कोहलपुर नगरपालिकाले अत्याधुनिक बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याए पनि त्यहाँ निर्माण भएका अन्य कतिपय संरचना सञ्चालन हुन सकेका छैनन् । लामो दूरीको भनिए पनि गत भदौदेखि लामो तथा छोटो दूरीका सबै सवारी साधन यहीँबाट सञ्चालन हुँदै आएका छन् । यसको प्रत्यक्ष नकारात्मक असर पुरानो बसपार्कको व्यापार व्यवसायमा परेको छ । चार पाँच महिनासम्म नयाँ बसपार्क पनि ‘फूल फेज’मा सञ्चालनमा आउन नसक्नु र पुरानो बसपार्क पनि उजाड बन्नुले नयाँ बसपार्कका सम्बन्धमा थरिथरिका टिप्पणीहरू सुनिन थालेका छन् ।
त्यस्तै पर्यटक आकर्षित गर्ने उद्देश्यले न्युरोडमा निर्मित भ्युटावर पनि अझै सञ्चालन हुन सकेको छैन । यसै सन्दर्भमा कोहलपुर नगरपालिकाले हालै ती संरचना सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा खुला छलफलको आयोजना गरेको थियो । सो छलफलमा स्थानीय व्यापारी, जनप्रतिनिध, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरूले संरचना सञ्चालन गर्नुपर्ने पक्षमा अभिमत दिएका थिए । तर त्यसको जिम्मा लिन भने कोही अगाडि सरेनन् । सबैका आ–आफ्नै धारणा र तर्क थिए ।
संघीय व्यवस्था लागू भएर तीन तहका सरकार सञ्चालनमा आएपछि स्थानीय सरकारको महत्वाकांक्षी योजनाका रूपमा बनेका संरचना थिए– न्युरोडस्थित भ्युटावर र लामो दूरीको बसपार्क । भर्खरै बामे सर्दै गरेको सहरका लागि यस्ता महात्वाकांक्षी योजना आवश्यक थिए कि थिएनन् ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । दुवै संरचनामा गरेर नगरपालिकाले ३५ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ । तर अझै ती संरचना पूर्ण भएका छैनन् । हालसालै निर्माण सम्पन्न भएकाले ती संरचनाको गुणस्तर कस्तो छ भन्ने कुुराको जनस्तरमा परीक्षण पनि हुन बाँकी नै छ ।
अहिले नै बसपार्कभित्रका कतिपय संरचना कमजोर रहेको गुनासा आउन थालिसकेका छन् । अर्कोतिर ऋण खोजेर लगानी गरिएका ती संरचना सञ्चालनमा आउन नसक्दा यतिबेला नगरपालिकालाई अप्ठेरो परिरहेको बुझ्न सकिन्छ । सोचेजस्तो नगरपालिकाले यी संरचनाबाट प्रतिफल लिन सकिरहेको छैन । कोहलपुर नगरपालिकाको अघिल्लो कार्यसमितिले यी संरचना बनाउने निर्णय गरेको थियो । जतिबेला कोहलपुरका मेयर थिए, लुटबहादुर रावत र ११ नम्बर वडाका अध्यक्ष थिए, कर्णबहादुर थापा । मुलुक संघीय संरचनामा गएको पहिलो कार्यकालका जनप्रतिनिधि भएकाले पनि हुन सक्छ उनीहरूमा आफ्नो ठाउँको विकासका लागि केही नयाँ गर्ने हुटहुटी थियो ।
त्यसैले उनीहरूले यस्ता महत्वाकांक्षी योजना अघि सारे । त्यसपछि आएका मेयर पूर्णप्रसाद आचार्यले पनि यसलाई निरन्तरता दिएर सम्पन्न गरेका छन् । यसमा वर्तमान मेयरको कुन मनोविज्ञानले काम गरेको थियो, थाहा भएन । ४० प्रतिशत नगरपालिकाको र ६० प्रतिशत नगर विकास समितिको ऋण लगानी रहेको बसपार्क जम्मा २९ करोड ५३ लाखमा निर्माण सम्पन्न भएको थियो । त्यसैगरी, भ्युटावरको निर्माण लागत ५ करोड ६३ लाख रूपैयाँमा रहेको नगरपालिकाले जनाएको छ । भ्युटावरवरिपरिका अन्य संरचना निर्माण अझै पूरा भएका छैनन् । यो निर्माण गर्दा भ्युटावरको करिब १२ करोडसम्म लगानी पुग्नसक्ने अनुमान गरिएको छ ।
नगरपालिकाले तीन–तीन पटक प्रस्ताव आह्वान गर्दासमेत ती संरचना सञ्चालनमा आउन सकेका छैनन् । गत भदौदेखि नयाँ बसपार्क सञ्चानलमा आए पनि त्यसको टर्मिनल भवन भने अझै सञ्चालन हुन सकेको छैन । ३३८६३.१५ वर्ग मिटर क्षेत्रमा फैलिएको नयाँ बसपार्कको व्यापारिक भवन भने २६०८.५२ वर्र्गमिटर क्षेत्रफलमा रहेको नगरपालिकाले जनाएको छ जुन व्यापारिक भवन पूरै खाली छ । त्यसैगरी, भवन वरिपरि निर्मित व्यापारिक सटरहरू पनि सबै भाडामा लाग्न सकेका छैनन् । अझ सटर भाडामा लिएका व्यापारी पनि व्यापार नभएको गुनासो गरिरहेका छन् । अर्कातर्फ बसपार्कले चर्चेको जग्गाको क्षेत्रफलका सम्बन्धमा पनि पारदर्शिता नभएको सुनिन्छ ।
भ्युटावर वरिपरि निर्माण गर्ने भनिएका संरचना निर्माण नहुँदा त्यसप्रति व्यवसायीहरूको आकर्षण बढ्न नसकेको धेरैको बुझाइ छ । यहाँ हात हाल्दा भविष्यमा राजनीतिको कोपभाजनमा पर्न सकिने कतिपय व्यवसायीको आशंका छ । त्यसैले यहाँस्थित सम्पूर्ण राजनीतिक दलहरूले सामूहिक प्रतिबद्धता जनाएर ती संरचना सञ्चालनका लागि बाटो तय गर्नुपर्ने कतिपयको भनाइ छ । यी संरचना कसरी सञ्चालन गर्ने भन्ने विषयमा बहस र छलफल केन्द्रित हुनुपर्नेमा अझै त्यो हुन सकिरहेको छैन ।
वर्तमानमा यी संरचना औचित्यहीन बनिरहँदा पूर्वमेयर तथा पूर्ववडाध्यक्ष यसको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका छन् । नगरपालिकाको वर्तमान कार्यसमिति पनि अप्ठेरो परेपछि मात्र नगरबासी गुहार्ने अवस्थामा पुगेको छ । कसैले सस्तोमा भए पनि निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने भनाइ राख्छन् भने कसैले नगरपालिका स्वयम्ले सञ्चालन गर्नुपर्ने तर्क गर्छन् । सञ्चालनमा ल्याइनुपर्नेमा कसैको विमति छैन । तर सञ्चालन कसरी गर्ने भन्ने ठोस योजना न नगरपालिकासँग छ न अन्य नगरबासीसँग नै । यस्ता सवालमा पारदर्शी ढंगले साझा धारणा र ठोस योजना बनाएर अघि बढ्नु आवश्यक छ । तब मात्र नगरको विकास सम्भव छ ।
प्रतिक्रिया दिनुहोस्