कोहलपुर–२ द्धारा ज्येष्ठ नागरिकलाई सम्मानसहित ब्ल्यांकेट वितरण (फोटो फिचर)



बाँके ।
कोहलपुर नगरपालिका–२ ले शनिबार वडाभित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित ब्ल्यांकेट वितरण गरेको छ । शनिबार वडामा रहेका १० वटै टोलमा पुगेर वडाध्यक्ष हरि कठायतसहितको टोलीले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित ब्ल्यांकेट वितरण गरेको हो।

वडाध्यक्ष कठायतसहित वडासचिव सुनिता चौधरी, वडा सदस्यहरू बासमती विश्वकर्मा, तारादेवी सिंह, पुरण थारू, सब–इन्जिनियर लक्षीराम नेपाली, भूमि सहजीकरण समिति सदस्य तथा मेलमिलापकर्ता रामसिं विश्वकर्मालगायत टोलहरूमा पुगेका थिए । सबै टोलमा रहेका ७५ वर्षमाथिका १ सय ५५ जना ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित ब्ल्यांकेट वितरण गरिएको वडाध्यक्ष कठायतले जानकारी दिए ।

‘चिसो र शीतलहरका कारण प्रभावित बनेका ज्येष्ठ नागरिकहरूलाई केही भए पनि मद्दत पुगोस् भनेर ब्ल्यांकेट वितरण गरेका हौँ,’ उनले मिसन टुडेसँग भने, ‘शनिबार नै वडाका १० वटै टोलमा पुगेर वितरण गरिसक्यौं ।’ शनिबार बिहानैदेखि साँझैसम्म टोलहरूमा पुगेर ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट वितरण गरिएको वडाध्यक्ष कठायतले बताए ।

वडाले टोलमै पुगेर सम्मानसहित ब्ल्यांकेट दिएपछि ज्येष्ठ नागरिकहरूले खुस व्यक्त गरेका थिए । ‘सरकार नै घरमै आएजस्तो हामीलाई महसुस भएको छ,’ ज्येष्ठ नागरिक पदम कामीले भने, ‘आगामी दिनमा समेत यसैगरी घरटोलमै सरकार आइदिए हुन्थ्यो ।’ वडामा रहेका टोल विकास समितिहरूका सहजीकरणमा ज्येष्ठ नागरिकहरूलाई सम्मान तथा ब्ल्यांकेट वितरण गरिएको वडाका भूमि सहजीकरण समिति सदस्य तथा मेलमिलापकर्ता रामसिं विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा मुक्तिनगर टोल विकास समितिका अध्यक्ष नवीन रायमाझी, बर्दहवाका रामविलास थारू, पुष्पनगरका प्रिर्थीबहादुर बुढा, प्रेमनगरका जगत भण्डारी, आनन्दनगरका लक्ष्मी घले, विकास नगरका नन्दऋषि पाण्डे, शक्ति नगरका विजय बोहरा, गौरी नगरका सन्देश चन्द र सिद्धनगर टोल सुधार समितिका अध्यक्ष बलबहादुर शाहीसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ७ गते आइतबार