17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

खजुरामा छैटौँ अन्तरविद्यालय मेयर रनिङ शिल्ड हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ७, २०८०  

खजुरा ।
राष्ट्रपति रनिङ शिल्डअन्तर्गत खजुरामा हुने छैटौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । खजुरा गाउँपालिकाले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । खजुरा–२ स्थित शुक्र भलिबल रंगशालामा आयोजना हुने अन्तरविद्यालय मेयर रनिङ शिल्डको आइतबार प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोरले गर्नेछन् ।

प्रतियोगितामा खजुरा गाउँपालिकाअन्तर्गतका १०३ विद्यालयबाट १ हजार ३ सय ४ विद्यार्थीहरूले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा माध्यमिक तह (कक्षा ९–१२) अन्तर्गत १५ वटा खेल खेलाइनेछ भने आधारभूत तह (कक्षा ६–८) तहमा १० खेल खेलाइनेछ । त्यसैगरी आधारभूत तहको कक्षा १ देख ५ कक्षाअन्तर्गत ३ खेल खेलाइने पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा माध्यमिक तहमा एथलेटिक्स, भलिबल र कबड्डी गरी ३० इभेन्ट, आधारभूत तर्फ १० इभेन्ट र प्राथमिक तर्फ ६ वटा एथलेटिक्स इभेन्टमा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ३३ हजार नगद र प्रमाणपत्र, दोस्रो हुनेले २० हजार नगदसहित प्रमाणपत्र र तेस्रो हुने विद्यालयले १४ हजार नगदसहित प्रमाणपत्र पाउनेछन् । भलिबल, कबड्डी र एथलेटिक्सतर्फ उत्कृष्ट छात्र छात्रालाई जनही ५ हजार १ सय पुरस्कार र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

मेयर रनिङ शिल्ड छनोट प्रतियोगिता भएकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रपति रनिङ शिल्डको जिल्ला र प्रदेशको छनोट खेलमा पठाइने विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले आगामी वर्षदेखि खजुरा क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीहरूको नाममा पुरस्कार घोषणा गरिने प्रतिबद्धता जनाए ।

उनले मेयर रनिङ शिल्डलाई पालिकाले १३ लाख बढी बजेट विनियोजन गरेको जानकारी दिँदै १५ लाख ५३ हजारको लागतमा प्रतियोगिता सम्पन्न हुने जनाए । खजुराको गिजरा क्षेत्रमा पाइने नीलगाईलाई प्रतियोगिताको मस्कटको रूपमा बिम्बित गरिएको उनले बताए ।प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी जनता नमुना माविलाई दिइएको अध्यक्ष बिकले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको र सम्पूर्ण समितिहरूले आ–आफ्नो कामको तयारी पूरा गरेको सचिवालय संयोजक माधव शर्माले बताए । भोलि १ बजेबाट सुरु हुने प्रतियोगिता १० गतेसम्म चल्नेछ । खजुरा गाउँपालिकाले प्रतियोगिता अवधिभर विद्यालयका पठनपाठन स्थगित गरी विद्यार्थीहरूलाई प्रतियोगितामा पठाउन सूचना जारी गरेको छ ।

प्रकाशित मितिः आइतवार, माघ ७, २०८०     8:21:14 AM  |