कर्मचारीहरू बताउँछन् । पुरानो भवन भएकाले अहिले भवनका भित्ताहरू चिरा पर्दै गएका छन् । भूकम्पको अति जोखिममा समेत कार्यालय रहेको छ । शीतले समेत भित्ताहरू भिज्ने गरेको कर्मचारीहरूको भनाइ छ ।
कार्यालयको मुख्य समस्या जग्गा प्राप्ति भएकाले यसका लागि कोहलपुर नगरपालिकाभित्र रहेका जो कोही स्थानीयले जग्गा उपलब्ध गराउन इच्छुक भए जग्गा उपलब्ध गराउनसक्ने समेत कार्यालय प्रमुख थारूले बताए । जग्गा उपलब्ध भए भवन निर्माणका लागि नेपाल सरकारले आर्थिक सहयोग गर्ने उनले जनाए । ‘जग्गाको अभावमा नै भवन बन्न नसकेको हो,’ उनले भने, ‘आफ्नै भवन भएको भए छिटोछरितो र सुरक्षित तरिकाले सेवा प्रवाह गर्न सकिने थियो ।’

कार्यालयले मुख्य गरी राष्ट्रिय परिचयपत्रको आवदेन संकलन, राहदानीका लागि आवेदन संकलन र वितरण, नयाँ तथा प्रतिलिपि नागरिकता जारी तथा वितरण गर्ने प्रशासनिक कार्य गर्दै आएको छ । साथै जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिका रूपमा आवश्यक शान्ति सुरक्षाको व्यवस्थापनदेखि विभिन्न सरकारी कार्यालयको अनुगमनलगायतका काम गरिरहेको उनले बताए ।
इलाका प्रशासन कार्यालय कोहलपुरबाट आर्थिक वर्ष २०८०÷८१ मा वंशजका आधारमा २ हजार ३ सय ७ जनाले नयाँ नागरिकता लिएका छन् । त्यस्तै, नागरिकता प्रतिलिपि १ हजार ८ सय ३८, राहदानी २ हजाार ४ सय ३५, राहदानी इनरोलमेन्ट २ हजार ३ सय १२ र नयाँ राहदानी २ हजार ५ सय २१ जनालाई वितरण गरिएको कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्र २ हजार ९ सय ९६ र सिफारिस तथा प्रमाणीकरण ३२ जनाले गरेका छन् । चालु आवको पुस महिनासम्म १३ करोड ८ लाख ५ हजार राजस्व संकलन भएको इलाका प्रशासन कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्